काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–३ पुरन्डी टोलमा भाइले दाइको हत्या गरेका छन् । प्रहरीकाअनुसार ३५ वर्षीय लेला भनिने मोतिराम सदाको आफ्नै २५ वर्षीय भाइ भुटका भन्ने श्यामकुमार सदाले हत्या गरेका हुन् ।
घटना गत बिहीबार राति पौने ९ बजेतिरको हो । झगडा भइरहेको भन्ने प्रहरीलाई खबर पाएको र उक्त सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी घटनास्थलमा पुग्दा दाइ मोतिराम घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हतियार प्रहारबाट उनको छातीमा गम्भीर चोट लागेको उनलाई प्रादेशिक अस्पताल लगेको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।
घटनास्थलबाट भाइ श्यामकुमार भने फरार भएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्यामकुमारले आफ्नी १९ वर्षीया श्रीमती कौसिला देवीमाथि कुटपिट गरिरहेका थिए । कुटपिट गरेपछि दाइ मोतिराम छुटाउन जाँदा भाइ श्यामकुमारले धारिलो हतियार प्रहार गरेका हुन् ।
घटनापछि फरार भएका श्याम कुमारलाई प्रहरीले सिरहा ओरही गाउँपालिका–३ जमुवा नहरबाट भारत भाग्दै गरेको अवस्थामा फेला पारेको हो ।
आइतबार जिल्ला अदालत सिरहाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले लिएको छ ।