November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मोहन कार्कीद्धारा एनआरएनए यूकेको विकेन्द्रिकरण र राज्य परिषदको स्वायत्ततामा जोड

3.7K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्षका प्रत्यासी मोहन कार्कीले एनआरएनए यूकेलाई बिकेन्द्रिकृत गर्ने अभियान अझै अपुरो रहेको बताएका छन् । गत मंगलबार निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमका उम्मेदवारहरुलाई स्कटल्याण्डवासी नेपालीहरुले भव्य स्वागत गर्ने क्रममा संघका निवर्तमान उपाध्यक्ष कार्कीले उक्त विचार प्रकट गरे ।

एनआरएनए यूकेको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि चुनावमा होमिएका मोहन कार्की एनआरएनए यूकेमा स्कटल्याण्डको प्रतिनिधित्व गर्दछन् । कार्की यस पटक पनि अध्यक्षका प्रत्यासी प्रेम गाहा मगर र उनको समावेशी समूहको पक्षमा उभिएका छन् । उक्त दिन गाहा मगरको चुनावी अभियान अन्तर्गत स्कटल्याण्डका फाइफ, एडिनबर्घ, एबर्डिन र ग्लासगो गरी चार स्थानमा बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरिएको थियो ।

फरक फरक स्थानमा आयोजित अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदका प्रत्यासी मोहन कार्कीले एनआरएनए यूकेलाई राज्य स्तरसम्म बिकेन्द्रिकृत गर्ने प्रकृया अझै पुरा नभएको जनाए । उनले भने, “एनआरएनएको स्कटल्याण्ड राज्य परिषदको स्वायत्तता, हक र अधिकार राष्ट्रिय समन्वय परिषदमा अझै पनि स्थापित हुन सकेको छैन । सोही कार्य पुरा गर्न म पुनः दोस्रो कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।”

Advertisement

त्यस्तै उनले एनआरएनए यूकेको सदस्यता शुल्क चर्को भएको भन्दै बरु थोरै शुल्कमा यदि ‘अटोमेटिक रिन्यु सिस्टम’ ल्याउन सके धेरै भन्दा धेरै सदस्य बनाउन सकिने र त्यसबाट संकलित सदस्यता शुल्कलाई समाज कल्याणको क्षेत्रमा खर्च गर्नु बुद्दिमानी हुने विचार पोखे ।

चार वटै स्थानमा आयोजित अन्तरक्रियामा स्कटल्याण्डवासी नेपालीहरुले आफ्ना नेता मोहन कार्की लगायत संस्थागत सुदृढीकरण र आर्थिक पारदर्शिताको अभियानसहित चुनावमा होमिएको गाहा मगरको टिमलाई आफूँहरुको समर्थन रहने बताए ।

कार्यक्रममा स्कटल्याण्डमा रहेका नेपाली समुदाय सम्बद्ध १४ वटै संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो भने एनआरएनएका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमहरुमा उपाध्यक्षका उम्मेदवार नारायण कंडेल, युवा संयोजक पदका उम्मेदवार तीर्थबहादुर मल्ल९अनिल० सदस्य पदका उपेन्द्र पौडेल लगायत प्रेम गाहा मगर टिमका अधिकांश पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष पदका उम्मेदवार काशीराम भण्डारीले स्कटल्याण्डवासी नेपालीहरुको सेवा गर्ने उद्देश्यसहित अध्यक्ष पदको उम्मेदवार बनेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।