June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

गाउँ आएको बाटोः सुप्तुलुङ सौन्दर्यशास्त्रको बहस

सुनिता राई
२०८१ जेष्ठ ३०

2.8K

किरात राईहरुको सुप्तुलुङ (तीन चुला)झैं मलाई चलचित्र ’गाउँ आएको बाटो’ तीनवटा कुराले खास लाग्यो । मलाई लाग्छ, यिनै कारणहरुले गर्दा नेपाली चलचित्रवृत्तमा एउटा उल्लेखनीय कामको रुपमा सधैं यस चलचित्रको चर्चा गरिनेछ ।

पहिलो, विकास विमर्श

बाटो अथवा सडक, विकासको मुख्य पूर्वाधारका बारेमा निम्नमाध्यमिक तहको ’सामाजिक अध्ययन’ विषयमै पढाइने कुरा हो । यसको अर्थ, गाउँको विकासका लागि यातायात, सडक एक अनिवार्य सर्त हो, अर्थात् बाटो आएपछि गाउँको विकास हुन्छ । आधुनिकीकरणको सिद्धान्तले भन्ने पनि यही हो । अनि नेपाल देशले अङ्गीकार गरेको पञ्चायतकालीन विकासदेखि हाल कायम ’समृद्ध नेपाल, सुखी नेपाली’ नारासम्म देखिएको अभ्यास यही नै हो ।

Advertisement

हो पनि, सडक बनेसँगै गाउँमा गाडी आउँछ, शहरसम्म सहजै पहुँच पुग्छ । भोजपुरबाट खोला तरेर, नौडाँडा काटेर, ठ्याक्कै दुईदिन हिंडेरमात्र पुगिने धरान शहर गाडीबाट एकैदिनमा पुग्न सकिन्छ । आफ्नो घरमा पालेको भाले, आफ्नो सीपले बनाएको फिपी शहरको बजारमा लगेर बेच्न सकिन्छ । बेच्न पाइन्छ, किनेर खान पनि पाइन्छ । अघिल्लो पुस्ताले कहिल्यै नदेखेका अनेक नयाँनयाँ चीज, वस्तुहरु देख्न उपभोग गर्न पाइन्छ । समग्रमा भन्नुपर्दा, बाटो आएपछि सबैको भलो नै हुन्छ ।

तर यो भाष्य पूर्णभने छैन । यसको अर्को पाटो बडो निर्दयी छ । जब गाउँमा बाटो आउँछ, यसले खानाको साथमा एक घुट्की पिऊँ लाग्ने कोकाकोला ल्याउँछ, हेरिरहूँ लाग्ने टिभी ल्याउँछ, हत्तपत्त नच्यातिने प्लास्टिकको पाल ल्याउँछ, प्लास्टिककै हलुङ्गा र टिकाउ भाँडाकुँडा ल्याउँछ । अनि पुस्तौंदेखि हाम्रा आमाहरुले जानेको, मर्चा हालेर जाँड बनाउने ज्ञान, आप्पाहरुले जानेको, बाँसको चित्रा, फिपी बनाउने सीप, आफ्नो खेतबारीमा धुलोमुलोमा काम गर्ने मिहिनेत अर्थहीन हुँदै जान्छन् । गाउँको उत्पादन गाडी चढेर शहर त पुग्छ, तर के बहुराष्ट्रिय कम्पनीका अधिक उत्पादनहरुको सामु त्यसले प्रतिस्पर्धा गर्नसक्छ ? अनि विस्तारै आफू पनि बजारको सामु घुँडा टेक्नुपर्ने अवस्था सृजना हुन्छ, मौलिक उत्पादन प्रणाली र संस्कृति क्षय हुँदै जान्छन् । व्यक्तिहरु विस्तारै उपभोक्तावादी बन्दै जान्छन्, जसले उनीहरुलाई पूर्णतया परनिर्भर र खोक्रो बनाउँदै लैजान्छ । चलचित्र ’गाउँ आएको बाटो’ले देखाउन खोजेको र निर्भरता सिद्धान्तले भन्ने पनि यही हो । आफ्नो जीवनशैली अर्थहीन हुँदै गएको परिप्रेक्ष्यमा एकजना जब्बर, जिद्दी गाउँलेले गर्ने संघर्षको कथा हो यो चलचित्र ।

यस अर्थमा यो चलचित्रले हाम्रो विकासको अवधारणालाई दह्रो गरी प्रश्न गर्छ, राज्यलाई ऐना देखाउने काम गर्छभने हामी हरेकलाई आफ्नो कार्यशैलीप्रति प्रश्न गर्न घच्घच्याउँछ । चलचित्रले विकासको अवधारणामाथि एउटा महत्त्वपूर्ण विमर्शको सुरुवात गरेको छ ।

