May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

पाथीभरा पहाड संरक्षणको प्रश्न

डा.बालकृष्ण माबुहाङ
२०८१ बैशाख १

15.9K

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ्बाट करिब १९ किलोमिटर उत्तर पूर्वमा रहेको अग्लो पहाडको टुप्पो आम सर्वसाधारणका लागि प्रसिद्ध तिर्थास्थल बनेको छ । एउटा पहाडको भौगोलिक अवस्थिति जसको छत्रछायामा बसोबास गर्ने आदिवासी जनजातिको लागि अधिक महत्त्व विषय । अझ पहाडबाट निसृत प्राकृतिक स्रोत–चरिचराऊ, बन जङ्गलमा निर्भरता, खाने पानीको स्रोत हरेक हिसाबले अन्य जात, जाति वा जनजातिलाई महत्त्व हुने नै भयो । व्यक्त अव्यक्त पहाडको महत्वलाई आध्यात्मिक दृष्टिकोणबाट महत्त्व दिने र धार्मिक महत्वलाई अझ पर्यटन व्यवसाय बनाएर त्यसको लाभ एकलौटी हात पार्ने व्यापारिक मनसाय कुनै न कुनै बनियाँ–साहुको आँखा लाग्ने नै भयो । त्यसको लागि सर्वसाधारण मानिसमा धार्मिक विश्वास वा अन्धविश्वासको खेती त छँदै छ, त्यो भन्दा पनि दुनियाँलाई निम्छरा मानेर विकासको नाउँको खेती चलाउने प्रवृति सांसारिक प्रचलन नै भयो । सरोकारवाला एजेन्सीहरूले सर्वसाधारणलाई सिकार हुनबाट जोगाउन हरदम रखवारी गर्नु जरुरी छ ।

पाथीभरा देवी
समुद्रको सतहबाट करिब ३८०० मिटरको उचाइमा रहेको यो पहाड, वरिपरि जताबाट हेर्‍यो भने पनि सुडौल (सिमेट्रिकल) स्वरूपको देखिन्छ । अन्न नाप्ने माना–पाथी अन्नले चुलिँदा देखिने आकार झैँ चुलिएको पहाडको नाम ‘पाथीभरा’ भनियो ।
हिन्दु सनातन धर्म वा संस्कृतिमा महत्वका साथ लिइएका देवताहरूमास् ब्रह्मा, विष्णु, शिव, देवी, कृष्ण, लक्ष्मी र सरस्वतीमध्ये ‘देवी’ शक्तिको स्रोत मानिन्छ । नेपाली बृहत् शब्दकोश अनुसार देवी भन्नाले, ‘स्त्री देवतास देवताकी स्त्री भनिएको छ । तर देवी देवता, जो स्त्री हुन वा स्त्री रूपमा मानिन्छन् उनी पार्वती, दुर्गा, काली, सरस्वती, गङ्गा, लक्ष्मी वा अरू विभिन्न रूपमा सीता, राधा, बाला सुन्दरी, शाकम्भरी आदि नामले पुकारिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म पुजिने देवीका नौ वटा रूपहरू( शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धि दात्री को क्रमशः पूजा गर्ने गरिन्छ । बेग्लाबेग्लै, वा सामूहिक रूपमा विभिन्न स्थानहरूमा स्थापना गरिएको पाउँछौँ । अपितु उपरोक्त देवीका विभिन्न रूपहरूमा ‘पाथीभरा’ नाउँ भने भेटिन्न । पाथीभरा देवीको उत्पत्तिको विषयमा आफ्नै स्थानीय किंवदन्ती व्याप्त छ । पाथीभरा देवीको उत्पत्ति सम्बन्धि किँवदन्दी गुरुङ जनजाति विशेष भेडिगोठसँग जोडिन्छ । ताप्लेजुङ फुङ्लिङमा जन्मी हुर्की करिब १०/१२ वर्ष उमेरमा आफ्नै घरमा बुवा, बढीबाहरू बिच कुराकानी हुँदा सुनेको र विश्वास भएको लोकोक्ति प्रा.डा. देउकुमारी गुरुङका अनुसार काबेली खोला गाउँका गुरुङहरू‘गर्जमान गुरुङको जिजु बाजेको ठुलो भेडी गोठ थियो । मुख्य आम्दानीको स्रोत, त्यो क्षेत्रमा भेडी गोठ नै थियो । एक दिन अचानक भेडाहरू चरनबाट गोठ फर्केनन् । कुकुर मात्र फर्किए । भेडा नआए पछि गोठालाहरू बिच रुवाबासी चल्यो । रात पार्‍यो, गोठालाहरू सुते । सपनामा देवी माता आइन् र भेडाको कालो पाठाको भोग दिएर उनको पूजापाठ गर्‍यो, थानमान–थपना गरिदियो भने आफूसित भएका भेडाहरू फर्काइदिने बचन दिईन्। निक्खर कालो पाठा कताबाट ल्याएर (त्यो चाहिँ मलाई थाहा छैन), पूजा गरेपछि (बाह्र बजे पछि) सबै भेडाहरू गुडुडु आए रे ! त्यहाँदेखि त्यताका स्थानीय गुरुङ परिवार लगायत अन्य विभिन्न जातजाति, जनजातिले माताको ढुङ्गा राखेर पूजा गर्न थाले । त्यही नै आजको पाथीभरा देवीको थान बनेको हो । गुरुङका अनुसार पहिले पहिले जनजातिहरू पुजा–आज गर्न अत्यधिक सङ्ख्यामा जान्थे, अहिले भने छेत्री, बाहुन अधिक सङ्ख्यामा पूजाआजामा जाने गरेको उनको टिप्पणी छ ।

Advertisement

सामाजिक अगुवा डेलमान गुरुङका अनुसार बुङ्कुलुङ् सोगिरा निवासी अबिदल गुरुङको भेडी गोठका गोठालाहरूको भेडा बेलुकी बास बस्न भेडी गोठमा आउनुपर्ने आएनन् । राती सपनामा देखिएकी बनदेवीको आशीर्वचन अनुसार कालो थुम्बा भेडाको बली पूजा गरेपछि हराएका भेडाहरू भोलीपल्ट एका बिहानै देखा परे । यो रहस्यमय घटनाको चर्चा सँगै पाथीभरादेवीको अलौकिक शक्ति एवम् महिमा बडेको हो ।

पाथीको आकारको पहाडको टुप्पामा भेडी चराउने गुरुङहरूको भेडा हराउनु र भेट्नु एउटा नियमित आकस्मिकता भित्र पर्दछ । भेडा हराएको बखत गोठालाहरू चिन्तामा पर्नु र त्यो अवस्थामा हराएका भेडा कता गए ? कसरी पाउने ? सोधखोज गर्नु र पाउनु एउटा स्वाभाविक घटनाहरू नै हुन । र ती घटनाहरू सपनामा आउनु, सपनामा देखिएकी माताको पूजा गर्नुलाई धार्मिक विश्वास वा अन्धविश्वासको विषय बनाउनु र हुनु ठुलो कुरा भएन । सँगसँगै पहाडको टुप्पोमा केबल कार पुर्याउने व्यापारिक खेती जब विकासको नाममा सुरु भयो त्यसले समाजमा धर्मको नाउँमा संस्कृति, शक्ति, सौकत्, अर्थ वा राजनीति घुस्न थाल्छ, त्यसले अस्वभाविक रूपमा द्वन्द्व निम्ताउँछ ।

