November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘जारी’ जस्तै मौलिक चलचित्र निर्माण गर्नेलाई सरकारले सहयोग गर्नेछः मन्त्री गंगानारायण श्रेष्ठ

16.8K

काठमाडौं । बागमति प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले मौलिक चलचित्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । मंगलबार सुन्धारास्थित सिभिल मलमा उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’ हेरिसकेपछि प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले जारी जस्तै चलचित्रहरुको निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

मन्त्री श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘खाट्टी नेपाली चलचित्र बनाउन बागमती प्रदेश सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता गर्दछ ।’ चलचित्र जारीको कथावस्तु, कलाकारको अभिनय, संवाद, चलचित्र शिल्प, यसले दिने सन्देश सबै हिसाबले फिल्म अब्बल लागेको बताउँदै उनले लेखक/निर्देशक उपेन्द्र सुब्बालाई बधाईसमेत दिए ।

चलचित्र ‘जारी’को नाभि तत्व प्रेम भएको मन्त्री श्रेष्ठले बताए । ‘फिल्मले सामाजिक मूल्यमान्यता र संस्कृतिले सच्चा प्रेमलाई पराजित गर्न सक्दैन भन्ने सन्देश सशक्त रूपमा दिएको छ । अर्थात् फिल्मको नाम “जारी” भए पनि फिल्मको नाभि तत्व प्रेम नै देखिन्छ । वास्तवमा जारीभित्र सच्चा प्रेमको उत्कर्ष देखाइएको छ । त्यसैले दर्शक पटकपटक दयाहाङ र मिरूनासँगसँगै मुटु गाँठो पारेर भक्कानिन्छन् ।’, उनले भने ।

Advertisement

चलचित्र जारीले उत्कृष्ट मौलिक चलचित्रको निर्माण गरे दर्शकको अभाव नहुने प्रमाणित गरेको पनि उनले बताए । उनले लेखेका छन्, ‘नेपाल ईन्द्रधनुषी राष्ट्रिय राज्य हो । नवीन सुब्बा र उपेन्द्र सुब्बाले जस्तै सबै समुदायका अगुवाहरूले आ–आफ्नो संस्कृतिको जगमा उभिएर फिल्म बनाउन हिम्मत गर्ने हो भने यहाँ कति धेरै सुन्दर र श्रेष्ठ फिल्महरू बन्थे होलान् ? सम्झदा मात्रै पनि रोमाञ्चित हुन्छु । खाट्टी नेपाली चलचित्र बनाउन सके दर्शकको कुनै अभाव नहुने रहेछ भन्ने कुराको पुष्टि यस चलचित्रले गरेको छ ।’

यस्तै, यसअघि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चलचित्र विधेयकलाई समृद्ध बनाउने बारे वरिष्ठ निर्देशक नविन सुब्बासँग गम्भीर छलफल गरेको पनि बताए । ‘मस्यौदा तयार पार्दै गरेको चलचित्र विधेयकलाई समृद्ध बनाउने उद्देश्यले केही दिन अघि सो मन्त्रालयको मन्त्रीको हैसियतमा निर्देशक नवीन सुब्बा र फिल्म क्षेत्रका केही हस्तीहरूसँग ‘नुमाफुङ’ जस्तै चलचित्रहरू कसरी निर्माण गर्न सकिएला भन्ने बारेमा गम्भीर छलफल भएको थियो ।’, मन्त्री श्रेष्ठले भने ।

उनले उपेन्द्र सुब्बा आफैँमा कलाशिल्पी र शब्दशिल्पी भएको कारण उत्कृष्ट चलचित्र बन्न सम्भव भएको तर चलचित्रमा प्रयोग भएका लिम्बू भाषालाई नेपालीमा भाषान्तरण गरेर सबटाइटल राखिदिए अझ राम्रो सुझा पनि दिए ।