January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

नाटक ‘मेषी दण्ड’ आदिम खुराक

वसन्त बायुङ राई
२०८१ श्रावण १७

2.3K

नाटक ‘मेषी दण्ड’ चुलाको पूजाबाटै गजब सुरुवात देखिन्छ । सुरुमै चुलाको पूजा किन त ? नाटक हेरिसकेका र हेर्न पुग्नु हुने दर्शकश्रोतालाई थाहा नहुन सक्छ । यद्यपी मैले नाटक हेरेपछि बुझेको र थाहा पाएको मिथकताको चर्चा गरौँ ।

तीन चुला भनेको प्राचीन आदिवासी किरातीहरूको जीवन–दर्शन समेटिएको देउतालुङ हो । जहाँ घरभित्र तीनढुङ्गा गाडिएको हुन्छ । समग्रमा चुला भनिन्छ । किरातीहरूको चुला नै किन देउतालुङ भनियो त भने, देउताहरू बस्ने पुनीत ठाउँ जस्तै हुन्छ चुलाक्षेत्र । जहाँ मुन्दुमले पुकारिएर शक्तिको रुपमा मानिएको हुन्छ । त्यो चुला अरु जातले छुनु पनि हुँदैन र पकाउनु पनि हुँदैन भन्ने मान्यता रहिआएको छ ।

नाटकमा पात्र कान्छाले सुजम्बर तालुकको घरमा बाख्रा पुराउँछ । सुजम्बर, बाख्रा पाल्न हुने तर खान नहुने श्रीमतीसँग कुरा गर्छ । यद्यपी श्रीमतीले बाख्रासँगको सम्बन्ध आफ्नो घरसँग नहुने कुरा गर्छिन् । किनभने घरभित्रको पुनीत तीन चुलाको अस्तित्व शक्ति लुप्त हुने र चुलाबाट मागेको शक्ति प्राप्त नहुने किराती मुन्दुममा जनविश्वास छ । त्यस्तै नाटकमा हेर्दा पनि थाहा हुन्छ, आदिवासी खालिङ किराती समुदायहरूले डोरीको माध्यामबाट दुधकोशी र ठूल्ठूला नदीतटहरू पार गर्नु पर्ने देखिन्छ । साथै धामीझाँक्रीको मन्त्र ‘सेलेमी मुक्तिमी’ जस्ता शब्दहरू पनि सुन्न सकिन्छ । ति र त्यस्तै यावत गतिविधिबाट कुनै पनि अप्रिय घटना नघटोस भनेर पनि चुलाको पूजा अनिवार्य हुन्छ ।

Advertisement

उधौलीको याममा श्री ३ को घोडामा सवार हुन्छ । ऊ निकै बहादुर र विद्रोह देखिन्छ । आफ्नै भाषा, आफ्नै संस्कार, संस्कृतिले बाचिरहेका समुदायमाथि श्री ३ ले आफ्नो एकाधिकार लदाउछ । जहाँ भाषाको कारणले दण्ड भोगाइन्छ । त्यस्तै खस नेपाली भाषा सिकाईको अप्ठ्यारोमा किर्की सरको साँस्कृतिक प्रदर्शन विधि उत्तिकै सान्दार देखिन्छ । नाटकमा आदिवासी समुदायको कठिनता मात्र होइन, मानव जीवनसँग जोडिएको खेतिपाती अध्याय कम्ता रोचक छैन । सँगै मुन्दुमीवद्ध पनि देखिन्छ । साथसाथै सौहार्दपूर्ण विवाह संस्कार र अन्तरजातिय प्रेमले भावाकुल बनाउछ । र अन्त्यमा मृत्युको बाटो पनि अति नै शोकमय देखिन्छ । जहाँ अस्वाभिक मृत्युआत्मालाई देवलोक पुराउन सेलेमी(धामी)लेसम्म पुनः शक्ति प्राप्तिको कठिनतासम्म नाटकले कथा बोकेको देखिन्छ ।