धार्मिक स्थल
त्योबेला गोठालाहरूले प्रत्यक्ष भोगेको घटना, त्यसपछिको पूजाआराधना, प्राप्ति भएको विश्वास र साधनाको निरन्तरताले आज ‘पाथीभरा देवी’ को मन्दिर बनेको छ । आम मानिसहरू विश्वास गर्छन्, चर्चा गरिरहेका हुन्छन् कि मानिसले चिताएको देवीले पुरा गरी दिन्छिन् । भक्तजनको संरक्षण हुन्छ । अन्धविश्वास मानिसमा यसरी फैलियो, साँचै नै पाथीभरा देवी छन्, उनको शरणमा एकपटक पुग्न पर्छ । देश देशावरमा चर्चा भयो र आम मानिस पाथीभरा पुग्छन् । पछिल्ला दिनमा पहाडको नाउँ मात्र पाथीभरा नभनी उक्त पहाडमा स्थापना गरिएको ‘पाथीभरा देवी’ धातुको ढलोटबाट निर्मित सिंहमा आसीन मूर्ति छ, पाथीभरा देवीका रूपमा प्रतिस्थापन गरिएको कारण पाथीभरा देवीको दर्शन गर्ने सर्वसाधारणको घुइँचो छ । काठमाडौँसहित विभिन्न जिल्लाका भक्तहरू पाथीभरा दर्शनका लागि पुग्ने गर्दछन् । दार्जिलिङ, सिक्किम, भुटान, पश्चिम बङ्गाल, बङ्गलादेश, बिहार सम्मका त्रितालुहरू आउँछन् ।

डेलमान गुरुङका अनुसार भक्तमध्ये दार्जिलिङ निवासी अरुण सिन्ची, ३२ पटक भन्दा बढी दर्शन गर्न आएका छन् । हरेक वर्ष उनी दुई/तीनपटक आउँछन् । आफूलाई पाथीभरा माताको छोरा भन्छन् । उनी दार्जिलिङ म्युनिसिपालिटीमा निर्वाचित प्रतिनिधि हुन, जो स्वास्थ्य विभागमा प्रमुख छन् । गुरुङका अनुसार अर्का मुस्लिम व्यापारी पाथीभरा माताको आशीर्वादले साठी वर्षको उमेरमा छोराको बुवा हुन पाएकामा दङ्ग छन् ।

सर्वसाधारण जनमानसमा मात्र नभई राज्यको शक्तिको स्रोतसमेत पाथीभरा देवी बनिन् । भाषा शास्त्री दिलेन्द्र कुरुम्बाङ्का अनुसार वि.सं. १९५२ ताका ताप्लेजुङको फुङलिङमा अमिन अड्डा स्थापना भयो । धनकुटाका श्री ३ राणा बडाहाकिमले कालो बोकाको भोग चढाएर पूजा गरेपछि बलि दिने प्रचलन राजकीय स्तरमा सुरु भयो । समाजसेवी डेलमान गुरुङका अनुसार वि.सं. १९९० सालमा धनकुटाका बडाहाकिम माधव शमशेर जबराले दलबलसहित पाथीभरा देवीको दर्शन गर्न पुगे । पाटिपौवा बनाउन त्योबेला कम्पनी रु. छ सय दान दिएका थिए ।

वि.सं. २०३७ मा आएर पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति नामक संस्थाको स्थापना भयो । ताप्लेजुङका हर्कजङ् मादेन उनका सन्तान डिल्लिजङ मादेन, विष्णु मादेनको अगुवाइमा धेरै धार्मिक पहलुहरू भए । हिन्दु राजतन्त्र र राष्ट्रको विचारधाराबाट क्रियाशील पञ्चायत व्यवस्थाको अन्त पछि पनि राज्यले पाथीभरा देवीको संरक्षण र विकास गर्न वि.सं. २०५३ सालमा ‘पाथीभरा क्षेत्र विकास समिति गठन आदेश’ जारी गरेर समिति गठन गर्‍यो । जसअनुसार पाथीभराको विषयमा भनेको छः
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो ।‘अन्न भरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम (पाथीभरा देवी) भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्तबुङ’ भनेर चिन्दछन् । लिम्बू भाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल, ‘बुङ’को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात् लिम्बू जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

पाथीभरा देवीका अरू शाखा सन्तान वा समान नामका देवी, मन्दिर र स्थानहरू यत्रतत्र सर्वत्र पाउन सकिन्छ । ताप्लेजुङको पाथीभराको शाखाका रूपमा इलाम, कोलबुङ्को मन्दिर र देवीलाई लिइएको छ । झापा बुधबारे–९ का डिल्लीराम पाठकले सपनामा पाथीभरा देवीको अन्तरी बहिनीको इच्छा पूरा गर्न पर्ने उर्दी पाएपछि उनले ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बसे । मध्यरात पूरै उज्यालोमा परिणत भयो । दुई वटा बाघ आए, जो केटीहरूमा परिणत भए । तिनै केटीहरूले पाठकलाई पहिलेको थाम डाँडामा पाथीभरा देवीको मन्दिरको शिला देखाइ दिए । जङ्गलको बिचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामकरण गरिदिए । हरेक शनिवार पूजा गर्नेको घुँइको लाग्छ ।

कोलबुङ् र ताप्लेजुङको पाथीभरा देवीको उत्पत्तिको किंवदन्ती मिल्दैन । यद्यपि कोलबुङ्को पाथीभरा देवीलाई ताप्लेजुङको पाथीभराको शाखा मानिन्छ । तेह्रथुम र सङ्खुवासभा जिल्लाको सिमाना, लालीगुराँस र धर्मदेवी नगरपालिकाको सिमाना अवस्थित अर्को एउटा पाथीभरा मन्दिरको स्थापना गरिएको छ । उक्त देवीको स्थापनाको विषयमा बुझ्दा वि.सं. २०५३ तीर वसन्तपुर बजारका व्यापारी, स्थानीय नेतृत्व, सामाजिक अगुवाहरूको पहलमा दैविक शक्तिको पुजास्थलको शख्त् खाँचो पुरा गर्न उक्त मन्दिरको स्थापना गरिएको बुझिन्छ । उक्त मन्दिर अरू पाथीभरा देवी ताप्लेजुङ वा कोलबुङ्को जस्तो कुनै मिथकहरूमा बनेको नभई सम्भवतः ताप्लेजुङको मन्दिर पुग्न असामर्थ्यहरूको खाँचो पुरा गर्न वा त्यसैको नक्कल जस्तो उक्त उच्च स्थानमा मन्दिरको स्थापना गरिएको थियो । उत्पत्तिको आफ्नो भिन्न मिथक छैन । तर उक्त मन्दिरको उद्घाटन भने तेह्रथुम जिल्लाका तत्कालीन सिडिओ नारायण गोपाल मलेकुले वि.सं. २०५३ साल वैशाख १५ गते गरेका थिए । अर्थात् ‘पाथीभरा देवी’ को अर्थ, स्थापना, भक्तजन, पूजा, एउटा धार्मिक आस्था र विश्वासले मात्र भइरहेको नभई, राज्यको राजनीति, प्रशासन पनि मिस्सिएर आएको देख्न सकिन्छ ।

पाथीभरा देवीको मन्दिर पाथी जस्तो सुडौल आकारको उच्च पहाड नै हुनपर्छ भन्ने पनि छैन । विराटनगर कुशलटोलको पाथीभरा मन्दिर शक्ति पीठको रूपमा स्थापना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर –८ चन्द्र नगरमा पाथीभरा मन्दिरको स्थापना गरिएको छ । यो मन्दिर ताप्लेजुङको शाखाका रूपमा चिनिन्छ । मोरङ उर्लाबारी–७, बेसावारिमा पाथीभरा पञ्चकन्या देवीको मन्दिर छ भने झापाको मेचीनगरस्थित “पाउ पाथीभरा उत्तर गङ्गा प्रवेशद्वार मन्दिर पनि शक्ति स्वरुपाको रूपमा स्थापित छ । मन्दिर समितिका अध्यक्ष तिलकप्रसाद गिरीको भनाइ अनुसार पुराणहरूमा वर्णन भएअनुसार देवीको दोस्रो पाउ मैदानी भागमा पर्न गएको र वृक्षमा देवीको नौ द्वार एवम् पाउको आकृति पनि स्पष्ट देखिने भएको हुँदा यस क्षेत्रलाई पाउ पाथीभराका रूपमा लिनुपर्ने धार्मिक मान्यता छ।

