February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

इन्टरनेसनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसको अध्यक्षमा डा. श्रेष्ठ

775

लन्डन । साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ’ ‘स्वेच्छा’ इन्टरनेसनल एशोसियशन फर आर्टस् एण्ड – कल्चर फर पिस (IAACP) को अध्यक्षमा नियुक्त भएकी छिन् ।

युनिभर्सल पिस फेडरेशन (UPF) अन्तर्गत सञ्चालनमा रहेको आइएएसीपी एउटा विश्वव्यापी संजाल हो, जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्य जस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्तिर एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ ।

आफ्नो नयाँ भूमिकामा डा. श्रेष्ठले आइएएसीपीको मिशनलाई अघि बढाउनका लागि कलाकार, सांस्कृतिक नेता र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य लिएकी छिन् ।

Advertisement

नियुक्तिको बारेमा प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले भने, “डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्व‌मा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । उहाँको नेतृत्वले आउने वर्षमा पुर्‍याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।”

डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो। यो पुरस्कारले शान्तिपूर्णर दिगो विश्व निर्माणमा उनको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।

“यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु”, डा. श्रेष्ठले भनिन्, “म युनिभर्सल पिस फेडरेशन बेलायतप्रति यो अवसरका लागि आभारी छु । आइएएसीपी र युपीएफका प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।”

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । आइएएसीपी जस्ता नेटवर्क र पहलहरू मार्फत युपीएफ विश्वभर शान्ति एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।