उपेन्द्र सुब्बाको फिल्म ‘जारी’ हेर्ने अवसर जुर्यो, अस्ट्रेलियाको पर्थमा । फिल्म मलाई धेरै राम्रो लाग्यो । कारण यो प्रेमको कथा हो र मलाई न्यायको कवितामय भाषा बोल्ने प्रेम कथा निकै मन पर्छन् । फिल्मको शीर्षक ‘जारी’ले दर्शकलाई झुक्याउन् सक्छ कतै यो नेपाली समाजको जारी प्रथाबारे विशेष अध्ययन त होइन ? तर होइन, यो त परिवारको माने, पति–पत्नी बीचको अगाध प्रेम र अटूट सम्बन्धको कथा हो । सम्बन्ध विच्छेदबाट सुरु भएको फिल्म ‘जारी’मा कथा खासै छैन किनकी पुनर्मिलनमा टुङ्गिन्छ । तर, लामो पटकथाको आशय लिम्बु समुदायको समाज, रिति रिवाज र प्रथाबारे चर्चा गर्नु पनि हो । र, यो स्वाभाविक छ साथै सुन्दर छ । यी सबैको मिश्रणले ‘जारी’ फिल्म दर्शकहरूका लागि मनोरञ्जन र अध्ययनका लागि सुन्दर फिल्म बनेको छ ।
लिम्बू समाजको कविताको उपस्थिति छ । प्राकृतिक सुन्दरतालाई परिभाषित गर्ने पहाड, हिमाल, सूर्योदय, सूर्यास्तका दृश्यहरू त छदै छन् पहाडी भेगका नदि नाला, खोल्सा, पानी पधेरो सबै छन् । आज पनि त्यहाँका मान्छे ढिकी र जाँतो युगमा बाँची रहे छन् वा उपेन्द्रको कथा ढिकी र जाँतो युगको कथा हो । यो दर्शकको बुझाइमा छोड्नु पर्छ । मलाई लागेको यस फिल्मले हाम्रो नेपाली संस्कृतिको सौन्दर्य प्रस्तुत गरिरहेछ ।
प्रेमबारे बहस, प्रतिक्रिया, प्रेमको सिद्धान्त, आदि चाख लाग्दा विषय त हुन् नै । केही दिन अघि गायिका समीक्षा अधिकारीले प्रकाश सुवेदीको अन्तर्वार्तामा भनिन –‘मलाई उसको अझै माया लाग्छ ।’ उनले धोका पाइन्, निकै बदनाम भइन र अझै उनको आलोचना हुन्छ तर पनि आफ्नो प्रेमबारे भन्छिन् – ‘म उसलाई अझै माया गर्छु ।’ प्रेम आफैमा अवोध हुन्छ प्रेम निर्दोष हुन्छ । दोष व्यक्तिको हुन्छ, समाजको हुन्छ वा रूढिवादी प्रथाको हुन्छ ।
अलिकति समझको पनि फरक हुन्छ । मेरो कथा सङ्ग्रह ‘व्रत्भंग’को प्रतिक्रियामा कतिपयले भन्नु भयो – एलबी क्षेत्री यौनकथा लेख्छन् । गलत हो यो । म यौनको होइन प्रेम वा सम्बन्धको कथा लेख्छु । यौन मनोविज्ञानका पनि केही कथा छन् तर यौनका छैनन् । प्रेम र यौनमा फरक हुन्छ । मेरा कथाले भन्छन् ।
जारी फिल्ममा एउटा दृश्य छ –नायक दयाहाङ राई नायिका मिरुनाको छातीमा टाउको राखेर पश्चतापका आँसु रुन्छन् । केही वर्षअघि कोहलपुरमा महानन्द ढकाल सरको एउटा अन्तर्वार्तामा मैले भनेको थिएँ –‘मेरो मान्यता अनुसार पुरुष एउटा कमजोर प्राणी हो । महिलाले उसलाई संरक्षण दिनु पर्छ ।’ यो मैले मात्र भनेको होइन । ‘क्यान्डीडा’ नाटकमा जोर्ज बर्नार्ड शाकी महिला पात्रले पति र प्रेमी बीच रोज्नु पर्दा ‘म कमजोरलाई रोज्छु’ भनेकी छन् र पतिलाई रोज्छिन् । जारी फिल्ममा पति पात्र पुरुषलाई निकै कमजोर देखाइएको छ । पुरुष कमजोर मात्र होइन आमा र पत्नी (अर्थात महिला)को अभावमा परिवार कसरी अपूर्ण बन्न पुग्छ सोध गरिएको छ । अनि प्रेम ? प्रेमलाई शक्तिको रूपमा व्याख्या गरिएको छ । जब नायक नायिकाको छातीमा आफ्नो टाउको राखेर रुन्छ वास्तवमा उसले आफ्नी आमाको छातीमा टाउको राखेर पश्चाताप गरेको हो । आमा र पत्नी दुवै महिला हुन् । दुवैको प्रेम–छहारीमा पुरुषले आफूलाई सुरक्षित पाउँछ र अभावमा आफूलाई असुरक्षित देख्छ । यसरी नारी पुरुष भन्दा शक्तिशाली प्रमाणित हुन्छन् । नायिकालाई भगाएर लाने पाहुना कलाकार फिल्मको अन्तिम दृश्यमा देखा पर्छन् तर चुपचाप जान्छ । उसले प्रेमको शक्ति बुझेर गएको हुनु पर्छ ।

अब अलिकति स्क्रिप्ट र अभिनयको कुरा गरौँ । फिल्मको पहिलो भाग अलिक तीब्र छ । दोस्रो भागले लय लिएको छ । तर कथासँग अन्याय भएको छैन किनकी ‘जारी’को आरम्भ नै छोडपत्रबाट छ । अनि पो कथाले फिल्मको पहिलो भागको अन्तिम तिरबाट सुरु भएर दोस्रो भागको अन्त्यसम्म लय समात्न सफल हुन्छ । परिवारमा महिलाको महत्व, पत्नीको स्थानबारे एउटा बहस छ वा बौद्धिक भाषामा विमर्श छ । यही बहस वा विमर्शलाई निर्देशकको सुन्दर निर्देशनमा कलाकारहरूले सुन्दर अभिनयद्वारा सफल बनाएका छन् । नायकको आक्रोशित पति (पुरुष) को घरेलु हिंसा अभिनय निकै राम्रो छ । केही अघि नायिका मिरुनाले एक पटक एकजना भिक्षुलाई ब्याड टचको आरोपमा झापड लगाएको खबर आएको थियो । अर्थात उनको व्यक्तित्व आक्रोश रोक्न असमर्थ छ । त्यो रियालिटी शो थियो र फिलिममा पनि आक्रोशित पत्नीको भूमिकामा निकै प्रभावशाली छिन –‘म पनि सुब्बाकी छोरी हुँ ।’ ‘मलाई थारी भन्छस् तँ नामर्द” ।
आदि संवादमा मिरुनाले पूर्ण न्याय गरेकी छन् । नारी स्वाभिमान देखिएको छ । अब स्क्रिप्ट लेखकले मिरूनालाई कति नायकलाई कति लेखे त्यसमा भर पर्छ । तर नायिकाको पति, परिवार र समाजद्वारा पिडित महिलाको भूमिकामा उनको अभिनय निकै प्रभावकारी छ । माईत र घर अनि स्वाभिमान र पति प्रेम छुट्टाछुट्टै समय् र परिवेशमा अभिनयद्वारा सबैको भूमिकामा सामञ्जस्य स्थापित गर्न चुनौती पूर्ण हुन्छ र उनले यो चुनौतीलाई स–सम्मान स्विकारेकी छिन् ।
अन्तिम दृश्यमा नायक अघि हिँड्दै गरेको नायक पछि आउँदै गरेकी नायिकालाई पर्खन्छ र पत्नीलाई अघि लगाएर आफू पछि–पछि हिँड्छ । यो अवश्य नै कवि उपेन्द्रको कविता हो र यसको साँकेतिर अर्थ निकै अर्थपूर्ण छ । पुरुषले महिलाकै अगुवाइमा हिँड्नु पर्छ ।
समालोचनाको राम्रो पक्ष के भने एउटा दृश्यमा नायकले नायिकालाई एक झापड हिर्काउँछ अनि एक ठाउँमा लातले हिर्काउँछ/हिर्काउने प्रयास गर्छ । प्रतिक्रिया वा सामाजिक सञ्जालमा यस्ता दृश्यहरूको विरोधमा महिला नारीवाद वा महिला अधिकारवादको कुनै विरोध छैन । कथामा पुरुष पतिद्वारा तिरस्कृत भएर निष्कासित भएकी महिला पति कै घर किन फर्कनु पर्यो उनी त एकल पनि बाँच्न सक्छिन्/सक्थिन् जस्ता प्रश्न वा स्वर सामाजिक सञ्जालमा सुनिएनन् ।
लेखकको फेसबुकबाट साभार