June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

येबा तथा येबा लाङ्लाई मनोरञ्जनात्मक विषय मात्र बनाउनु हुँदैन

राजा माबो
२०८० बैशाख ४

3.9K

याक्थुङ/लिम्बु जातिमा विभिन्न अनुष्ठानहरु गर्ने क्रममा बिजुवा (येबा)हरुको प्रमुख भूमिका रहन्छ । येबाहरुले मुन्धुमी प्रक्रिया अनुसार मुन्धुम फलाक्ने, गाउने, रुने, हाँस्नेदेखि नाच्ने आदि कार्यहरू गर्दछन् । भवितव्यबाहेक यी अनुष्ठानहरु याक्थुङ जातिको निम्ति निक्कै महत्वपूर्ण सांस्कृतिक चाडहरु हुन् भन्दा फरक पर्दैन ।

याक्थुङ समुदायको जनजीवनमा बिजुवा नाच (येबा लाङ्) मनोरञ्जनको विषय होईन, बाध्यता पनि होईन र रहर पनि होईन । यो याक्थुङहरुको विकाससँगै चलिआएको रीतिरिवाज हो, जो समुदायको अभिन्न अङ्गको रुपमा मानिल्याईएको छ । र, यसको महत्व याक्थुङ समुदायमा अनुमान लाउन नसकिन गरिको उच्च छ ।

पछिल्लो समय हामी याक्थुङहरुले नै बिजुवा नाच (येबा लाङ)लाई संरक्षणको नाममा गलत प्रयोग र लापरबाही गरिरहेका छौ । येबा लाङ्ले संस्कृति झल्काउने मात्र होईन सिङ्गो मुन्धुम, इतिहास र संस्कृतिलाई नै बोकेको हुन्छ । संस्कृति जोगाउने नाममा येबाहरुलाई मेला, बजार, महोत्सव र विविध कार्यक्रमहरुमा आफ्ना नृत्य प्रस्तुत गराई रहेका छौं । येबाहरु पनि बढो ठूलो उपलब्धि र अवसर मिले वा पाए जतिकै गरेर घुमि–घुमि नाचिरहेका हुन्छन् तर येबा वा कसैलाई पनि थाहा छैन कि याक्थुङ समुदायको अथवा संस्कृतिको मूल खम्बा येबा र येबा लाङ्को स्वभिमान फितलो र मूल्यहिन बनेर जाँदैछ, जसको कारण हामी आफै हौं । येबाहरुले प्रस्तुत गर्ने यान्त्रिक कार्य, मुन्धुम पलाक्ने, गाउने र नृत्य आदि मेला, बजार, महोत्सव, कार्यक्रममा देखाउने या प्रस्तुत गर्ने चिज होईन । दुई चार रुपैयाँको लोभमा भिडभाडमा हो–हल्ला गर्दै गराउदै नचाउने जोकर नाच होईन येबा लाङ् । तर, संरक्षणको नाममा येबा र येबा लाङलाई जोकर बनाईरहेका छौ, रमाईलोको लागि जस्तो प्रयोग गरिरहेका छौं । मैले माथि नै उल्लेख गरिसकेको छु, याक्थुङ समुदायको जनजीवनमा बिजुवा नाच(येबा लाङ्) किन मनोरञ्जनको विषय होईन भनेर ।

Advertisement

याक्थुङ जातिको संस्कृतिमा व्यक्ती अथवा समुदायउपर परापूर्वकाल देखिनै येबाहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सेवा अथवा योगदान पुर्‍याउदै आएका छन् । त्यति मात्र नभएर सृष्टि कालदेखि आजसम्म र भविश्यका बारेमासमेत हिसाब राख्ने क्षतमता राख्छन् । येबाहरुले इतिहासदेखि आजसम्म संस्कृतिक खम्बाको रुपमा भूमिका ननिभाई दिइएको भए याक्थुङ समुदायमा भाषा, मुन्धुम, संस्कृति लगायत विविध क्षेत्रको वजन र परिधि आज जतिको गहकिलो र फराकिलो हुने थिएन । त्यसैले येबा र येबा लाङलाई सही र ठिक ढुङ्गबाट संरक्षण र पुस्तान्तरण गरिदै लैजानु पर्दछ । त्यसैले संरक्षणको नाऊमा मेला, बजार, महोत्सव, कार्यक्रममा बिजुवा नाच देखाउने, प्रदर्शन गर्ने काम बन्द गरिनु पर्छ । शून्य घटना या कुनै जोक संन्जोक र रितपूर्वक बिनातयारी काहीँ कतै पनि थाल बजाएर कम्मर मर्काउदै कसरी नाच्न सक्दछ येबा ? त्यस बखत कुन र कस्तो माङ(देवता)को स्पर्षले येबाहरु काम्छन् ? के भनेर काम्छन् ? के बिषयमा मुन्धुम फलाक्छन् ? बिना कारण येबाहरुले कुन गुरुलाई शरीरमा चढाउछन्, कुन गुरु उनीहरुको सिरि चढ्छ? त्यसरी योजना, घटना, कारण बिना गरिएको अनुष्ठानको नियम र धारणा के हो ? विशेष कारण बिना आफूमा गुरु चढाएर,माङलाई बोलाएर कसरी पन्छाउछन् ? यी र यस्ता प्रश्नहरुले अप्रत्याशित रुपमा कुनैबेला गाँज्न सक्छ । साच्चै छातीमा हात राखेर गम्दा, सम्झी बिचार गरी ल्याउँदा यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ हामीसँग उपलब्ध हुन नसके, सस्तो बजारमा हेरिने जोकरनाच भन्दा फरक के हुन्छ र ? त्यसैले याक्थुङ समुदायमा येबा र येबा लाङको जति महत्व र भूमिका रहेको छ । सोही बमोजिमको मानसम्मान, संरक्षण र पुस्तान्तरण गरेर लैजान जरुरी छ ।

