April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

सरकार र एडिबीबीच १३ अर्ब ३३ करोडको सहुलियतपूर्ण ऋण सम्झौता

1.3K

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले यसले सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि मद्दत पुग्ने बताए । उनले भने, “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ ।”

चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको उनले बताए ।

Advertisement

यस्तै, यस कार्यक्रमले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन सघाउने एडिबीका देशीय निर्देशक काओसिसले बताए । उनले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको बताए ।

नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ ।