November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गाउँ आएको बाटोः रैथाने सकसको कथा

बिना थिङ
२०८१ जेष्ठ २८

4.6K

सिनेमाका पारखी दुई प्रकारका हुन्छन्ः
१. हाहाहुहु, फाइट, हिरोइजम् र रोमान्टिक दृश्यले भरिएको सिनेमा मात्र हेर्न रुचाउने ।
२. कलाचेत भएको, विषयवस्तुको गहिराई र प्रस्तुति बुझ्ने, छायाङ्कन र कलाकारको जीवन्त अभिनय महसुस गर्ने (साइलेन्ट मुभी) मनपराउने ।

तपाईँ पहिलो क्याटेगोरीमा पर्नुहुन्छभने यो सिनेमा तपाईँलाई अपुरो, झुर लाग्नसक्छ । तपाईँ दोस्रो क्याटगोरीमा पर्नुहुन्छ भने यसले तपाईँलाई स्वाद दिन्छ । दोस्रो नम्बरको लागि सिफारिससहित मेरो अनुभूति यहाँ प्रस्तुत गरेँ ।

आमा भन्नुहुन्थ्यो, ‘तेरो हजुरबा हामीलाई दिनभरी निगालो काट्न, ओसार्न र चोया ताछ्न लाउनुहुन्थ्यो । हामीले तयार पारेको चोयाको सीपले घुम बुन्नुहुन्थ्यो र डेढ दिनको बाटो हिँडेर याम्बु (काठमाडौं) मा प्रति गोटा रु. २ मा बिक्री गर्नुहुन्थ्यो । घर फर्किदाँ उहाँसँग नून, तेल, मरमसला, पुष्टकारी र ऐंठे हुन्थ्यो । त्यसको स्वादले यसरी तान्थ्यो, हामी पुनः पुनः घुम बुन्ने निगालो काट्न र चोया ताछ्न तयार हुन्थ्यौँ ।’

Advertisement

लगभग पचास पच्पन्न वर्षअघि नुवाकोटको जिमनाङ गाउँको परिस्थिति थियो त्यो । त्यतिखेर रैथाने श्रम, सीप बिक्थ्यो । तर त्यो श्रमसीप बिक्न डेढदिन पैदल हिँड्नुपर्थ्यो। त्यसले समय र लागत दुवैमा भार बढेको थियो । नुवाकोटका मान्छेहरु कल्पिन्थे ‘गाउँसम्मै बाटो ल्याउन पाए ? बाजे कल्पनुहुन्थ्यो, ’याम्बुकोजस्तो बाटो गाउँसम्म आइपुगे कति जाति हुन्थ्यो ।’

यो कल्पना नाजायज थिएन । मान्छे नै यस्तो प्राणी हो जो बाँचिरहेको जीवनभन्दा अझ परिस्कृत जीवन जिउन पाए हुन्थ्यो भनेर अनेकन् परीक्षण, आविस्कार गरिरहन्छ । नेपाली समाजमा यसको ज्वलन्त उदाहरण हो, लाहुरे संस्कृति । जीवन सहज, परिस्कृत बनाउँनै लाहुर जाने, लाहुरबाट फर्किदाँ विदेशी सामग्री (कलात्मक माटाका भाँडा, प्रेसर कुकुर, हङकङे लुङ्गी, टिनका ट्याङ्का, रेडियो लगायत) ल्याउने चलन चलेकै हो । त्यो पनि हप्तौँ पैदल, घोडा खच्चड, भरिया लगाएर भित्र्याइन्थ्यो । यही जीवनपद्धतिअनुसार बाटो बनेदेखि गाउँका रैथाने उत्पादन बजारमा बिक्री गर्ने, अस्पताल उपचारमा शीघ्र पहुँच हुनेदेखि सामान्य जीवनयापन सहज ढङ्गबाट बाँच्न पाउने लोभ गाउँलाई थियो । ग्रामीण जीवनको पहिलो सर्त रोजाइ) बाटो नै थियो । बाजेको पालामा त होइन, बाको पालामा गाउँगाउँमा बुलडोजर चल्यो, सडक बन्यो । त्यही सडकसँगै विकास पस्यो र विकासको नाउँमा पूँजीवाद पस्यो । जसरी हरेक चीज, सिद्धान्त, पद्धतिको सकारात्मक र नकारात्मक पाटो हुन्छ, त्यसरी नै गाउँगाउँमा बाटो खुल्नुले आशा, सम्भावना र पहुँचका साथै उपभोक्तावाद भित्रियो । यसले मान्छेले देख्ने सपनाको क्षितिज फराकिलो पारिदियो, बढाइदियो । पहिले एउटा चिटिक्कको घर, सन्तान, शिक्षा, स्वास्थ्य मान्छेको सपनामा अटाउँथ्योभने बाटोसँगै आएको बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको पहुँचले मान्छेहरुका अपेक्षाको पहाड अग्ल्याइदियो । फलतः हिजो जुन प्राप्तिको लागि मान्छेको लडाइँ थियो, आज त्यसको स्वरुप बदलिएको छ । अहिले गाउँ मकै भटमास होइन, खाजा र तरकारीधरी चाउचाउमा भर पर्न थालेको छ । स्थानीय सीप, जडिबुटीको प्रयोगबाट बनाइने मर्चाको प्रयोग भएको पेयपदार्थ (जाँड, रक्सी)को सट्टा कोकाकोला, बियर, भोड्कालगायतका बजारको पेय पदार्थमा निर्भर हुन थालेको छ । घरघरमा चोयाको मान्द्रोको सट्टा प्लाष्टिकका उत्पादनहरु त्रिपाल, मेच, नाङ्लो प्रयोग हुन थाल्यो । यसले स्थानीय ज्ञान सीप भएकाहरु बेरोजगार हुँदै गएको सत्य हो । यसले ल्याएको संकटको कथा नै नवीन सुब्बाको ‘गाउँ आएको बाटो’को मूल मर्म हो ।

