खोटाङ । खोटाङ सेवा समाज यूकेले खोटाङ जिल्लालाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि समाजले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
आफ्नो जन्मभूमीका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध यूकेमा अभियान सञ्चालन गरेको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए ।
खोटाङ सेवा समाज यूकेले गाँस काटेर जुटाएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पतालमा पुग्ने गरी पठाएको हो । दोश्रो चरणमा स्थानीयतह र जिल्ला अस्पतालको आवश्यकताको आधारमा थप स्वास्थ्य सामग्री पठाइने खोटाङ सेवासमाज यूकेका सदस्य जानुका राईले बताईन् ।
कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमै मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान संस्थाको अध्यक्ष डा.प्रमोद राईको संयोजकतामा शुरु गरेको थियो ।