म आफू पनि बेला बखत कवि भइ टोपल्ने हुनाले प्रायः मेरो संगत कवि, पत्रकार लेखकवृन्दसँग बाक्लै हुने गर्छ । ती १३ भाई कवि, पत्रकार साथीहरूसित भेट हुनासाथ छाप्रीको भट्टी पसल छिरेर आदर्शका बडेमान गफ चुट्न आतुर भइहालिन्छ, ऐजन..।
यो मल्टी मिडियाको बिज्ञापन होइन–
नेपाली फिल्मी जगतका एक कुशल निर्देशक नविन सुब्बा दाइसँगको भेटमा कहिल्यै यस्तो अनुत्पादक समय रहेन् ।
मिति २०८१/०२/२९, मंगलबारको बसाईमा चलचित्र निर्देशक नविन सु्ब्बा दाइको साथमा फ्रेन्ड्स सिनेमा हलमा “गाउँ आएको बाटो” उपर साक्षात्कार रह्यो । आम दर्शकले बुझे जस्तो सरल र सामान्य रहेनछ चलचित्र ‘गाउँ आएको बाटो’को चिन्तन र प्रस्तुति पक्ष । हुन त रोला बार्थले ‘अथरको मृत्यु’ भनेका छन् । यसो भनिरहँदा हाम्रो समाज हार्दिक श्रद्धाञ्जली दिन आतुर भइदिन्छ, तर यसको मकसद मृत्यु ‘मृत्यु’ नभएर कुनै सृजना दर्शक पाठकसम्म पुगेपछि आम पाठकको आफ्नो मगजअनुसारको बुझाइ रहन्छ अर्थात् बुझाइलाई स्वतन्त्र छाडिदिनु भन्ने हो ।
विश्व सिनेमा जगत ‘फाइभ डी’सम्म पुगिसकेको अवस्था छ । कमेडी या त एक्सन फिल्म रुचाउने हामी नेपाली दर्शककालाई ‘गाउँ आएको बाटो’को ‘हिडेन थिम’ बुझ्न निकै सकस हुन्छ । गाउँ आएको बाटो शीर्षक आफैले बोल्छ, बाटो आफैमा मुख्य पात्र भएर उभिएको छ । जहाँ घुमाउरो घुम्तिहरूले दर्शकलाई नेपाली संस्कृति र त्यहाँको स्थानीय जनजीवनमा पारेको प्रत्यक्ष प्रभावसँग साक्षात्कार गराउँछ । विषेशगरी किरात राई समुदायसँग जोडिएका विभिन्न मिथोलोजीको सफल चित्रण गरिएको छ, जस्तै ‘वृद्ध भए बाँसको फेदमा जानु’ भन्ने उक्ती तथा बिनायोसँग जोडीएको एक अभिन्न मिथ यसका उदाहरण हुन् ।
यस चलचित्रमा साँस्कृतिक मूल्य मान्यतामा आधारित अर्थपूर्ण रंग संयोजनलाईसमेत जोड दिइएको छ । चित्रालाई विस्थापित गर्न किन निलो रंगको त्रिपाल नै प्रयोग गरिएको छ ? आफन्तले विदेशबाट आउदा ल्याईदिएको उपहार ज्याकेट निलो रंग हुनु, यी सब संयोग या पूर्वयोजनाबाट पनि प्रकृति पूजक जाती÷समुदायलाई प्रकृतिसित कतै न कतै जोड्ने कोसिस गरिएको छ । कोकाकोलासित जोडिएको लेफ्ट राईट विश्व पुँजीवादी नीतिलाई पनि फिल्मले दर्शाउन खोजेको छ । वर्तमान विश्वलाई अमेरिकन साम्राज्यले लेफ्ट राईट गराईरहेको छ, भन्ने सुन्दर सांकेतिक बिम्व प्रस्ट छ । बिजुली बत्तीबिना बच्चा पढ्दिनँ भन्नु वर्तमान पुस्ता आधुनिक प्रविधिसँग कति निर्भर भएको छ भन्ने तथ्य पेश गरेको छ ।
साथै बालकलाकार बिन्द्रेले लगाएको चस्मा, पहेलो झारदेखि बाँसको पत्ता, कागज, क्यामराको रिलको नेगेटिव र कालो चस्मासम्म आईपुग्दा सम्पूर्ण रैथाने गाउँका संस्कारसंस्कृतिलाई कालो, धमिल्लो हुदै फेरिँदो सांस्कृतिक मनोविज्ञानप्रति चोटिलो व्यङ्ग्य गरिएको छ । किरात राई समुदायको साँस्कृतिक मान्यतामा तीन चुलाको महत्व र मान्यता बखान गरिनसक्नुको छ । गाउँ आएको बाटोभित्र लोक संगीतको धुनबाट फिल्म सुरूवात गरिएसँगै अन्त्यमा पाश्चात्य संगीतमा टुङ्गिनु गाउँमा बाटो आएसँगै स्थानीय लोकसंस्कृति तथा मौलिक संगीत पनि विश्व बजारको क्रेजमा फस्दै छ भन्ने सांकेतिक सूचना हो ।
