काठमाडौं । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने बुढानीलकण्ठ-८ भद्रकालीका पृथ्वी मल्ललाई ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवाना हुने भएको छ । पाटन उच्च अदालतले उनलाई यस्तो सजाय तोकेको हो ।
उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको छ ।
मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा लीला देवकोटाको घटनास्थलमै मृत्यु भयो । मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स पनि नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।