पाथीभरा देवी र मन्दिर नेपाल, भारत वा अन्य देशमा के कति छन्रु थाहा भएन । तर ताप्लेजुङबाट पर काठमाडौँ उपत्यकामा, अभिजित थापाका अनुसार, सूर्य विनायक नगरपालिका–७, भक्तपुरमा २०७५ मा पाथीभरा वैष्णोदेवी माताको मन्दिर निर्माण भएको छ । सामान्यतया शक्ति पीठ भन्ने बित्तिकै बली प्रथा र आस्था र परम्परामा आश्रित जनमान्यताहरू बुझिन्छ । तर गुण्डु निवासी स्थानीय अर्जुन बस्नेतले साढे ६ रोपनी जग्गा दान गरेपछि यो ठाउँमा मन्दिर निर्माण गरियो ।
हिन्दु धर्मका शक्तिस्वरुपा देवीहरू कति छन् र तिनीहरूमा पाथीभरा देवी पर्दछन् वा पर्दैन ? बहसको विषय हुन सक्छ । जति मन्दिर र देवीहरू पाथीभरा देवी ताप्लेजुङ सहितको विषयमा अध्ययन गर्दा पाथीभरा हिन्दु सनातन धार्मिक परम्परा र अभ्यासमा रहेकी देवीका नवरूपमा न पाथीभरा देवी नै छ, न पाथीभराको विषयमा कुनै वैदिक पुराण वा उपनिषद्हरूमा नै उल्लेख छ । छ भने त्यो भौतिक रूपमा अन्नपात नाप्ने माना, पाथीको आकारमा उभिएको एउटा विशिष्ट पहाडको आकार, जहाँ भेडा गोठाला र उनीहरूको दैनिकीमा घटेका घटना, आश्चर्यहरूसँग जोडिएका स्थानीय मिथकहरूबाट निर्मित शक्ति स्वरूपा हुन् ।

मुक्कुमलुङ्माको महत्त्व
पाथीभरा पहाडको चुचुरा, जहाँ पाथीभरा देवीको स्थापना भएको छ, त्यसको निकट सन्त सन्न्यासी फलाम सीँ लिङ्देन (फाल्गुनन्द)को मूर्ति उनका अनुयायी, किरात धर्म तथा साहित्य उत्थान सङ्घले विक्रम सम्बत २०७७ मा स्थापना गरेका छन् । त्यसपछि पाथीभरा पहाडको समूल स्वरूपलाई उनै किरात धर्मावलम्बी विशेषतः सत्यहाङमा पन्थीहरूले मुक्कुमलुङ्मा भने
भेडी गोठ राख्ने, चरिचराऊ गर्ने गोठालाको सपना बिपनामा देखा परेको देवी हिन्दु सनातन संस्कृतिको वा भिन्न, स्पष्ट नभए पनि देवीको थान स्थापना गरेर शक्तिको उपासना गर्ने एउटा प्रवृत्ति हाबी भईरहेको अवस्थामा किरात धर्मावलम्बी सत्यहाङमा पन्थले गुरु फाल्गुनन्द लिङ्देनको मूर्ति स्थापना गरेर अर्को धार्मिक क्रियाकलाप थपे ।

मुकुम्लुङ शब्द ठाउँ विशेषलाई सम्बोधन गरेर मुन्धुममा कतै उल्लेख नभएको अध्येताहरूको तर्क छ । बरु प्रथम याकथुङ मानव मुजिङ्ना खेयङनाकी छोरा आदि सिकारी सावागेन युक्फुङ केम्बाको श्रीमतीहरूमध्ये योसुलुङमा “मुकुम्लुङ्मा” भएको मुन्धुम अध्येताहरूको तर्क छ । मुन्धुम अध्येता अर्जुनबाबु माबुहाङका अनुसार, ‘मुक्कुमलुङ्मा’ कुनै पहाडको नाम नभएर मुन्धुमी पहिलो महामानव मुजिङ्ना खेयोङ्नाका छोरा सुसुवेङ लालावेङकी श्रीमतीको नाम हो । सुसुवेङ लालावेङ याक्थुङ्बा लिम्बूका पहिलो पुरुष पुर्खा मानिन्छ । मुन्धुममा उनलाई सुसुवेङ लालावेङ वा सुसुवा लिलिम भनेर पुकारिन्छ ।
याकथुङ् (लिम्बु) जनजातिको मुन्धुम (शास्त्रीय ज्ञान) नावा चइस्त् मुन्धुममा ‘मुक्कुमलुङ्’ भएको राम मादेनको तर्क छ । उनका अनुसार नावा चइस्तको सात प्रकाण्डहरूमध्ये इक्सा खाम्बेक पोङ्मा (पृथ्वीको उत्पत्ति) सम्बन्धि मुन्धुममा ब्रह्माण्ड र पृथ्वीको उत्पत्तिको बारेमा उल्लेख छ । त्यसरी नै सावायेत्हाङ् पोङ्मा मुन्धुममा पहिलो मानव मुजिङ्ना खेयङ्नाका छोरा सावा युक्पुङ्गेम्बा आमाको सुझाव र निर्देशन अनुसार धनु काँड, सुनको छेलो खेल्दै सिकार खेल्न निस्कँदा पर्वतको शिखरमा सुनको गहनाले सजिएकी एक महिला तान बुन्दै गरेको भेटे । त्यही ठाउँमा खेदाउँदै लगेको उनको सिकार मृग अलप भए । सावा युक्पुङ्गेम्बाले ती महिला ‘योसुलुङ्मा मुक्कुमलुङमा’ भएको थाहा पाइ उनैको मानमनितो गरेपछि मुक्कुम्ङ्माले अल्पिएका मृग र कुकुर पत्ता लगाउने जुक्ति सिकाइन् । सोही अनुसार अन्ततः सबै भेटिए । वास्तवमा, तिनै महिला मुन्धुमी पात्रको नाममा यो पर्वतको नाम मुक्कुमलुङ रहन गयो ।

याकथुङ् (लिम्बु) भाषा शास्त्री दिलेन्द्र कुरुम्बाङ्का अनुसार लिम्बू समुदायको सांस्कृतिक धरोहर मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता मेटेर पाथीभरा नाम राखिनु स्थानीयता र जनजातीय चिनारीमाथिकै अतिक्रमण हो । उनको तर्क छ कि प्रकृतिको अद्भुत स्वरूपमा उभिएको यो पहाडी थुम्कोले वरपरका मानिसलाई बाँच्ने आधार मात्र दिएको थिएन, विपद् पनि ल्याइदिन्थ्यो । त्यसैले स्थानीयले यो पर्वतलाई अद्भुत दैवी शक्तिको रूपमा मान्दै मुक्कुमलुङ भनेर पुज्न थाले । यो पहाडकै कारण वा यो पहाडले कस्तो विपद् ल्याउँदथ्यो ? त्यो भने कुरुम्बाङ्ले उल्लेख गरेका छैनन् । कुरुम्बाङ् थप्छन्, “डाँडामा देखा पर्ने र अनेक लीला गर्ने देवी युमा हुन् भन्ने याकथुङ समुदायको विश्वास रहिआएको छ । मुक्कुमलुङलाई विभिन्न नामले पुकारिन्छ। बेदाङमा, साम्बै, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ मार, सेमुक्तु मुक्तुबो मार, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोक, चेप्तीगोक, मुक्तीफो मार आदि विभिन्न नामले पुकारेको पाइन्छ ।” पहाडको वरपर याकथुङ् जनजातिको सघन बसोबास छ । र उनीहरू बसोबास गरेको गाउँहरू माङयुङ (अपभ्रंश मयेम), लिङखिम, फुरुम्बो‘खेजेनिमको इलेक्केनी सेवालुङ (मानाभरका) डाँडासम्म धागो टाँगेर (युमा साम्माङ्ले) तान बुनेको मिथकहरू छन्,” कुरुम्बाङ्को तर्क छ, “युमाले तान बुन्दा धागो टाँगेको ढुङ्गा थाक्केलुङ (अपभ्रंश ताङ्गेलुङ) साबिक फुरुम्बो ३ मा छ भने युमा बसेको टुल र धागो टाँगेको थाक्थाक्खिबो र युमा वाबाक (कुवा) साबिक लिङखिम ८ मा पर्छ । युमाले तान बुनेको ठाउँ हुनाले भक्तजनले फेदीदेखि मन्दिरसम्म धागो टाँगेको हुन् ।”

