November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘हो, सबै फूल देउतालाई चलाउनुपर्छ’

देवेन्द्र खापुङ सुर्केली
२०८० जेष्ठ २६

17.2K

सन् २०१२ मा बनेको एउटा अङ्ग्रेजी चलचित्र छ –द इम्पोसिबल । सन् २००४ मा थाइल्याण्डमा सुनामी जाँदा एउटा परिवारलाई छताछुल्ल बनाएको कथामा आधारित छ यस चलचित्र । त्यतिका धेरै मानिसहरूको मृत्यु हुँदा, हराउँदा पनि सपरिवार भेटिएको सुयोगान्त चलचित्र द इम्पोसिबल सत्यकथामा आधारित हो ।

सन् २०१५ मा नेपालमा महाभुकम्प गयो । गोर्खाको वारपाक आसपासलाई केन्द्र बनाएर गएको महाभुकम्पले काठमाडौमा धेरै क्षति पुर्‍यायो भने पूर्वमा दोलखा, रामेछाप, ओखलढुंगामा पनि केही क्षति पुर्‍याएको थियो । महाभुकम्पले गोर्खादेखि नजिक रहेको धादिङस्थीत रुबिभ्यालीमा असर नपुर्‍याउने कुरै भएन । त्यही रुबिभ्यालीमा रहेका एउटा परिवारलाई भुकम्पले छताछुल्ल बनाएको कथामा आधारित नीरफूल अहिले चलचित्रघरहरूमा चलिरहेको छ । द इम्पोसिबलका कथा र पात्रको कथा सत्य हो भने नीरफूलको कथा सत्य घट्नालाई कथामा बाँधेर बनाइएको चलचित्र हो ।

लेख्न यसरी शुरु गरिएपनि द इम्पोसिबल र नीरफूललाई दाँज्न खोजिएको भने होइन । छिनभरको घटनाले परिवारमा ल्याउने विपत्तिलाई उतारिएको विम्ब एकै हुन् भन्न खोजिएको मात्र हो । घटनापछि मानिसले पाउने दुःख, हैरानी, बुझाई एकै हुन्छन् तर परिवेशले धेरैभन्दा धेरै फरक बनाएको छ ।

Advertisement

नीरफूल नेपाली कथा, नेपाली परिवेशमा आधारित छ । भगवानलाई चढाउन नमिल्ने नीर रङ्गको फूलको विम्बमा रहेको चलचित्रको कथा हो नीरफूल । धादिङको पाङसाङ गाउँमा भेडीगोठ स्याहार्दै सुन्दर परिवार चलाएका एक सुखी परिवार छ चलचित्रमा । कथाभित्र श्रीमानलाई छोरी पढाउने रहर छ भने श्रीमतीलाई श्रीमान विदेश गई स्याफ्रुमा घर बनाउने सपनाको उपकथा छ । ति दुवै उपकथाको सपनालाई साकार पार्नसक्ने सामर्थ्य वैदेशिक रोजगारसँग छ भन्ने कुरा आज पनि नेपाली युवाले सोचेका छन् ।

श्रीमान विदेश हुनु, घरमा भुकम्पले घर भत्काएर छोरी घाइते भई उपचारको लागि आमालाई थाहै नदिई हेलीकोप्टरमार्फत काठमाडौँ पुर्‍याइनु, भाषाको कारण अलपत्र पर्नु चलचित्रका निकै दर्दनाक दृश्य हुन् । ती दृश्य साच्चिकै सत्य घटनामा आधारित हुन्, किनभने यस पंक्तिकारले महाभुकम्प जाँदा प्रत्यक्षभोगी बन्न पाएको थियो । भैसेपाटीको एक भाडाको घरमा बस्दा भुकम्प गएको थियो । पिल्लरबिनाको घर भएपनि छेउछाउको बलियो भएकोले होला पिङ मच्चाएझैँ हल्लाएपनि भत्कन चाही भत्केन । त्यसपछि बाराम्बार गएको पराकम्पको भुक्तभोगी बन्यो ।

भूकम्पले हल्लाएर धुलाम्मे बनाएको काठमाडौंमा धेरैले धमिलो पानीको माछा मारे । बेसाहारा युवती बलात्कृत हुन पुगे, अलपत्र भएका बालबालिका बेचिइन खोजे । राहतको नाममा नेताहरूले आफ्नो बिग्रिएको भोटलाई सपार्ने काम गरे । त्यसको आडमा सत्तामा प्रभुत्व जमाउन सफल भए ।

