काठमाडौं । राप्रपा सांसद ज्ञानबहादुर शाही र उनका सहयोगीले पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारकै आधारमा नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई शाहीका सहयोगी बताउने व्यक्तिले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारको विषयलाई लिएर नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीका सहयोगी बताउने व्यक्तिले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’
‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघले जनाएको छ । ‘महासंघ काठमाडौं शाखाका अनुसार भाद्र ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कदै गर्दा पत्रकार तिवारीलाई काठमाडौंको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिंदै दुई जनाले धम्क्याएका थिए । त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएका थिए भने सहयोगी बताउनेले ‘जे पनि गर्न सक्छु भन्दै घरमै गएर धम्की दिएको शाखाले जनाएको छ’, महासंघको विज्ञप्तिमा उल्लेख छ ।
समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हर्कत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती भएको महासंघको ठहर छ ।
महासंघले पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुयाउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।