January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

कलम बाल भित्ते पत्रिकाको टिसर्ट सार्वजनिक

प्रकाश दिप्साली राई
२०८१ जेष्ठ २६

1.4K

कविता प्रतियोगितामा परिसा कट्वाल प्रथम

नडाहा। विगत ५ वर्षदेखि निरन्तर रुपमा प्रकाशित कलम त्रैमासिक बाल भित्ते पत्रिकाले आफ्नो लोगो अङ्कित टिसर्ट(भेष्ट) सार्वजनिक गरेको छ ।

सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलमा अध्ययनरत छात्राहरुले पाँच वर्ष अघिदेखि निरन्तर प्रकाशन गरिरहेको सो भित्ते पत्रिकाको टिसर्ट कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नम्बर– ५ का वडाअध्यक्ष रोहित काफ्ले, सोही विद्यालयका संस्थापक राजन कार्की र सो भित्ते पत्रिकाका सल्लाहकार एवम राष्ट्रिय कविता महोत्सव विजेता प्रकाश दिप्साली राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो टिसर्ट सोही विद्यालयका पूर्व शिक्षक जोन शर्माले सौजन्य गरिदिएका हुन् । जो हाल अमेरिकामा बस्दै आएका छन् ।

Advertisement

सोही अवसरमा खुला कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सो प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई उछिन्दै कक्षा –८ मा अध्ययनरत परिसा कटुवाल प्रथम भइन् भने दोस्रो, तेस्रो र सान्त्वना क्रमशः अनुमा बस्नेत (कक्षा–८), प्रकृती राई (कक्षा–९) र प्रिन्सा खड्का (कक्षा –५)बने । सो प्रतियोगिताको निर्णायकमा बराहक्षेत्रका अग्रज पत्रकार तथा लेखक दुर्गा बस्नेत र बराहक्षेत्रकै लोकप्रिय कवि सविता फागो चोङबाङ रहेका थिए ।

सोही अवसरमा सो विद्यालयका शिक्षक भरत विष्टलाई पनि कलम पत्रिका परिवारले सम्मान तथा विदाई गरेको थियो । विष्ट कलम पत्रिकाको शुभेच्छुक एवम सल्लाहकार समेत रहेको भन्दै सम्मान पत्र, खदा, मायाको चिनो, कलमको लोगो अङ्कित टिसर्ट प्रदान गर्दै सम्मान तथा विदाई गरेका थिए । सोही दिन सो विद्यालयका नव निर्वाचित स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा भाइस क्याप्टेनहरुलाई गोपनियताका सपथ ग्रहण तथा पदभार ग्रहण गराइएको थियो ।

कविता प्रतियोगिताका विजेताहरुलाई अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिले खदा, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि सोही विद्यालयका संस्थापक राजन कार्कीले आफ्नो विद्यार्थीहरुको यो प्रगति देखेर दङ्ग भएको बताए । उनले कलम बाल भित्ते पत्रिकाको प्रशंसा गर्दै भने “मेरी छोरी पनि अहिले यु.एस.ए. मास कम्युनिकेसन अध्ययन गर्दैछे ।” यस्तै सम्मानित पूर्व शिक्षक भरत विष्टले आफ्ना विद्यार्थीहरुले यसरी सम्झेकोमा आफू भावुक भएको बताए । उनले नानीहरु म तिमीहरुसँगै छु, तिमीहरुलाई सदा आशिर्वादका साथमा मेरो साथ सहयोग रहनेछ । यस्तै कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै बराहक्षेत्र नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष रोहित काफ्लेले विद्यार्थीहरुको यस्ता कार्यक्रमले आफू निक्कै खुसी भएको बताए । उनले भने, पत्रिका प्रकाशन ठट्टा हैन । जो कलम बाल पत्रिकाले गरिरहेको छ । तपाइहरुसङ्ग म अत्यन्तै प्रभावित छु । अब चाडै नै ‘विद्यार्थीहरुसँग जनप्रतिनिधि’ कार्यक्रम गर्दैछौं त्यो बेला यहाँहरुको विद्यालयमा पुनः हामी आउनेछौँ । र यो भन्दा व्यापक ढङ्गले अन्तरकृया गर्नेछौं ।”

उक्त कार्यक्रमलाई कलम पत्रिकाका सम्पादक आशिका धामीले सहजीकरण गरेका थिए , स्वागत मन्तव्य सोफिया कार्कीले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष सुजल चौधरी रहेका थिए ।