भुकम्पपश्चातको दृश्यले देशविदेशमा रहेका नेपालीहरूको मन पग्लियो । आफ्नो गाँस काटेर पठाएका राहत लिएर यस पंक्तिकार नुवाकोटको धेरै गाउँ, रसुवाको पुरै बस्ती, धादिङको केही ठाउँ, गोर्खाको वारपाक, लाप्राक, गुम्दा, रामेछापको चुचुरेमा बाँडेको थियो । स्याफ्रुवेशीको स्कुल भत्किएर पालहरूमा कक्षा बनाई विद्यार्थीलाई पढाइएको दृश्य कारुणिक थियो । विदेशमा रहेकाले पठाएका राहत लिएर पुग्दा नेताहरू सहभागी भएर जस लिन खोजको दृश्य आँखैमा नाचेका थिए, ति चलचित्रका कथामा पनि सरर बगे ।

बाटा अप्ठ्यारा अवश्य छन् । तर पाङसाङ (रुबीभ्याली) र याम्बु (काठमाडौँ)को दुरी त्यति टाढा होइन । त्यही बाटो अप्ठ्यारो भएकै कारण भाषा पनि अप्ठ्यारो भएको छ । पाङसाङले नेपाली भाषा बुझ्दैन, काठमाडौँले तामाङ भाषा बुझ्दैन । नबुझिएको भाषामाथि राज्यले अनविज्ञता देखाएको छ । राजनीति गरेको छ । दमन गरेको छ । छोरी खोज्न आएकी आमालाई सहयोग गर्ने नाममा गलत फाइदा उठाउन खोजेको दृश्य होस् या छोरीचेलीमाथि कुदृष्टि राख्ने श्रीमानले कसैलाई सहयोग गर्न खोज्दा सौताको व्यावहार गर्ने दृश्य नेपाली समाजका प्रतिविम्ब नै हुन् ।

चलचित्रको शुरुमै तामाङको संवादबाट शुरु हुन्छ । दर्शकहरूमा खासखुस शुरु हुन्छ –’ओहो ! तामाङ भाषाको फिल्म पो हेर्न आइएछ । कसरी बुझ्नु ?’ नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भनेर स्वीकारेको छ । तर शासकको आँखामा ती कुरालाई एउटा शब्दको रूपमा लिएको छ । व्यावहारिक पाटोबाट हेरेको छैन । तसर्थ भाषाको कारण कैयौं बालबालिकाले दुव्र्यव्यहार भोगेका छन् । मानिसहरू लुटिएका छन् । र, एकै विम्बको द इम्पोसिबलले घट्नालाई मात्र टिप्छ भने नीरफूलहरूले पीडा, दमन, विभेदका आवाजहरू उठाउनुपर्ने अवस्था आउँछ । रुबी भ्यालीमात्रै चिन्ने काठमाडौंलाई “तपाईहरूले पाङसाङलाई रुबी भ्याली बनाइदिनुभयो” भन्ने संवादले अहिले चलिरहेको पहिचानको आन्दोलनको गहिराई पनि बुझाइदिन्छ ।

सांस्कृतिक पाटोबाट हेर्दा पनि यस चलचित्रलाई वर्णन गरिनसक्नुको स्वाद पस्किएको छ । जोखाना हेर्न झरेका बोन्वो (धामी), विनायोको धुनबाट आफ्नो सम्झने, ढुंगामाथि ढुंगा राखेर चुली बनाउने, त्यो नढल्दा सम्बन्ध दरिलो रहने विश्वास, खोला तर्दा पाती चढाउने कति मार्मिक र मौलिक संस्कृति हामीमा जीवित छन् प्रष्ट हुन्छ । हिमाली पाखाहरूमा भेडीखर्कको लोभलाग्दो दृश्यमा अल्झिरको आँखालाई गुगल गर्दा देखिने सुन्दर दृश्यहरू चलचित्रमा नसमेटिदा भने खल्लो लाग्छ ।

पृथ्वीनारायण शाहको दिव्योपदेशमा नेपाललाई सबैको जातको फूलबारी भने । तर, मालीहरूले सबै फूललाई फुलाउन चाहेको देखिदैन । सबै फूल फुलै हुन् भन्न सकेको छैन । त्यही विभेदको अंश हो ‘नीरफूल’ भगवानमा चढ्न सक्दैन भन्ने । चलचित्रको अन्त्यमा नीरफूल नै चढाएर अबदेखि सबै फूल देउतालाई चढाउनुपर्छ भन्ने सन्देश सबै फूलहरूको अस्तित्व छ भन्ने प्रतिक हो ।

अन्त्यमा, दुई दशकअघि यस पंक्तिकार साँझपख बागबजारको सडकपेटीबाट आफ्नो निवास बिजुलीबजारतर्फ आउँदै गर्दा शायद बाटो भुलेर अल्मलिएकी बुढी तामाङनी आमैले सेलो गाएर विलौना गरेको दृश्य नीरफूल चलचित्रमा आमाले छोरी खोज्दै याम्बुको सडकबिचमा सेलोबाटै विलौना पोखेको आँखैमा नाचिरहे ।