लन्डन । विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली तथा एनआरएनए अभियन्ताहरुले संचालन गरिरहेको ‘नेपाल मामिला डटकम’को सम्पादकीय समूहमा पत्रकार युवराज गौतमले प्रवेश गरेका छन् । यसअघि ‘इमेजखबर डटकम’को डेक्स सम्पादकका रुपमा आठ बर्ष जिम्मेवारी पूरा गरेर हाम्राकुरा डटकमको समाचार संयोजकबाट हालै विदा लिएका उनी नेपाल मामिलासँग आवद्द भएका हुन् ।
२०५८ सालमा इलामको फिक्कलबाट प्रकाशित पावनभूमि साप्ताहिकमा वितरक र संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गरेका गौतम हालै हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियनको महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर उपमहासचिब पदमा विजयी भएका थिए।राजनीति, सामाजिक, पर्यटन र प्रवासी नेपालीहरुका मुद्दामा कलम चलाउँदै आएका गौतम पछिल्लो समय एनआरएनएका मुद्दाहरुमा पनि खोजपूर्ण समाचारहरु लेख्दै आएका छन् ।
गौतमले २०५९ देखि २०६१ सम्म स्पेसटाइम दैनिकमा दार्जिलिङ र इलाम संवाददाता रही काम गरेका थिए । त्यस्तै, २०६२ देखि पूर्वाञ्चल दैनिक र जनसंसद दैनिकमा ‘स्टोरीबेस’ लेखनमा सक्रिय थिए । उनी २०६४ देखि काठमाडौंमा रही कान्तिपूर साप्ताहिक र भावी नेपाल साप्ताहिकमा पनि नियमित सक्रिय थिए । हाल उनी ‘अर्थबजार डटकम’ संग पनि सम्बद्द छन्।
त्यस्तै, नेपाल मामिला डट कमको सहप्रकाशन ‘सिलौटी टाइम्स डट कम’ को सम्पादक सल्लाहकारको रुपमा लेखनाथ सिकारु आवद्द भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष सिकारु पाँचथर जिल्लास्थित सामुदायिक सुम्हात्लुङ एफ. एम. का उपाध्यक्ष समेत हुन्।
२०५३ सालमा पाँचथर क्याम्पसमा अनेरास्ववियूले प्रकाशन गर्ने विद्यार्थी मञ्च भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका सिकारुले रोशनी हवाई पत्रिका, क्षितिज साहित्यिक त्रैमासिक, विकल्प साप्ताहिक, मेची पोष्ट दैनिक जस्ता पत्रिकाहरूको सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए ।
सिकारुले शान्ति समिति पाँचथरबाट प्रकाशन भएको शान्ति सन्देश स्मारिका, ज्येष्ठ नागरिक जिल्ला संघ पाँचथरले निकालेको ज्येष्ठ नागरिक स्मारिका, जिल्ला बालकल्याण समिति पाँचथरबाट निकालिएको पाँचथरका बालबालिकाको अवस्था, वाल क्लब सञ्चालन कार्यविधि जस्ता दर्जनभन्दा बढी सामूहिक संकलनको सम्पादन समूहमा काम गरी सकेका छन् । उनले गोरखापत्र, उज्यालो नाइन्टी नेटवर्क, सेतोपाटीलगायत थुप्रै राष्ट्रिय स्तरका संचार गृहहरुसहित स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका सञ्चार माध्यममा आवद्द भई काम गरिसकेका छन्।
पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी सँग जोडिएका सिकारु अहिले समाजवादी प्रेस संगठन नेपालको संस्थापक केन्द्रीय सदस्य समेत हुन् । खास गरी मानव अधिकार, प्रेस स्वतन्त्रता, सुशासन पारदर्शिता, जवापफदेहिता सहित आर्थिक सामाजिक, राजनीति, पर्यटन र प्रवासी नेपालीहरूका मुद्दामा कलम चलाउँदै आएका छन् ।
सिकारुले तत्कालीन माओवादी र सरकारको सशस्त्र द्वन्द्वको समयमा शान्ति स्थापनार्थ महत्वपूर्ण योगदान गरे दर्जन वढी संघ–संस्थाहरुबाट सम्मानित भएका छन् ।
दुवै खबरपत्रका संस्थापक खुशी लिम्बूले सिकारु र गौतमलाई समूहमा स्वागत गर्दै भनेका छन्, “नेपाल मामिला र सिलौटी टाइम्सका आ-आफ्नै प्रकृतिका पाठकहरु छन् । छोटो समयमै लोकप्रिय भएका दुई खबरपत्रहरुमा ‘हेभीवेट’ पत्रकारहरुको प्रवेशले हाम्रा पाठक र विज्ञापनदाताहरुमा नयाँ उमंग आउने आशा लिएका छौं।”