काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अवकाशमा जाँदा एक तिहाई रकम पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गर्दै अवकाशमा जाँदा योगदानकर्ताले करिब एक तिहाई रकम पाउने व्यवस्था गर्न लागिएको हो।
सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रोजगारीबाट अवकाश प्राप्त गरिसकेका योगदानकर्ताले पेन्सन प्राप्त गर्न ६० वर्ष नाघेको हुनुपर्ने व्यवस्था थियो। यो व्यवस्थाले ६० पुगेकै हुनुपर्ने अनिवार्य गरिएपछि गुनासो थियो। पुरानो सो व्यवस्थामा परिमार्जनको तयारी गरिएको हो।
वृद्धावस्था सुरक्षा योजनाका लागि कट्टी गरिने २८.३३ प्रतिशत रकमलाई बाँडफाँट गरी उक्त रकमको करिब एक तिहाई रकम अवकाश (उपदान) योजनाअन्तर्गत राखिने र बाँकी दुई तिहाई रकमबाट पेन्सन उपलब्ध गराउने प्रस्ताव गरिएको हो।
उदाहरणका लागि कोषमा आबद्ध श्रमिकले मासिक ३१ सय रुपैयाँ योगदान गरेका रहेछन् भने श्रमिकका नाममा कोषमा २ हजार ८ सय ३३ रुपैयाँ जम्मा हुन्छ। बाँकी २ सय ६७ रुपैयाँ अन्य सेवाका लागि कोषले खर्च गर्नेछ। २ हजार ८३३ मध्ये ९४४ रुपैयाँ (कुल योगदान रकममा कोषको खर्च कटाएर बाँकी रहेको रकमको एक तिहाइ) अवकाशका रूपमा जम्मा गरिने छ भने बाँकी १ हजार ८ सय ८९ रुपैयाँ (कुल योगदान रकममा कोषको खर्च कटाएर बाँकी रहेको रकमको दुई तिहाई) पेन्सन कोषमा जम्मा हुनेछ।
अवकाश सुविधाअन्तर्गत योगदानकताले उक्त रकम आवश्यक परे सोही रकम धितो राखेर सापटीका रुपमा प्रयोग गर्न सक्छन्। बीचमा आवश्यक नपरेको अवस्थामा सो रकम ६० वर्ष पूरा भएपछि एकमुष्ठ रूपमा पाइन्छ।
विद्यमान व्यवस्थाअनुसार वृद्धवस्था योजनाअन्तर्गत योगदानकर्ताको कुल योगदान रकमको २८ दशमलव ३३ प्रतिशत रहने व्यवस्था छ। २०७६ असार मसान्तपछि रोजगारीमा आएका श्रमिकले अनिवार्य रुपमा पेन्सनमा जानु पर्नेछ भने २०७६ असार मसान्तअघि नै रोजगारीमा जोडिएकाहरुले अवकाश तथा पेन्सन दुई स्किममध्ये एउटा रोज्न पाउँछन्।
त्यसैगरी, औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा समेत केही हेरफेर गर्न लागिएको छ।