पाथीभराको टुप्पो वा डाँडा वनस्पतिविहीन छ। तलतल ठुलठुला गोब्रेसल्लाहरू सुक्न थालेको, ढल्न थालेको देख्न सकिन्छ । तर टुप्पोमा वनस्पति छैन । नाङ्गो डाँडा मात्र छ । भौतिक रूपमा डाँडोमा रहेका रूखहरू काठको प्रयोजनका लागि काटिएको वा चिरिएको हुन सक्छ, तर युमा साम्माङ् र देवीहरू परापूर्व कालमा युमा र ताम्भुङनाले (वनदेवी) मुक्कुमलुङ डाँडामा नाच्दा सबै रुख र पात कुल्चेर डाँडा उजाड भयो । त्यहाँ रुख बिरुवा केही पनि उम्रिन नसकेर चउर मात्र भएको कुरुम्बाङ्को भनाइ छ ।
कुरुम्बाङ्का अनुसार माङयुङ गाउँमा तबेबुङ वंशका तागासेनहाङ राजा थिए । उनको पालामा गाउँको सिरानमा तबेबुङ थरी याकथुङ (लिम्बू)हरूले गाई गोठ राख्थे । एक दिन गोठालाले गाई दुहुँदै जाँदा एउटा गाईको दूध आएन । अर्को दिन दुहुँदा आयो, फेरि अर्को दिन आएन । बाछोले खायो कि भनेर हेर्दा बाछा किलामै बाँधेको अवस्था हुन्थ्यो । गोठालो छक्क पर्थ्यो । एक दिन गाईहरूलाई जङ्गलमा चरनमा छोड्दा एउटा गाई थलामा फर्केन । गोठालोले खोज्दै जाँदा भेटिएन । तर गोठमा फर्केर हेर्दा त्यो गाई थलामा आएर बसेको भेटियो । गाई हराउने क्रम फेरि पनि दोहोरियो । गोठालो फेरि गाई खोज्दै जाँदा पहाडको अलि पर ओडारमा गाई दुहेको आवाज आयो, तर गाई भेटिएन । फर्किँदा घाम अस्ताउन लागेको थियो । गोठमा आइपुग्दा गाई त अघि नै आएर थलामा बसिराखेको भेटियो । राति सुत्दा गोठालाले सपनामा साम्म्याङफुङ (सुनको फुल), कण्ठ, शिरबन्दी लगाएकी थुन्से, खुलुम्बी बोकेकी भरभराउँदी तर कपाल भने सेतै फुलेकी स्त्री देख्यो । ती स्त्रीले ‘म युमा मार हुँ, मेरो वासस्थान मुक्कुमलुङ थेगु (डाँडा) मा तिमीहरूले गाईगोठ राखेर, फोहोर गरेर अपवित्र तुल्यायौ। त्यसैले म रिसाएर गाई र गाईको दूध लुकाएर शक्ति देखाएकी हुँ । मैले भनेजस्तो सेतो वा कालो गाईका दूध चढाएर पूजा गर्छौ, सफा सुग्घर पार्छौ भने तिमीहरूको फलिफाप हुन्छ, नत्र भने यो भन्दा अझ भयङ्कर शक्ति देखाउँछु’ भनेर अलप भइन् । सपनामा देखे जस्तै अगाडि गाई दुहेको आवाज सुनिएको पहराको ओडारमा युमाको थान राखेर तबेबुङ गोठालाले पूजा गरे । त्यसपछि त्यो घटना दोहोरिएन । यही समयदेखि मुक्कुमलुङ युमा मार थान स्थापना भई पूजा सेवा गर्ने चलन सुरु भयो ।

भाषा शास्त्री दिलेन्द्र कुरुम्बाङका अनुसार ‘मुक्कुमलुङमा’ दुईवटा शब्दको संयोजन छ, ‘मुक्कुम’ र ‘लुङ’ । मुक्कुमको अर्थ अग्नि वा शक्ति हुन्छ भने लुमको ढुङ्गा, शिला वा चट्टान हुन्छ । त्यसैले मुक्कुमलुङ भनेको अग्निपुञ्ज, शक्तिपुञ्ज वा शक्तिदायिनी शिला, चट्टान हो । डाँडाको पूर्वतर्फ ढुङ्गाको पहरामा एक अद्भुत ज्योति निस्किने वा बल्ने शिला थियो । अग्निशक्तियुक्त शिला भएकाले याकथुङ भाषामा यसलाई मुक्कुमलुङ भनियो । पहिले त्यो पहरामा रहेको शक्तिदायिनी शिलामा पूजा गरिन्थ्यो । पहरामा जो कोही जान नसक्ने भएकाले त्यो शिला २००५ सालमा हर्कजंग मादेनको अगुवाइमा तुत्तु तुम्याहाङ, बेदाङमा साम्बाहरू भेला गराई बाजागाजा र लावालस्करसहित माथि डाँडामा निकालेर स्थापना गरी पूजा गर्न थालियो । याकथुङ समुदायले पूजा गर्दा मुक्कुमलुङसँगै अरू ससाना ढुङ्गा लहरै गाडेर पूजा गर्थे । अस्थायी रूपमा गाडिने ढुङ्गाहरू कुनै कुइ कुदाप, ताम्भुङना, सावा युक्पुङगेम्बा वा सिकारी आदिका हुन् । ती पुराना अवशेषका रूपमा रहेका ढुङ्गालाई मूर्ति स्थापना गरी पक्की पूजा स्थल निर्माण गर्दा बाहिर राखिएका छन् । पाथीभरा देवीको उत्पत्ति गोठालाहरूले ढुङ्गा राखेर पूजा गरेर सुरु गरेको किंवदन्ती र हर्कजङ् मादेनको अगुवाइमा मुक्कुमलुङ्को प्रतीक ढुङ्गा समान थिए वा बेग्लाबेग्लै थिए, कुरुम्बाङ्ले प्रस्ट्याउन सकेका छैनन् ।

