विराटनगर । सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् । पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट ईटहरी जाँदै गरेको को३२प १७९६ नम्बरको मोटरसाईकल रोकेर मोटरसाईकलमा सवार रहेका चालक बिराटनगर–५ कोचाखालका २८ बर्षीय रोहित चौधरी र बिराटनगर–३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । कोखामा गोली लागेर गम्भीर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाए लगत्तै फरार ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न दुई जनालाई श्रावण १६ गते धरानकै पुतली लाईनबाट पक्राउ गरी श्रावण १७ गते पत्रकार सम्मेलमार्फत सार्वजानिक गरेको हो । उक्त घटना अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहसहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।
अनुसन्धान गर्ने क्रममा उक्त घटना बाहेक असार ८ गते धरान–१७ को खैरेनी जंगलमा १ जना महिलामाथि भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाईकलमा प्रकाशपुर गईरहेका श्रीमानश्रीमती माथि सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिलाई समेत श्रृखंला बद्ध रुपमा भएको लुटपाटमा यिनै ब्यक्तिहरुको संग्लग्नता रहेको पाईएको छ ।
पक्राउ परेकामध्ये तिमिल्सिना जवरजस्ति करणी मुद्धामा १० बर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्धामा ६ महिना कैद भुक्तान गरी २ बर्ष अगाडि छुटेको तथा दुबैजना लागूऔषध दुव्र्यवसनी रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका उनीहरुको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान, खुकुरी २ थान, मोवायल ५ थान, औठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद भएको छ ।
घटनामा संग्लग्न अन्य ब्यक्तिको खोजतलास भईरहेको र पक्राउ ब्यक्तिहरुको १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।