महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलाबाट मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले बगुन खोलाबाट जेसीवी नियन्त्रणमा लिएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने बताए ।
वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनअनुसार पुलपुलेसा, कलभर्ट, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिए पनि यहाँका नदी तथा खोलानालामा विधिअनुसार उत्खनन हुन सकेको छैन।
बेदकोट नगरपालिकाले नदीजन्य वस्तु उत्खननका लागि वातावरण प्रभाव मुल्यांकन गरेको भएपनि मापदण्ड विपरीत उत्खनन भइरहेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन गरेर ठेक्कामार्फत मापदण्डमै नदीजन्य सामाग्री उत्खनन गरिरहेको दाबी गरे ।