काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताए। शुक्रबार ‘राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
अर्थमन्त्री महतले, ‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौँ । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्याउने नै यो बजेटको लक्ष्य हो ।’
यस्तै, उनले यस बजेटमा धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम गरेको पनि बताए । ‘करको जुन हामीले व्यवस्था गरेका छौँ । यसले चाहिँ जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आइराख्या छैनन् । उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौँ प्रोग्रेसिभ हुनुपर्यो । तर भन्दा उनीहरूलाई बेखुसी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’