May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

महासंघ चलाउन सक्ने उत्तराधिकारी उत्पादन गर्ने अभियानमा छु : ठुलोबाबु श्रेष्ठ

650

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवसमा बोल्दै श्रेष्ठले यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्।

आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरू तथा मापदण्ड पुर्‍याउदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकान गर्न थालेपछि त्यसको कानुनी तथा व्यवहारिक उपचारको खोजि किन नगर्ने ? भन्दै प्रधानमन्त्री , सभामुख, अर्थ मन्त्री , उद्योग मन्त्री, तथा उर्जा तथा जलश्रोत मन्त्री संग भेटघाट गरी ७ बुँदै ज्ञापन-पत्र समेत बुझाएको बताए।

ग्रील तथा स्टील व्यवसाय हरेक हिसावले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधासहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बिमा, म्यादी बिमा, स्वास्थ्य बिमा, मूल्यमा एकरुपता र अन्य आधरभूत कुराहरू, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत संस्थागत गर्दै लैजाने विषयमा महासंघले संबन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रहरू बनाउने तथा यसैबर्ष मूल्य सूची प्रकाशन गरी आम व्यवसायीहरू व्यवसायमा पुर्‍याउने कार्य भइरहेको बताए।

Advertisement

काठमाडौंको थापा गाउँमा रहेको काठमाडौं बेङ्क्युटमा नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम महासंघका महासचिव विवेकदास श्रेष्ठले सन्चालन गरेका थिए।

कार्यक्रमको विशेष अतिथिमा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिवेक), ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवाल, सामुदायिक सेवा केन्द्र चाबहिलका उपाध्यक्ष तथा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी रहेका थिए भने महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, निरन्जन कुमार श्रेष्ठ सल्लाहकार नारायण श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, देवराज बस्नेत, महासंघका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,प्रथम उपाध्यक्ष केदार अधिकारी,उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक रण बहादुर बि.क.को आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्षत्रीय समितिको तर्फबाट काठमाडौं पश्चिम क्षत्रीय अध्यक्ष सैलेश ठकुरी तथा काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य ललितपुर जिल्लाका अध्यक्ष भागवत सुबेदीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा महासंघको सल्लाहाकारमा मनोनित निरन्जन कुमार श्रेष्ठ, नारायण श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, देवराज बस्नेत, रामशरण रिमाल, अर्जुन बोहोरा, यम प्रसाद पौडेललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशबाट महासंघको केन्द्रिय सदस्यमा मनोनित विश्व प्रसाद कर्माचार्य लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

शुभकामना मन्तव्य राख्दै महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठले इकाईदेखि महासंघ सम्मको सांगठानिक संरचना तयार गर्दा भोग्नु परेको तितो इतिहासलाई सम्झदै हरेक कुरामा बिस्तारै सुदृढ हुँदै गएको यो महासंघमा अझै भाइचाराको सम्बन्ध विकास गर्न नसकेकोमा आफुलाई दुःख लागेको बताए ।

मन्तव्य राख्ने क्रममा महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले महासंघले ल्याएका हरेक कार्ययोजनाहरू राम्रो भएकोले यसलाई कार्यन्वय गरि सफल बनाउन नेतृत्व गम्भीर हुनुपर्ने बताए । फुटेर र मनमुटाब गरेर भन्दा पनि एकअर्कामा सहयोग गरेर अगाडी बढ्न आग्रह समेत गरेका छन् ।

मनतव्यकै क्रममा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी(बिवेक)ले यो देशमा केही गर्न सकिदैन भन्ने भाष्य निर्माण गरेर देशलाई असफल राष्ट्र बनाउन लागि परेका दलालहरुलाई समेत माथ खुवाउँदै यही देशमा भविश्य देखेर पुँजीसँगै श्रमकोसमेत लगानी गरेका ग्रील तथा स्टील व्यवसायीहरूको पीरमर्काको बारेमा आफूले सम्बन्धित ठाउँमा कुरा उठाउने बताए । नीतिनिर्माण तहबाटै समस्याको समाधान गर्न सरकारका निकायहरुमा आफूलेसमेत पहल गर्ने बताए ।

प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले यो व्यवसाय र व्यवहारिक हितको लागि आगामी बजेटमा कार्यक्रमहरू कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित मन्त्री ज्यूहरुसँग छलफल गरी समस्या समाधानको बाटो खोज्न आफुले पहल गर्ने बताए।

मन्त्री तामाङले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यो व्यवसायले देशलाई योगदान दिएकोले राज्यले गम्भीर भएर सोच्नु पर्ने पनि बताए ।