April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन : श्रम मन्त्रालय

1.6K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको बताएको हो ।

नक्कली सूचनामा कार्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ । श्रम मन्त्रालयले सामाजिक सञ्जालहरूमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न आग्रह गरेको छ । बिहीबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सम्बन्धित सबैमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जानकारी गराउँछ ।’

मन्त्रालयले प्रचलित कानुनविपरीत भएका र हुने गतिविधिहरूलाई नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सदैव क्रियाशील रहेको व्यहोरा अनुरोध गर्दै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नुपूर्व आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सबैमा अनुरोधसमेत गरेको छ ।

Advertisement

श्रम मन्त्रालयले ‘प्रवक्तारसहसचिव डण्डुराज घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।

कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस)मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा छ ।