काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले १५ करोड ६० लाख अमेरिकी डलर (करिब १८ अर्ब ४० करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। एडिबीले विद्युत प्रसारण र वितरण लाइन आधुनिकीकरण आयोजनाका लागि यो रकम ऋणस्वरूप दिने भएको हो।
विदयुत ग्रिड आधुनिकीकरण आयोजनाअन्तर्गत देशभरका वितरण र प्रसारण लाइन सुधारका अतिरिक्त सबस्टेसन स्वचालित बनाइनेछ। यस्तै नेपाल विद्युत प्राधिकरणको संस्थागत सुधारका काम अघि बढाउन पनि यो रकम परिचालन हुनेछ।
‘नेपालको ऊर्जा क्षेत्रको नीतिगत र संस्थागत सुधारका लागि एडिबी सक्रियतापूर्वक सहभागी भइरहेको छ। नेपालमा गुणस्तरीय विद्युत आपूर्तिका लागि नै यो सहयोग हो,’ एडिबीका ऊर्जाविज्ञ जीवन आचार्य भन्छन्।
यो आयोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसन स्वचालित बनाइनेछ। यस्तै २२० र १३२ केभी क्षमताको स्वचालित ग्रिड सबस्टेसन सञ्चालन र ११३ किलोमिटर नयाँ प्रसारण लाइन निर्माण हुनेछ।