विराटनगर । भारत उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत ७५ जना विद्यार्थी नेपाल फर्किएका छन् । विराटनगरको जोगवनी नाका हुँदै बुधबार साँझसम्ममा ७५ जना विद्यार्थी घर फर्केको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उक्त घटनाको सत्यतथ्य छानविन गर्न गर्नुपर्ने माग राख्दै नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेपछि उनीहरुलाई कलेजले निकाला गरेको थियो ।
चौतर्फी बिरोध पछि कलेज प्रशासनले माफी माग्नुका साथै विद्यार्थीहरुलाई फर्किन आग्रह गरेता पनि भारतमा बसेर पढ्ने विद्यार्थी घर फर्कन थालेका हुन् ।
यसरी फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११ जना, काठमाडौं र सिराहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना विद्यार्थी रहेका छन् ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । लम्साललाई न्यायको माग गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।