कुरुम्बाङ्को तर्क छ, “नजिकका बाहेक टाढा टाढाबाट तीर्थको रूपमा गएर दर्शन र पूजा गर्ने चलन नभएकाले फेदाङ्माले मुक्कुमलुङ मार, सेमुक्ती मुक्तीफोमाङ, सेमुक्तुबो मार, सेमुक्तु मुक्तुबुङ मार भनेर फलाक्दै मन्साएको आम रूपमा कसैलाई थाहा भएन‘र मुक्कुमलुङ नै ओझेलमा पर्‍यो ।”
‘मुक्कुमलुङ्’को पहिचान ‘पाथीभरा देवी’को पहिचान अघि वा पछि के हो ? प्रस्टिन्न । सन्त सन्न्यासी गुरु फाल्गुनन्दको मूर्ति स्थापना भएपछि आएको एउटा तर्क छ । सँगसँगै पहाडको तलतल बसोबास गर्ने याकथुङ् (लिम्बु) जनजातिको आआफ्नै मान्यता र बुझाई, जुन पाथीभरा माताको किंवदन्तीसँग समान जस्तो लाग्ने, युमा साम्माङ्का अनुयायी याकथुङ् (लिम्बु) जनजातिमा रहेको किंवदन्ती, जो मिश्रित र धेरै पुरानो जनविश्वासहरूले पाथीभरा पहाडमा एउटा दैविक शक्तिको बास भएको वा महत्त्व रहेको सन्दर्भहरू दिन्छन् । मिश्रित सन्दर्भहरूमा पाथीभरा पहाड, भेडी गोठका गुरुङ गोठालाहरूको जीवन चर्या र तबेबुङ् याकथुङ ९लिम्बु०को गाई र गोठालाका कथाहरूमा समानता छ ।
दुवै नियमित आकस्मिकताका घटनाहरू हुन्, जुन आआफ्नै अभ्यास र विश्वास अनुरूप बिपनाको समस्या सपनामा चेत पाएर पुनःबिपनामा नै हल गर्न प्रयास गरे, त्यो अन्यथा भएन । तर त्यो कथासित आश्चर्यको शक्ति जोडिएर आयो त्यसमा धार्मिक विश्वास र अन्धविश्वास यसरी जोडेर ल्याइयो कि शक्ति र सौकातले व्याख्या गर्न थालेपछि हिन्दु सनातन संस्कृतिको देवीको भिन्न ‘पाथीभरा’ रूप प्रकटीकरण एकातिर भयो । अर्कातिर सन्त सन्न्यासी महागुरु फाल्नुनन्दको मूर्ति निर्माण गरेर विभिन्न धार्मिक आग्रह र थप संरचनाहरू थुप्रिए ।

सेमुक्तिकोक्मा
सेमुक्तु मुक्ति कोक्मा सङ्घर्ष समितिले एक विज्ञप्ति प्रकाशित गरी मौलिक याकथुङमा वर्णन हुने भएकोले पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा रहनुपर्ने दाबी गरेको छ। सङ्घर्ष समिति अध्यक्ष राजेन्द्र अन्छङ्वोद्धारा हस्ताक्षरित विज्ञप्तिमा पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा कायम गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, किरात याकथुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ र याकथुङ लिम्बू समुदायमा अपिल गरिएको छ।

उक्त पहाडको वरिपरि बसोबास गर्ने आदिवासी याकथुङ् (लिम्बु) जनजातिले सेमुक्तिकोक्मा, सेमुक्तिफाङ्, मुक्तिकोक्मा आदि विभिन्न नामले पुकारिन्छ । उक्त पहाड अहिले चर्चाको विषय बनेको छ, जब यति होल्डिङ्स नामको कम्पनीले यो पहाडमा केबलकार पुर्‍याउने भनेर व्यापारिक प्रयोजनको विषय बनायो ।

देव सुब्बा इजमका अनुसार पाथीभराको फेदमा बसोबास गर्ने याकथुङ् (लिम्बु) जनजातिहरू बसोबास गरेको गाउँहरूस् तम्बर नदिको वारिपारि फुरुम्बो, माङयुङ, लिङखिम पर्दछ भने फावाखोला याङवरक तिर तेम्बेवा, तिरिङे, कन्जारी, बखिम (बोखिम) आदि ठाउँहरू पर्दछन् । पाथीभरा पहाड, फुङ्लिङ नगरपालिका बडा नं.११ मा पर्दछ । इजमका अनुसार मुन्धुमी भाषामा यसलाई सेमुक्तु मुक्तिगोक्मा अर्थात् ‘पवित्र आत्मा’ शक्ति रहने ‘पहाड’ भनी सम्बोधन गरिएको हो । कतिले संशोधन गर्ने क्रममा पवित्र शक्ति रहने थेगु अथवा भञ्ज्याङ भनेका छन् । अझ कतिले पवित्र शक्ति रहने बुङ अथवा मूल, मुहान भनी सम्बोधन गरेका छन् । यो पहाडलाई याकथुङ् समुदाय र स्थानहरू विशेष विभिन्न नामस् सेमुक्तु मुक्तु गोक, मुक्तुगोक, मुक्तुगोक थेगु, मुक्तिगोक, सेन्छिगोक, सेमुक्तुगोक, साङसिङ मुक्तु कोक्मा, सेङसिङ कोक्मा मुक्तु फोःमा, सेङसिङ कोक्मा साङसेरेप्मा आदि नामले पुकारेको पनि भेटिन्छ ।

इजमको तर्क छ कि, यी तथ्यहरूलाई विश्लेषण गर्दा अधिकांशमा सेमुक्तु मुक्तिगोक्मा साझा नाम भएकोले सेमुक्तु मुक्तिकोक्माको अर्थ पवित्र परा भौतिक अस्तित्वले शक्ति देखाउने पहाड भनेर अर्थ लगाउन सकिन्छ । इजमको विचारमा सुरुवाती समयमा झाक्रीहरुले पनि याकथुङ लिम्बुहरूको पूजा विधि नै अपनाउँथेस जस्तो मूल पूजा स्थलको बाहिरी विभिन्न कुई कुदाप (सिकारी, पुङ साम, ताम्भुङना र खःजमा आदि) को साम्माङ् (पूजा) गरेपछि मात्र मूल माताको पूजा गरिन्थ्यो । हिन्दुहरूले यसैलाई शक्ति पीठको रूपमा पुज्न थाले । यहाँ स्थायी रूपमा पण्डित पुजारी राखी पूजा गर्न थालियो । बिस्तारै यो तीर्थस्थलको आदि मुन्धुम तथा उत्पत्ति मुन्धुमको सट्टा कृत्रिम मिथक तयार गरी वाचन गर्न थालियो ।

फावाखोला साइडका याकथुङ् (लिम्बु)हरूको मुक्ते खर्क, मुक्तिफोमाङ्बाट नै नामकरण गर्ने गरिएको मुन्धुम अध्येता अर्जुन माबुहाङको दाबी छ । उनका अनुसार मुक्तिफोमाङ्को वर्ण विश्लेषण गर्दा “मुक्तिफोमाङ’को अर्थ ‘मुक्ति’ भनेको रापिलो आगोको ज्वाला र ‘फोमाङ’ भनेको अग्नि देवता भन्न खोजिएको हो । मुक्तिफोमाङमा बिहान घाम झुल्किँदा होस् वा बेलुकी अस्ताउँदा मुक्तिफोमाङ आगोको ज्वाला भएर बलेको जस्तो देखिने स्थानीयहरू बताउँछन् ।

माबुहाङ्ले अङ्ग्रेज कुटनितिज्ञ बि.एच. हडसनले संकलन गरेर लगेका पाण्डुलिपिहरूमा भोल्युम ८६मा, “श्री मुक्तिफोमाङ केयुङरो..” भनेर उल्लेख हुनुले अहिले भनिएको पाथीभरा वा मुक्कुमलुङ् मुक्तिफोमाङ् हो । अर्का मुन्धुम अध्येता लक्ष्मण मेन्याङ्बोले सङ्कलन गरेको यभत्लुङ् फावामा (फावाखोला) क्षेत्रतिर प्रचलित याक्थुङ् मुन्धुममा भने सेमुक्तिलुङ् नै भनिएको छ ।
याकथुङ् (लिम्बु) मुन्धुममा पहाड, पहाड–हिमालहरूको विषयमा भनिएअनुसार सुरुवाती क्षणमा न धर्ती थियो, न आकाश थियो । पोरक्मी यम्भामि सृष्टिकर्ताको उपस्थिति पछि जल, माटो, पहाड, पर्वतको निर्माण भयो । त्यसरी निर्माण भएका पहाडहरूमा फक्ताङ्लुङ्मा (कुम्भकर्ण), पेन,पेन (चेन, चेनलुङ्मा–कञ्चनजङ्घा), मुक्तिगोक्मा (पाथीभरा), साङ्सिङ् गोक्मा (सिदिङ्बुङ्) आदि पहाडको निर्माण भए भनिएको छ । मुन्धुमलाई याकथुङ् (लिम्बु) जातिको सामाजिक इतिहासको आख्यान मानिएकोले पाथीभरा वा मुक्कुमलुङ् भनिएको पहाड याकथुङ् संस्कृतिको नजरमा मुक्तिगोक्मा हो ।