दोश्रो, निक्खुर नेपाली कथा

यो नेपालको मौलिक कथा हो, नेपाली माटोको कथा हो । एउटा सामान्य गाउँले राई परिवार, जसमा छन् राई माइला, माइली र छोरा बिन्द्रे । यो यति सामान्य परिवार होकि, ’यस्ता मान्छेहरुको कथामा पनि चलचित्र बन्छ र ?’ जस्तो लाग्नसक्छ । नेपालमा हिजोसम्म बनिरहेका अधिकांश फिल्ममा यस्ता कथा, यस्ता पात्रले कहिल्यै सम्मानित ठाउँ पाएनन् । तर, यस चलचित्रमा एउटा गाउँको बान्तवा राई परिवारको दिनचर्या, पारिवारिक सम्बन्ध, मुन्धुममा आधारित मौलिक परम्परा, संस्कृति, आदिलाई मिहिन ढंगले देखाइएको छ । यो चलचित्र शहरीकरण, आधुनिकीकरण तथा आन्तरिक र विश्व औपनिवेशिक अतिक्रमणले विस्तारै नासिंदै गइरहेको किराती संस्कृतिको एक महत्वपूर्ण दस्तावेज पनि हो । सिधा भन्नुपर्दा, राईहरुका लागि त यो आफ्नै घरभित्रको कथा हो । अरु समुदायका लागि चाहिँ यो राई समुदायलाई बुझ्ने एउटा राम्रो अवसर हो । समानता र समतामा विश्वास गर्नेहरुका लागि यो आफ्नो कथा हो । यो चलचित्र त नेपाली समाजलाई नियाल्ने एउटा आँखीझ्याल पो हो ।

तेश्रो, सुन्दर कलासाहित्य

चलचित्र ’गाउँ आएको बाटो’ एउटा सुन्दर कलासाहित्य हो । यसभित्र बुवाछोराको प्रेमकथा छ । भनौं, आमाबुवाको आफ्नो सन्तानप्रतिको अनन्त प्रेमको कथा छ । कोरियाको चलचित्र ’मिराकल इन सेल नम्बर सेवेन’मा देखाइएको बुवाछोरीको प्रेमले नछोएको कसलाई होला ? त्यही मात्रामा संवेगात्मक नभए पनि बिन्द्रे र राई माइलाको आत्मीय सम्बन्धले सबैलाई छुन्छ । हरेक दर्शनले आफूलाई केही बिन्द्रेमा, केही राई माइलामा, केही माइलीमा पक्कै पाउनेछ । माइलाले प्रयोग गरेकोजस्तो गन्जी मेरो आप्पाको पनि थियो (अहिले त फाटिसक्यो होला) । अनि त्यस्तै एकान्तिक पलहरु पनि थिए, छन् । घाँसदाउरा, मेलापातमा जाँदा, मलाई पनि आप्पाले सम्झाउनुहुन्थ्यो, यस्तो गर्नू, उस्तो नगर्नू भनेर । आफूले रिसाएर गाली गर्नुको कारण यस्तो थियो भनेर बुझाउनुहुन्थ्यो । अनि आमाले हाम्रो लागि कति दुःख गर्नुहुँदैछ भन्ने सुनाउनुहुन्थ्यो । ती पलहरुले मेरा लागि सधैं अगाडि बढ्ने प्रेरणास्रोतका रुपमा काम गरेका थिए, छन् ।

प्रेम वैश्विक भाषा हो र यही भाषाको प्रयोग गर्दै (बुवा र छोराको भावनात्मक सम्बन्धमार्फत) चलचित्रको मूलकथालाई उजागर गर्न खोजिएको छ । राई माइलालाई आफ्नो छोराप्रतिको निःसर्त प्रेमले नै हो, शहरबजार भौतारिंदै हिंड्ने प्रेरणा दिने, अनि बिन्द्रेलाई आफ्नो पापाकै सम्झनाले दुखान्तमा पुर्याउने । राई माइली चाहिँ यी दुईलाई जोड्ने साँघुजस्तै हुन् ।

चलचित्रमा यथेष्ट बिम्ब छन् । किराती जीवन, आस्था, विचार, सौन्दर्य देखाउने भरपुर प्रयास भएको छ । अभिनयको कुरा गर्नै परेन, दयाहाङ र पशुपति राईले पहिलोपल्ट हुनुपर्छ, आफ्नै कथामा काम गर्ने अवसर पाएको, किन सलल नबग्ने ! प्रसन राई बिन्द्रेको रुपमा चाहिँ अनपेक्षित उपहारजस्तै हो । यति राम्रो अभिनय छकि, शीर्षकलाकारहरुलाई नै बिर्साइदिन्छ । चलचित्र पारखीहरुका लागि यो चलचित्र हेर्नु एउटा मीठो अनुभव साबित हुनेछ ।

सुप्तुलुङ सौन्दर्यशास्त्रको बहस छेड्ने चलचित्र ’गाउँ आएको बाटो’ एउटा हेर्नैपर्ने चलचित्रको रुपमा सिफारिस गर्न सकिनेछ ।