April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

परीक्षामा पास भएका सबै कोरिया जान पाउने गरी श्रम सम्झौता नवीकरण गरिँदै

2.4K

काठमाडौं–सरकारले दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। एक महिनाभित्रमा कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने गरी तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

नेपाली युवाहरुको निकै आकर्षक श्रम गन्तव्य मुलक दक्षिण कोरियासँग नेपालले सन् २००७ मा रोजगार अनुमति प्रणाली (इम्प्लोइमेन्ट पर्मिट सिस्टम) मार्फत् कामदार लैजाने गरी श्रम सम्झौता गरेको थियो। सो श्रम सम्झौता दुई÷दुई वर्षको अन्तरालमा नवीकरण गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सम्झौता नवीकरण गर्न लागिएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिए। 

‘कोरियासँगको श्रम सम्झौता नवीकरण हुँदैछ। यसमा हामीले कोरिया भाषा तथा सीप परीक्षामा बरु थोरै पास गराउने तर पास गरेका जति सबै जान पाउने गरी व्यवस्था हुनुपर्नेमा जोड दिएका छौँ,’ सचिव रायाले भने । 

Advertisement

कोरियाली श्रम बजारको आवश्यकताअनुसार संख्या तोकेर सोहीअनुसार परीक्षामा उत्तीर्ण (पास) गराउनुपर्ने प्रस्ताव नेपाल सरकारले राखेको हो। यो व्यवस्था कार्यान्वयनमा आउने हो भने भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवाहरु कोरियाली रोजगारीमा जान पाउने ग्यारेन्टी हुन्छ।

त्यसपश्चात् परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान पाउने हो वा होइन भनेर चिन्ता बोकेर बस्नुपर्ने अवस्था अन्त्य हुन्छ।