आजभन्दा १६ वर्षअघिको एउटा सम्झना । एक गीतकार तथा संस्कृतिकर्मी मित्रमार्फत् काठमाडौँमा चिनजान साँटियो, एक लेखकसँग । उनी हङकङ डायास्पोरामा रहेर लेखिरहेका लेखक रहेछन् । गीत र उपन्यास उनको साधनाको क्षेत्र रहेछ । यता नेपालमै साधनारत गीतकार तथा संस्कृतिकर्मी मित्रको आग्रहअनुसार काठमाडौँमा भेट्दा मैले ती लेखकसँग लामै कुराकानी गरेँ ।
कुराकानीका क्रममा ती लेखकसँग खासै उत्पातको कुनै सिर्जनात्मक खुराक भने फेला पार्न सकिनँ । तर उनको भावी लेखकीय योजना र महत्त्वाकाङ्क्षा चाहिँ असामान्य रहेको अनुभव गरेँ ।
कुराकानीकै क्रममा उनले एउटा ठूलै प्रकाशक भेटिएको र उनको भर्खरै छापिएको नेपाली उपन्यासको अनुवाद चारवटा हो कि सातवटा भाषामा छापिन लागेको सुनाए । अत्यन्तै उत्साहित भएर उनले यस्तो सुनाउँदा मलाई पनि “हो कि” जस्तो लाग्यो । कुराकानीकै क्रममा उनले आफ्नो उक्त उपन्यास त्रिभुवन विश्वविद्यालयको डायास्पोरिक अध्ययनको लागि नेपाली विषयको स्नातकोत्तर तहको पाठ्यक्रममा “छनौट हुन लागेको” भविष्यवाणी पनि गरे । उनको यस्तो भविष्यवाणीलाई छापिहाल्ने हतारो भने गरिनँ मैले । “पहिले पाठ्यक्रममा छनौट होस अनि लेखौँला” उनलाई मैले यसरी नै सम्झाएको थिएँ । भर्खरै प्रकाशनमा आएको उपन्यास विश्वविद्यालयको पाठ्यक्रममा पर्दैछ भनेर लेख्ने कसरी ? यस्तो लेख्न मेरो बूँताले भ्याउने र पेशागत धर्मले मान्ने कुरै भएन ।
केही दिनपछि लामै पारेर आफूले संयोजन गर्ने परिशिटाङ्कको मध्यपृष्ठको पुरै भाग ती लेखकको फोटोहरू र वृत्तान्तले भरेँ । चिम्सा आँखा र थेप्चो नाक बाहेक केही नदेख्ने भन्ने आरोप सहेकै थिएँ, ती लेखकबारे लेखिएको सामग्रीबाट पनि मैले यस्तो गाइँगुईँ बोनस पाएँ, आफ्नो प्रकाशन गृहभित्र ।
उनी साह्रै खुसी भएर फोन गरे, “धन्यवाद सर, धेरै धेरै धन्यवाद ।” बेला बेलामा फोन गरिरहन्थे ।
यसको केही समयपछि नेपालमा काम भई हङकङबाट छापिने एक नेपाली साप्ताहिक हेर्दै थिएँ, कुनैमा आधा र कुनैमा चौथाई पृष्ठको बधाई नै बधाईले भरिएको विज्ञापनमा आँखा पर्यो । बधाई थाप्ने चाहिँ उनै लेखक थिए, जसको बारेमा केही हप्ताअघि मात्रै मैले एक वृत्तान्त लेख्न भ्याएको थिएँ । तर विश्वविद्यालयको पाठ्यक्रममा आफ्नो किताब पार्ने हतारो ती लेखकलाई भइसकेको रहेछ ।