युनेस्कोको सन् २००३ को महासन्धि अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण का लागि पाँच विस्तृत प्रस्ताव (डोमेन), जस्तै मौखिक परम्परा र अभिव्यक्तिहरू, भाषासहित अमूर्त सांस्कृतिक सम्पदा–कला प्रदर्शन, सामाजिक अभ्यास, अनुष्ठान र उत्सव घटनाहरूस प्रकृति र ब्रह्माण्डको बारेमा ज्ञान र अभ्यासहरूस र परम्परागत शिल्प कौशल आदि पर्दछन् । हरेक हिसाबले एउटा पहाड जसको प्राकृतिक महत्त्व भनेको त्यसको उत्पत्तिदेखि आजसम्म बाँच्ने आधार प्रदान गरेका मानिससहित जैविक विविधता नै पहिलो महत्वको विषय हो । यो प्राकृतिक निधि र सम्बन्धलाई कसैको धर्म, विश्वास, अन्धविश्वासस शक्ति–वैयक्तिक वा राजकीयको महत्वको विषय वस्तु बनाइनु विषयको अतिरञ्जना हो ।

पहाडको पवित्रताको प्रश्न ?
पहिलो कुरा पवित्र स्थान (सेक्रेड प्लेस) भनेको के हो ? नेपाली भाषामा पवित्र भनेको फोहर मैला नभएकोस निर्मलस स्वच्छस् चोखो, सुद्धस पुनीत, भनेको छ । पाथीभरा पहाड जुन बिना मानव बस्ती, आवजावतविहीन, एक्लो उँचो स्थानमा अवस्थित सफा, स्वच्छ त हुने नै भयो । हिन्दु धार्मिक विश्वास लगायत अरू कतिपय अभ्यासले पाथीभरा देवी शक्तिस्वरुपा मानिएकाले पशु बली दिने चलनका कारण रगत बग्ने र मैलो हुने नै भयो । यो पहाडको एकान्त र अग्लो स्वरूप र यो ठाउँको पवित्रता कसरी व्याख्या गर्ने, स्थापना गर्ने वा संरक्षण गर्नेरु गहन विषय बनेको छ ।

सेक्रेड मौन्टैन (पवित्र हिमाल् पहाड)को विषयमा चर्चा हुने गर्दछ, विशेषतः आदिवासीको सन्दर्भमा । अमेरिकाको माउन्टेन इन्स्टिच्युट (हिमाली संस्था) मा कार्यरत अध्येता एडविन बर्नबाउन (नवम्बर, २००६) भन्छन्ः
‘वास्तविक पवित्रताको गहिरो अभिव्यक्तिको जहाँसम्म सम्बन्ध छ, संसारभरका पवित्र हिमाल् पहाडहरू संस्कृति र परम्पराहरूको गहिरो र उच्चतम मूल्य र आकांक्षाहरूसँग जोडिएका हुन्छन् । सुदूर हिमालयको शिखर कैलाश पर्वत जुन लाखौँ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको मनलाई उनीहरूको आध्यात्मिक परम्पराको उच्चतम प्राप्तितर्फ निर्देशित गर्दछ । मोशाले दस आज्ञाहरू प्राप्त गरेको ठाउँ, जुन पश्चिमी सभ्यता र नैतिकताको आधारका रूपमा बाइबलमा सीनै पर्वतको विशेष स्थान छ । जापानको पर्वत फुजीको त्रिकोणात्मक सुन्दर आकार, जसले जापानिज संस्कृतिको सरलता र सुन्दरताको हृदय प्रतिनिधित्व गर्दछ । सगरमाथा हिमालले, आधुनिक, धर्मनिरपेक्ष संसारमा पनि परम प्रेरणादायी प्रतीकको रूपमा उभिएको छ ।‘

पर्वतको पवित्रता ३ विभिन्न उपायले व्यक्त हुन्छ भनेर वर्नबाउनले विचार दिएका छन् । उनका अनुसार पहिलो, निश्चित पर्वतहरू खासखास संस्कृतिहरू र परम्पराहरूबाट तिनको पवित्रता छुट्टाउन सकिन्छ । ती पवित्र पर्वतहरू हुन् भनेर बनेका विभिन्न मिथक, विश्वास र धर्मका भनेर तिर्थाटनगर्नेहरू, ध्यान योग गर्नेहरू र भोगदिने चलनहरूले प्रस्ट्याउँदछ । उदाहरूको रूपमा चीनको ताइसान पहाड, इजिप्टको सिनाइ पहाड र अमेरिकाको सनफ्रान्सिसकोका पहाडहरू लिन सकिन्छ । दोस्रो, पर्वतहरू श्रद्धाका हुन् कि होइनन् भन्ने कुरा त्यहाँ अवस्थित मन्दिर, गुम्बाहरू, आश्रमहरू, पत्थर, खोला–नाला, उपबन (पार्क)हरू धार्मिक व्यक्तित्वहरूको क्रियाकलापले सुनिश्चित गरिरहेको हुन्छ । जापानको कोया र कोबो दाइसिनी धेरै मानिसहरू पुग्छन् हिन्दुहरूको बद्रीनाथ जस्तै । अन्तमा, पर्वतहरूले सामान्यतया व्यक्तिहरूमा आश्चर्य र विस्मयको भावना जागृत गर्दछ जसले उनीहरूलाई उत्तेजक सुन्दरता र अर्थले ओतप्रोत स्थानहरूको रूपमा अलग पार्छ । धेरै पर्यटकहरू क्यालिफोर्नियाको सिएरा नेभाडा, युरोपको आल्पस र चीनको हुवाङ्सान पुग्छन् ।

वर्नबाउनले पर्वत् हिमालहरूको पवित्रताको विषयमा संसार भरका अनुभव हेर्दा १० वटा विषयवस्तुहरूको चर्चा गरेका छन् । उनका अनुसार तीनमाः १०.उचाइ, २०.केन्द्र, ३०.शक्ति, ४०.दैविक वा दैविक वासस्थान, ५०. मन्दिर वा पुजा स्थल, ६०. स्वार्गिक उपबन, ७०. पुर्खा वा मृत्यु, ८०. पहिचान, ९०. स्रोत वा मुहान र १००.प्रेरणा, पुनरजिवन र रूपान्तरण छन्।

पहाड/हिमालको उँचो स्थान, जस्तो माउन्ट एभरेस्ट संसारको सबै भन्दा अग्लो हिमालको आफ्नै महत्त्व छ, जुन विश्वभरिका मानिसहरूको लागि पवित्र हिमाल भनेर लिइन्छ । अर्को तिब्बतीहरूको बोली कालिमा एभरेस्टलाई जोमोलाङ्मा, पश्चिमी लिखतहरूमा यसको अर्थ हुन्छ, धुनियाँकी देवी आमा भनेर । तर जोमोलाङ्मा जोमोमि–ओलाङ्साङ्माको छोटो रूप हो । जसको अर्थ हुन्छ तिब्बती ५ वटा अमर ससाना देवीहरू( दीर्घायु, खाद्य र सम्पत्तिको लागि पुकारिन्छन् । अर्को पहाड् हिमाललाई ब्रम्हाण्डको केन्द्र पनि मानिन्छ । तिब्बतको कैलाश, बालीको गुनुङ् आगुङ्स मेरू वा सुमेरु पहाड, हिन्दु र बौद्ध धर्मावलम्बीहरूको सांसारिक दुनियाँको केन्द्र मान्छन् । धेरै पहाड् हिमालहरूलाई दुवै शक्ति र सर्व शक्ति–सुपरनैचुरल) श्रद्धेय शक्तिकेन्द्रको रूपमा मानिन्छ ।

