काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोलेका प्रमुख सचेतक पाण्डेल देशको अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका हुन् ।
त्यस्तै उनले सङ्घीयताको कार्यान्वयनका लागि तिनै तहका सरकारका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताए । यसको निम्ति सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताए । उनले भने ‘देशको आर्थिक जो अवस्था छ, त्यसलाई अझ गतिशील बनाउनुपर्ने छ । अर्थतन्त्रलाई गतिशील बनाउनको लागि हामीले उत्पादन वृद्धिमा नै जोड गर्नुपर्ने हो । हाम्रा प्राकृतिक स्रोत, साधनहरूको सदुपयोगमा नै हामीले ध्यान दिनुपर्ने हो । सरकार यतातर्फ विशेष रूपमा लागोस् । सङ्घीयताको दृढ कार्यान्वयनका लागि तिनवटै सरकारका बिच समन्वय, सहकार्य आवश्यक छ । यसका लागि सङ्घीय सरकारको पहलकदमी आवश्यक छ । यसमा सङ्घीय संसद्को पनि भूमिका छ । कानुन निर्माण लगायतका विषयवस्तुमा हामी सबैले आत्मसमिक्षा गर्दै अगाडी बढौँ ।’
उनले सङ्घीयताको कार्यान्वयनमा सङ्घीय संसद्को पनि भूमिका हुने भन्दै आवश्यक कानुन निर्माणका विषयमा आत्मसमिक्षा गर्नुपर्ने बताए ।