बिसंगतीमाथि मीठो व्यङ्ग्य त छँदै छ, टिभी लिन गएको बाबा लामो समयसम्म घर नफर्कदा ‘काफल पाक्यो’ चरी कराएको मिथ र घर नजिक माली चरा कराउँदा नकरात्मक संकेत हो भन्ने पुरातन मान्यता÷बुझाईसित समाज कस्तरी जोडिएर बसेको छ भन्ने मान्यताको प्रस्तुतीकरण सम्झन लायक छ । सादा चित्रालाई बजारले बिस्थापन गरेपछि रंगिन फि फि बनाउने सोचमा अग्रसर हुनु समाज बहुरंगी छ भन्ने सांकेतिक चेतको सञ्चार गराउनु हो । यसलाई समयसापेक्ष यात्रामा अघि बढ्ने यत्नको रूपमा बुझ्न सकिन्छ । राई माइला रंगीन फि फि बुन्न किन बाध्य बन्छ ? एउटा चोयाबाट अर्कोमा खप्टीएर या मिलेर मात्र सिंगो चित्रा, फि फि या कुनै आकृति पूर्ण निर्माण हुन्छ सक्छ त्यस्तै हाम्रो समाज पनि विविधतालाई स्वीकारेर मात्रै सिंगो राष्ट्र निर्माण हुन्छ भन्ने कथनलाई अत्यन्तै प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । यहाँ सम्पूर्णता र सहअस्तित्वको जिकर गरिएको छ । स्थानीय उत्पादन सामाग्री या रक्सीलाई किन प्रश्रय नदिएर अन्तर्राष्ट्रिय ब्राण्डका रक्सीजन्य बस्तुको बढ्दो उपभोग र विज्ञापन छ ? राई माइला किन गाउँ छोड्न बाध्य भयो ?
गाउँमा आएको बाटोसँगै आफ्नो छोरी हराएको छ, तर किन कसरी भन्ने प्रश्नहरू उठेका छैन् । यद्यपि सिम्बोलिक फिल्मका लाईनबाट बुझ्नुपर्ने हुन्छ । गाउँ र सहर (धरान)बीचको रंगिन तुलनात्मक दृश्य अर्को रोचक पाटो छदैछ । यक्ष प्रश्न नगरेर नै प्रश्नमाथि प्रश्न, बहसमाथि बहस गर्ने ठाउँ प¥याप्त छ ।
यावत प्रश्नहरुका लेयरसहित चलचित्र ‘गाउँ आएको बाटो’ निकै उत्कृष्ट बनेको छ । हुन त गाउँ आएको बाटोमाथि अनेकन लेख÷कमेन्टहरू पढ्न पाईयो, तर गहिराइमा रहेर मनन पो गरेनौ की ? सस्तो बजार धाउने मनोकांक्षले भीडको पछि लागेर स्टन्ट घुमाइ रहँदा आफै खाल्डोमा परेको पत्तै हुन्न रे..। यतिसम्म त हो कि, सबैको चेतना फोहोर उठाउने समयको डम्पीङबिन्दुसम्म पुगेको छैन् हए ! सुतेकाहरूलाई झकझकाएर उठाउन सकिन्छ रे तर बौद्धिक चेतना बोकेर सुतेको झैं बन्नेहरूलाई मु्र्दाघरसम्म पु¥याउन चैं पर्छ – यो उत्तर आधुनिक समाजिक चेतले ।
यति बोलौँ; फिल्म काव्यात्मक छ, सिम्वोलिक छ, फिलसपिक छ, बौद्धिक छ, भद्दा छैन, मजाक छैन्, सेन्टिमेन्ट बेचिएको छैन्, आमदर्शक, पाठक, समाजशास्त्री, लेखक तथा समीक्षकहरूका लागि राम्रो खुराक छ । दृष्टिकोण आ–आफ्नो खप्पर अनुसार हुन्छ, बुझाई आ–आफ्नो हो । बस् यति भन्न चाहन्छु यदि ‘गाउँ आएको बाटो’ हेर्न छुटाउनुभयो भने राम्रो सिनेमा छुटाउनुहुनेछ । हेरेर निजी धारणा बनाउनु भएको भए पनि पुनः यस्तरी पनि मनन् गर्नु भए बेफाईदा हुन्न् । धन्यवाद।