ललितपुर । भगिश्वर तेयुङ लिम्बूको कवितासंग्रह ‘थो:क्ला’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको नखिपोटस्थित किरात याक्थुङ चुम्लुङको भवनमा एक कार्यक्रमबीच पुस्तकको परिचर्चा गरिएको हो ।
कियाचु लिम्बुवान अध्ययन केन्द्र, कियाचु लिम्बू भाषा साहित्य प्रतिस्ठान र द मार्जिनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लिम्बू भाषा तथा संस्कृतिविद येहाङ लावतीले गरेका थिए ।
‘थो:क्ला’ बारे बोल्दै लावतीले कवि भगिश्वरलाई युमाथेबाले ‘थुक्मा’ गरेको बताए । उनले भने, “लिम्बू लेख्य परम्पराको इतिहास निकै लामो छ । हड्सनले वि.सं. १९०३ सालमा संकलन कार्य सम्पन्न भएको हड्सन पेपरमा पनि सुखिमको कुहिएको पुस्तक बमोजिम लेख्याको भन्ने एउटा नेपालीमै शब्द छ । त्यसले १९०३ सालमै पुस्तक आकारमा हाम्रो भाषामा लेख्य परम्परा भैसकेको रहेछ। कुहिएको अवस्थामा भेट्टाएको त्यतिखेरै। त्यो हिसाबले २/३ सय बर्ष अघि देखिनै हाम्रो लेख्य परम्परा भएको भन्न सकिन्छ । तर दक्षिण एसियामा भएको राजनीतिक उथलपुथलले गर्दा कहिले हामीले बोल्न पाएनौं, कहिले लेख्न पाएनौं । तै पनि वहाँजस्तो युमाथेबा साम्माङले थुक्मा गरेको मान्छे धेरै निस्किए । उनीहरू लेख्छन्, बोल्छन् ।”
लावतीले भाषा लोप हुन लागेको प्रष्ट पार्दै यसबाट लिम्बू साहित्यमा अर्को इट्टा थपिएको बताए । यसका साथै यश भाषलाई सांरक्षण गर्नुपर्ने पनि उनको भनाइ थियो ।
यस्तै, पुस्तकबारे बोल्दै प्राज्ञ अमर तुम्याहाङले पुस्तक राम्रो आएको तर भाषिक फ्लेवर त्यति नआएको बताए ।उनले भने, “भाषामा भेगअनुसारको मिठास हुन्छ, त्यो भाषिक फ्लेवर यसमा त्यति पाइएन । कविता भनेको सामान्य ग्रामरभन्दा माथिको सुपर ग्रामर हो । त्यही भएर म्युजिकालिटी अलिक कम भएको हो कि जस्तो लाग्यो ।” उनले पुस्तकबाट अलिक बढी अपेक्षा गरेको तर, नपाएको पनि बताए ।
यस्तै थो:क्ला बारे आफ्नो कुरा राख्दै पत्रकार निशेष आङदेम्बेले थोक्ल ‘थोक्ला’मा सिमित नभएको बताए । थो:क्ला शिर्षकको कविताको अंश ‘गाउँमा धेरै घरहरू ढलेका छन् । तर, पर सहरमा धेरै बनिन्छन् भन्नुको मत्लब हामी हाम्रो संस्कार र संस्कृतिबाट धेरै टाढा पुगिसकेको बताए । उनले भने, ” यो शब्दले मैले लेख्ने ४ हजार शब्दको सिंगो निबन्ध बोलेको छ । त्यसैले वहाँको कवितात्मक चेत विशिष्ट छ ।”
यसैगरी पुस्तकबारे बोल्दै अध्येता डिबी आम्बुङले यस पुस्तकले बिस्मृतिमा गैसकेका कुरालाई पुनरताजकी गरेको बताए । उनले भने, “यसरी बिर्सिसकेका कुरालाई कवितामार्फत आउनुपर्थ्यो , जुन कुरा हाम्रा पुर्खाहरूको बर्षौ लामो अनुभवले बनेको शैली र संस्कार थियो। जसलाई यसरी साहित्यमार्फत फर्काएर फेरि पनि यो समयमा स्थान खोज्ने रैछ । हामी स्थान दिएमा फेरि रिजेनेरेट हुने रैछ । र, मौलिकतासँगै डोहोरिएर जाने रैछ त्यो काम यस्ता साहित्यले गर्छ । अनकी एकेडेमीको आर्टिकलले ।”
कार्यक्रमको सहजीकरण पत्रकार विष्णुमाया सिंगकले गरेकी थिइन् ।