यो सिनेमा हेरिरहँदा फूलमान बलको एउटा कविता (२०७८ जेठ २९ कान्तिपुर कोशेलीमा प्रकाशित) याद आयो ।

’गाउँ फर्केको मान्छे’

वर्षौंपछि–
यादहरुको बिस्कुन टिप्दै
गाउँ फर्केको छु म
र, यतिबेला
याङफेल लेकमा उभिएर
सोचमग्न–सोचमग्न
टोलाइरहेछु
बोकेर झोलाभरि कटमिरो सपना
तिर्खाहरुको क्षितिज चुम्न
समयको हात्तीछाप चप्पल पड्काउँदै कुनै दिन
यही बाटो सहर पसेको म,
गाउँ फर्किनै पो ढिलो गरेछु

म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ
–कोकाकोला,
–डिउका हरिया बोतल
–र, तयारी चाउचाउ
समृद्धिको सप्तरंगी घोडा चढेर,
बादलपारि हराइजाने प्रवासी यादहरुमा अचेल
दिउँसै रक्सी पिउँदोरहेछ मेरो गाउँ
मनी ट्रान्सफरका बुथहरुमा लाइन लागेर,
ढुन्मुनिँदै साँझपख
घर फर्किँदो रहेछ मेरो गाउँ ।

हो, म त ढिलै फर्केछु गाउँमा
म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ सिंहदरबार
सिंहदरबारसँगै
गाउँ पसिसकेको रहेछ
–बहुराष्ट्रिय कम्पनी र ठेकेदार
–जेसीभी, डोजर र जग्गा दलाल
सबभन्दा ठूलो कुरो त
म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ ‘विकास’
विकास नै पसेपछि–
किन चाहियो र चराहरुले बाँसुरी बजाउने नाथे जंगल ?
किन चाहियो र मायालु बतास डुल्ने हरिया डाँडाकाँडा ?
धपाउँदै आली, सुर्कां र गराहरुबाट गीतजस्ता गौंथलीहरु
बनिसकेछ चारैतिर धूलाम्य मैदान
ठडिएछन् सबैतिर– करङजस्ता मल्टिनेसनल हाउजिङ

वर्षौंपछि–
यादहरुको बिस्कुन टिप्दै
गाउँ फर्केको छु म
र, यतिबेला
याङफेल लेकमा उभिएर
सोचमग्न–सोचमग्न टोलाइरहेछु

साँच्चि,
मैले गाउँ छोड्ने बेला
‘छिट्टै फर्की आऊ है’ भन्दै
क्षितिजभरि पर्खाइको जेसुम नजर बिछ्याइबस्ने
ती सज्जन गाउँलेहरु
चराहरुले झैं गुँड छाडेर
कता बसाइँ सरेछन् हँ ?

उनले भनेजस्तै विकास र समृद्धिले कसलाई कति प्रभावित पार्यो ? को को रैथाने ज्ञान सीप गुमाएर मुग्लान पसे ? राज्य आफूले खेल्नुपर्ने भूमिकाबाट कसरी च्युत भयो ? प्रश्नको उत्तर हो, चलचित्र ‘गाउँ आएको बाटो ।’ यतिको मौलिक स्वाद, जीवन्त अभिनयको सिनेमा हेर्न कतै तपाईँ छुट्नु त भएन ? सिफारिस गरेँ ।