१९ औँ शताब्दीमा, न्यु जिल्यान्ड युरोपियनहरूले नगातीको पवित्र पर्वत टोंगारिरोमा जग्गाको टुक्राहरू किन्न थालेका थिए । जसका कारण तुह्वारेतोवाको मुखियाको मन वा शक्तिलाई खतरामा पार्‍यो, जुन अखण्डता कायम राख्नमा निर्भर थियो ।
पहाड् हिमालहरू पुर्खाको वा मृत आत्माहरूको वासस्थानका रूपमा विभिन्न मिथकहरूमा चर्चा गरिन्छ । त्यसरी नै पहिचानको कुरा गर्दा न्युजिलैण्डका माओरी जातिहरू ओराकी र तोङ्गारिरो पहाडमा जम्मा भएर त्यहाँबाट चारैतिर छरिए भनेर उनीहरूको पहिचान ओराकी पहाडसित जोडेर ल्याउँदछन् । अमेरिकाको ‘रैनियर मौउन्टैन’ लाई प्रशान्त उत्तर पश्चिमको प्रतिमूर्ति वा चित्रको रूपमा लिइन्छ भने फुजी हिमाललाई जापानको । संसार भरिका मानिसहरूले हिमाललाई आशीर्वादको लागि उँभो फर्केर हेर्छन् । जस्तो पानीको मुहान, जीवन, प्रजनन शक्ति, र दुखाइपिराई मन्साउने सम्म गरिन्छ । प्रेरणा, पुनरजिवन, र रूपान्तरणको सम्बन्धमा चीनको केही ठाउँहरू आदर्शको रूपमा लिइन्छ भने कतिपय ठाउँहरू ध्यान–तपस्या र आध्यात्मिक रूपान्तरणका लागि धार्मिक महत्त्व राख्छन् । उत्तर अमेरिकाको लाकोता र क्रो पहाडहरू आध्यात्मिक शक्ति प्राप्तिको लागि र जीवनको आत्मनिर्णय गर्न महत्त्व राख्ने विश्वास गरिन्छ ।

महत्वको कुरा के गरे भने पाथीभराको फेदीबाट टुप्पोसम्म नै जुन सेतो धागो टाँग्ने गरिएको छ, त्यसलाई याकथुङले मुन्धुममा, “थाक्पेदाङमे खिबेदाङमे, आसुनु युमा माङङे ! थाक्पे मेम्बुरु ए खिबे मेम्बुए रो–हे तान र धागोकी मालिक युमा, जीवनको प्रतीक धागो नचुँडियोस् है)।” पाथीभरा, अन्न चुलिएको पहाडस मुक्कुमलुङ्मा वा मुक्तुगोक्मा, शक्तिको मुहानस के हो र होइन, आआफ्नै तर्क होलान् । तर ठाडो उकालो चढेर पुगिने ठाउँको पवित्रता यसको मुख्य महत्वको विषय हो । यो पहाडको सुडौल स्वरूप, उचाइ विभिन्न सांस्कृतिक महत्ताले सैक्रेड माउन्टेन (पवित्र पहाडको) को चरित्र पुष्टि गर्दछ । पहाडको चरित्रले पवित्र पहाडको मान्यता पुस्टी गर्छ, तर अन्य थप धार्मिक तथा व्यापारिक क्रियाकलापले पवित्र पहाड, अपवित्र बनाउन मानव क्रियाकलाप उद्धत भएको देखिन्छ ।

केबलकार
यो पहाड उक्लन नसक्नेले यसको पवित्रता चुम्न सक्दैनन् । असामर्थ्य रहन्छन् । धर्म (चिताएको पुग्नु, शक्ति शौकत, मुद्रा, पद र प्रतिष्ठा) कमाउनु र पवित्र पहाड चड्नु बेग्लाबेग्ला विषय हुन् । कर्नेल विश्वविद्यालयका एमिरिटस, प्रोफेसर लरेन्स एस. ह्यामिल्टनका अनुसार सन् २००३ मा चिनियाँ सरकारले तिब्बतको कैलाश हिमाल सम्मको सडक बनाउने योजना प्रस्तुत गरेको थियो । तर चारै तर्फको विरोधका कारण उक्त कार्य रोकियो । ह्यामिल्टनका अनुसार कैलाश हिमालको पर्वत, मान सरोभर ताल, कैलाशको पवित्र भूसतहको संरक्षणको विकासको लागि पहल गर्न बल्ल चिन, भारत र नेपाल बिच सहमति भएको छ (इसिमोड, २०१२) मिश्रको सीनै पर्वत जहाँ मोशाले परमेश्वरको सामना गरेको विश्वास गरिन्छ, जहाँ दश आज्ञाहरू प्राप्त गरे। यो यहुदीहरूको लागि, इस्लामको लागि र इसाईहरूको लागि पवित्र छ । प्रत्येक वर्ष लगभग ३०,००० मानिसहरूको लागि एक तीर्थस्थल हो। शिखर नजिकै जङ्गली क्षेत्रहरू छन्, ४०० भन्दा बढी प्रजातिका वनस्पतिहरू (ती मध्ये २७ स्थानिक) भएको, र आइबेक्स पहाडको पवित्रताद्वारा संरक्षित ढलानहरूमा घुम्छन् । पवित्र स्थलको (डिज्नीफिकेशनू को बारेमा सार्वजनिक आक्रोशले यो आर्थिक विकास योजना रद्द गर्‍यो, यहुदी, इसाई र मुस्लिमबाट उत्पन्न विरोधको साथ । सन् २००२ मा, यसलाई विश्व सम्पदा क्षेत्र ९सांस्कृतिक मूल्यहरू र सम्बन्धित जङ्गली भूमिहरूको संरक्षणको लागि) को रूपमा नामकरण गरिएको थियो ।

दिल्ली विश्वविद्यालय, जेएन यु, प्रेसिडेन्सी कलेज कलकत्तामा अध्येता प्रोफेसर अमित माधुरी र मेधा पाकेटकार, वातावरणविद्हरूले “जनताका लागि, जनताद्वारा, जनताको औद्योगीकरण,” को विषयमा तर्क गर्छन् कि उनीहरू उच्च आर्थिक वृद्धिको विपक्षमा तर्क गर्दा विकास विरोधी कहलिन्छन् । तर, उच्च आर्थिक वृद्धिको लागि भारतमा औद्योगीकरणको उपायले कसरी काम गर्दैन भनेर पाँचवटा कारणहरू भने । पहिलो, गहन लोकतन्त्र र जनताको अधिकारको मामला– ठुलाठुला उद्योगहरूको स्थापना बेगर जनताको लिभिङ् स्ट्याण्डर बढाउन सकिन्न भन्ने कुरा युरोपको एक शताब्दीको औद्योगिक क्रान्तिको समृद्धि ठुलठुला उद्योगहरूबाट भएको थिएन, सानातिना मझौला उद्योग र कलकारखानाहरूबाट भएको थियो । दोस्रो, तत्कालीन लाभ लिनेहरू र स्थायी रूपमा गुमाउनेहरू–औद्योगीकरणबाट गरिबले सारै ढिलो गरी लाभ पाउँछन्, उद्योगमा ढिलो गरी जागिर सृजना गरिन्छ । भारतको आर्थिक सर्वेक्षण अनुसार दुई अङ्कको वृद्धि हुँदा नियमित रोजगारी औपचारिक क्षेत्रमा केबल १।० प्रतिशत मात्र थियो । तेस्रो, कम्पनी जनताका विरुद्ध–वित्तीय सङ्कटको हाल सालैको अवस्थासम्म पुँजीवादी बजारले राम्रो सम्पत्ति कुम्ल्याउन सक्यो भने वितरण भने खराब रह्यो । चौथो, वैकल्पिक उपायहरू -अधिकांश गरिबी प्रभावित आबादी गाउँमा बस्छन्, निर्वाह गर्न सक्दैनन् र सामाजिक सम्पत्ति निर्माण गर्न पर्याप्त कमाउन सक्दैनन् । त्यसकारण गाउँसहर दुवै क्षेत्रमा न्यूनतम ज्यालाको लागि रोजगारी सृजनाको अवसरहरू सृजना गर्न सक्न पर्छ । पाँचौँ, उपलब्धि र वातावरणको संरचना–यहाँ निर एउटा अबुझकी सोच छ कि हामी पुराना संरचनाहरू र वातावरणको संरक्षण मात्र चाहन्छौँस ठिक हो किनकि वातावरण बचाउनु छ र उत्पादन मुठ्ठीभरले कुम्ल्याउने भन्दा पनि धेरैले निर्वाहमुखी लाभ प्राप्त गर्‍यो भने कोही पनि मारमा पर्दैनन् ।