देशले पार गरिआएको विभिन्न संक्रमण, संकट, मोड घुम्ति, भवितव्य, विकराल स्थिति, लडाई आन्दोलन, परिवर्तन र संसारको कुनाकन्दरासम्म फैलदो याक्थुङ जाति अनि बढ्दो विज्ञान र प्रविधि चापसँगै अरु धर्म÷धर्मान्तरणको कारणले येबा र येबा लाङलाई मात्र नभएर सिङ्गो याक्थुङ मौलिक संस्कृतिमासमेत फिक्कापन छाईरहेको छ । यो अवस्थामा हामी याक्थुङ जाति र पछिल्लो पुस्ताले संयमित हुँदै आफ्नो मौलिकताको निम्ति ज्यानको बाजि राखेर उहिलेबाटै लड्दै आइरहनु परेको छ र आज पनि उहीँ लडाईलाई निरन्तरता दिईरहनु परेको छ । संसारको सबै भन्दा ठूलो सांस्कृतिक धन र ज्ञान भनेकै हामीहरुले आदिमकालबाट चलाई आएको हामी आदिमवासीले जगेर्ना गर्दै मानिआएको मौलिक संस्कृतिहरु हुन् । यदि यो माटोमा यहाँको मौलिकपन र मौलिकता झल्कने संस्कृतिहरु नामेट भयो भने यो माटोको सांस्कृतिक खजना र ज्ञानको मूल श्रोतनै नस्ट हुन्छ र मरुभूमि बन्दछ । एक हुल एकात्मक राज्य सत्ताको वंशजी चाहाना यो माटोको खजना र ज्ञानलाई समाप्त पार्न हरदम तल्लिन छ । त्यसकारण हामी सबै याक्थुङ जाति अनि सम्बन्धित सरोकारवाला निकायहरुको समन्यय मिलेमतोमा येबा र येबा लाङ जस्ता सयौं सांस्कृतिक पक्षहरुलाई संरक्षण जगेर्नाको प्रयास गर्नु जरुरी छ ।

नेपालमा परिवर्तनका लागि विभिन्न समयमा आन्दोलनहरु भए । मुख्यत: ६२/६३ को आन्दोलनपछि देश र जनताले बहुल जाति, भाषा, धर्म, संस्कृतिको समान हकअधिकार, लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेको हो । मुलकमा जनताले आफै सरकार निर्माण गर्नेदेखि गाउँमै सरकार बन्न पुगेको छ । स्थानीय कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नु स्थानीय सरकारको पनि जिम्मेवारी हो । जसमध्ये एक हो ‘येबा र येबा लाङ’ । पछिल्लो समय येबा तथा येबा लाङ्हरु लोप हुने अवस्थामा पुगेका छन् । युवाहरुलाई यसप्रति उत्ति चासो बढेको देखिँदैन । यसको जगेर्ना गर्न ‘याक्थुङ समुदाय’ र सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरुसँगको समन्वयमा स्थानीय सरकारले विविध कार्यक्रम गर्न सक्दछ ।

येबा लाङ्लाई मनोरञ्जनात्मक मात्रै बनाउन मिल्दैन । राजनीतिक व्यक्तित्व तथा पर्यटकको उपस्थितिमा गाउँघरमा हुने गरेका मेला, महोत्सव जस्ता विविध कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्नेको रुपमा झाँकी प्रर्दशन गरी मनोरञ्जनको विषय बनाउनु उपयुक्त हुँदैन । येवा लाङ् याक्थुङ समुदायमा रितपूर्वक हुने भवितव्य बाहेकका मौसमनुसारको विविध अनुष्ठान नै एक आफैमा महत्वपूर्व महोत्सव हो । बरु यस्ता महोत्सवमा विशिष्ट व्यक्ति, पर्यटक, अध्ययन तथा अनुसन्धानकर्ताको उपस्थित रहनु पर्दछ ।
कार्यक्रमहरुमा झाँकी नृत्यको नाममा मनोरञ्जनका निम्ति जस्तो देखिने गरी येबा र येबा लाङ्लाई प्रस्तुत गराउनु उपयुक्त हुँदैन । येबाहरुको विभिन्न अनुष्ठान गराएबापत स्थानीय सरकार र सरोकारवालाहरुले येबाहरुलाई भत्ताको व्यवस्था गरिदिनु पर्छ । येबाहरुसँग भएका मुन्धुमलाई लिखत संकलनको अभियान अनिवार्य चलाउनु पर्दछ, र पछि गएर यसलाई संस्कृतिको रुपमा विकास गरेर लैजानु पर्दछ । येबाहरुभित्र रहेको संस्कृति र मुन्धुमहरुको बारेमा देश विदेशका विज्ञहरुलाई खोज अनुसन्धान गर्ने गराउनु पर्दछ ।

याक्थुङ समुदाय यस येबा तथा येबा लाङ्ले संस्कृतिका लागि पार्न सक्ने सकारात्मक प्रभाव र संभावित विकृतिको बारेमा याक्थुङ सचेत रहँदै याक्थुङ कला र संस्कृति सदैव जीवित रहनेछन् । देशको बहुमुल्य सम्पत्ति भनेकै देशभित्र रहेका विविध जातजातिहरुका मौलिक संस्कार संस्कृतिहरु भएको हुँदा सम्बन्धित समुदाय तथा स्थानीय सरकार संस्कृतिक आन्दोलन र संरक्षणमा लाग्न आवश्यक छ ।