काठमाडौ । रियालिटी सो ‘कमेडी च्याम्पियन–२’ को उपाधि भरतमणि पौडेलले जितेका छन् । उपाधिसँगै पौडेलले कार र २५ लाख नगद पाएका छन् ।
प्रतिस्पर्धी विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन् । दोस्रो बनेका विक्की अग्रवालले मोटरसाइकल र तेस्रो बनेका सन्तोष थापाले स्कुटर प्राप्त गरेका छन् ।
ताप्लेजुङवासी पौडेल रेडियो तमोरमा ’टेन्सन–फ्री’ कार्यक्रम चलाउँथे । यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका थिए । उनले चलचित्र ‘घरजम’ र भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन् । कमेडी च्याम्पियन–२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए ।
यसअघि ७ पटकसम्म ’पर्फमर अफ द शो’ बनेका उनले गोकुल बास्कोटा, पारस शाह लगायतको क्यारिकेचर गरेका थिए ।
भरतमणिजस्तै दोस्रो बनेका विक्की पनि अनुभवी कलाकार हुन्। उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन् । कमेडी च्याम्पियन नबने पनि विक्कीले धेरैको मन जितेर फर्केका छन् ।
त्यसैगरी तेस्रो बनेका गोरखाका सन्तोष थापा नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँडेका थिए तर कमेडियन बने । कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन् ।
अरूको देखेर सिक्न सक्ने उनले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरे । उनको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै गए । उनको क्षमता देखेरै दर्शकले पनि माया दिएर भोट गरे ।