केबलकारले ताप्लेजुङमा विकास हुन्छ भनेर एकातिर ढोल पिटिरहेका छन् भने अर्कोतिर विकास भनेको नै के हो ? भन्ने विषयमा स्थानीय सरकार देखि सङ्घीय सरकार सम्मका राजनीतिक तथा प्रशासनिक शक्ति र निकायहरू अलमल छन्। नेपाल प्रेसका डिआर घिमिरेका अनुसार, ‘लुम्बिनी केबुलकार प्रालिले सञ्चालनमा ल्याएको केबलकारमा, पाल्पा दोभानदेखि नेउली वसन्तपुरमा बनेको कामाख्यानदेवी मन्दिर सम्मको मार्गमा, तल्लो भागमा एकछिन रोक्दा यात्रुले स्वतन्त्र सुक्रिबिक्री गर्न पाउन्न भन्ने गुनासो छ । पानी, मिठाइ वा त्यस्तै केही खान परे सबै कम्पनीले बेच्छ । कम्पनीका अध्यक्ष चन्द्र ढकाल नेपालकै ठुला व्यावसायिक घरानाभित्र पर्छन् । उनको छहारीले धेरै कुरा प्राप्त हुन्छ भनेर विश्वास गरेका जनता अहिले चरम बेवास्ताको चपेटामा छन् ।’

केबलकारले गर्ने फाइदा भनेको सहजै र छोटो समयमा नै डेस्टिनेसनमा पुग्ने भन्ने हो, जुन पवित्र स्थल वा पहाड उक्लनुको उद्देश्य भित्र पर्दैन । सेक्रेड माउन्टेनहरू सिद्धान्तले सहजै पहाडमा पुग्नु अनुकूल विचार होइन। त्यो नितान्त व्यापारिक उद्देश्यको लागि मात्र हुन्छ ।

मुक्कुमलुङ्को लागि सङ्घर्ष !
‘पाथीभरा देवी’ को दर्शनार्थ केबलकार स्थापना गर्ने परियोजनासँगै परियोजनाले पार्न सक्ने नकारात्मक प्रभाव, सरोकारवाला समुदाय वा आदिवासी जनजातिको प्रतिरोधको सङ्घर्ष ताप्लेजुङमा मात्र नभई संसारभर हुने सङ्घर्ष हुन् । कथित उच्च आर्थिक वृद्धिको विकासको मोडलले बोकेको विचारको विरुद्धको सांसारिक प्रवृत्ति नै हो । विभिन्न मिडियाबाट पनि जानकार छौँ कि केबलकार परियोजनाको थालनीका विरुद्ध सयौँ सङ्ख्यामा युवाहरूले पहाडको रखवारी गरिरहेका छन् । सचेत युवा वर्गले मुक्कुमलुङ सङ्घर्ष समिति गठन गरी अभियान सुरुआत गरेका छन् । समितिका मागहरूमास् मुक्कुमलुङ नाम पुनः स्थापित गरी याकथुङको परम्परागत संस्कारअनुसार धार्मिक स्थलको विकास गरिनुपर्ने, त्यस क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण हिन्दु मूर्ति, मन्दिर हटाउनुपर्ने, धार्मिक क्षेत्रको संरक्षण संवर्द्धन, सञ्चालन र स्वामित्व समुदायलाई हस्तान्तरण गर्नुका साथै सङ्घीय सरकारको संलग्नता हटाउनुपर्ने, केबलकार निर्माण गर्न नहुने लगायत माग गरेको छ। साथै मुक्कुमलुङ धार्मिक क्षेत्र विकासका लागि स्थानीय सरकार मातहत राखिनुपर्छ र सम्बन्धित समुदायको स्वामित्व र नियन्त्रण रहनुपर्छ भन्ने उनीहरूको महत्वपूर्ण मागहरू छन्। अतिक्रमणको गतिविधि रोकेर मानव निर्मित सबै कङ्क्रिटका संरचना हटाउनुपर्छ । युमाको सान्दर्भिकतामा प्राकृतिक स्वरूपमा पूजा थान बनाई सेवा गर्नुपर्छ र मुक्कुमलुङको पुरातात्त्विक महत्त्व कायम राखिनुपर्छ । विकास र पर्यटन प्रवर्द्धनका नाममा अनधिकृत वन फडानी रोक्नुपर्छ। डाँडा सम्म्याउने, सिमेन्ट, रड प्रयोग गरी कङ्क्रिटको संरचना बनाउने कार्य पूर्ण रुपमा बन्द गरिनुपर्छ। वन फडानी गरी उजाड बनाइएको ठाउँमा वृक्षारोपण गरिनुपर्छ आदि मागहरू सम्बन्धित निकाय अघि सारेका छन् ।

सङ्घर्ष समितिका माग र सरोकारहरू हेर्दा राज्यले बेवास्ता गर्नु पर्ने, वा त्यस्ता अप्ठ्यारा र असम्भव कुराहरू छैनन् । बरु विकासको मोडल पुँजीपतिहरूको एकलौटी नाफाखोरी प्रवृत्तिलाई संसार भरिनै प्रश्न उठिरहेको सन्दर्भमा समुदायको सहभागिता र अपनत्वको जहाँ स्थानीय र आदिवासीमय परम्परागत ज्ञान, प्रविधि र संयन्त्रलाई कसरी हाम्रो विकास प्रयासमा विकास गर्ने एउटा अवसरको रूपमा पनि लिन सकिन्छ । विडम्बना त के छ भने युवाहरू पाथिभरा स्थानीय सरकारको मातहत हुनुपर्छ भनिरहेछ, स्थानीय निकायहरू कथित विकासको नाउँमा, संघीय सरकारको हवाला दिएर यो गर्छु र त्यो गर्छु भनेर आन्दोलनकारीलाई तर्साउनु विडम्बनाको बनेको छ । स्थानीय सरकारको पदाधिकारीहरूले केबलकारले विकासका अवसरहरू ल्याउँछ, यो हुन्छ, त्यो हुन्छ भन्ने विचारहरू सुन्दा कथित उच्च आर्थिक वृद्धिदरको, कुनै एउटा निवेषक त्यो पनि सकभर विदेशीको पैसा, ज्ञान, प्रविधिको प्रयोगले धर्म गर्ने नाउँमा जनताले तिरेको पैसा उनै पुँजीपतिको सांसारिक केन्द्रलाई सुम्पने बाहेक थप के होला ? विचारणीय छ ।