काठमाडौं। नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ हुने भएको छ । २०७७ जेठ १० मा भएको नरसंहारमा ६ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा
आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ हुने भएको हो ।
जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।
साथीसहित प्रेमिकाको गाउँ पुगेका नवराजलाई युवतीका आफन्तले हत्या गरेका थिए । उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको पनि निर्ममतापुर्वक हत्या गरे ।
गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।
उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।