त्रिभुवन विश्वविद्यालयको मानविकीतर्फ स्नातक तह प्रथम वर्षको अनिवार्य नेपाली विषयको पाठ्यक्रम र नेपाली विषयको स्नातकोत्तर तहको डायास्पोरिक अध्ययनको लागि पनि उपन्यास छनौट भएको भन्दै यस्तो अपार खुसीका लागि ती लेखकलाई बधाई थाप्न भ्याइनभ्याई भएको जस्तो देखियो । अखबारमा प्रकाशित फोटोहरू हेर्दा यस्तै लाग्थ्यो ।
संयोग पनि कस्तो भने ती लेखकले बधाई थापिरहेको विज्ञापन छापिएको अखबारका पृष्ठहरूमा आँखा पर्नुभन्दा एक डेढ घण्टाअघि मात्रै म स्नातक तहका विद्यार्थीहरूलाई पढाएर फर्केको थिएँ । त्यो श्रमवापत निस्केको पसिना मेरो सरीरबाट ओभाउन पाएकै थिएन । “सर, तपाईंले पढाउने गरेको अनिवार्य नेपालीको पाठ्यक्रममा परिवर्तन भएको हो र ?” मैले एउटै कलेज पढाउने नेपाली विषयका प्राध्यापक बासुदेव ढुङ्गेललाई फोन हानेँ । अनि भर्खरै आफ्नो आँखामा परेको बधाई विज्ञापनको वृत्तान्त सुनाएँ । बासु सर तीन छक्क ! त्यो बेला अनिवार्य नेपालमा पद्मावति सिंहको उपन्यास “समानान्तर आकास” पढाइन्थ्यो । स्नातक तहको अनिवार्य नेपालीको पाठ्यक्रम परिवर्तनबारे कुनै योजना विश्वविद्यालयसँग थिएन । नेपाली स्नातकोत्तर तहको पाठ्यक्रम भने परिमार्जन गर्ने तयारी भइरहेको रहेछ ।
ती लेखकले बधाई विज्ञापन पाएको अखबारको अर्को पृष्ठमा उनको उपन्यास विश्वविद्यालयको पाठ्यक्रममा पर्नुको औचित्यमाथि प्रकाश पारिएको एक जना ब्यक्तिको अन्तरवार्ता पनि छापिएको थियो । त्यो देखेपछि ममा चिन्ता थपियो, ती सोझा लेखकले अब यसवापत कति आर्थिक क्षति कति ब्यहोर्नु पर्ने हो ? आर्थिक क्षति त पछि परिपूर्ति हुनसक्छ, तर भर्खरै स्थापित हुन खोजिरहेको उनको लेखकीय छविमा लाग्ने धब्बा भने सजिलै मेटिने छाँट देखिनँ । विश्वविद्यालयको पाठ्यक्रममा पर्दै नपरेको किताब पाठ्यक्रममा पर्यो भन्दै विज्ञापन गरी बधाई थाप्दा उनको खल्ती रित्तिने मात्रै होइन, घोर बेइज्जतीको शिकार बन्नुपर्ने जोखिम पनि उत्तिकै थियो ।
उनको उपन्यास विश्वविद्यालयको पाठ्यक्रममा पारिदिने जिम्मा लिएका ती ब्यक्ति एक बद्नाम विचौलिया थिए । तिनको एक एक इतिवृत्त थाहा थियो, मलाई ।
अब ती लेखकलाई सचेत गराउनुलाई मैले आफ्नो कर्तब्य सम्झेँ ।
त्यसबेला म हङकङबाटै छापिने “एभरेष्ट”मा बेला बेलामा लेख्थेँ । त्यसैले एभरेष्टमा लेख लेखी विश्वविद्यालयमा पाठ्यक्रम परिमार्जनको प्रक्रियाका बारेमा पनि प्रकाश पार्दै हल्लाको पछि लाग्न नहुने तर्कका साथ ती लेखकलाई सम्झाउने कोशिश गरेँ ।
तर आफ्नो धर्म सम्झेर गरेको मेरो यो कोशिश ब्यर्थ सावित भयो । ती लेखक महत्वाकाङ्क्षाले झन उग्र निस्किए । पछि त्रिवि केन्द्रीय नेपाली विभागका तत्कालिन प्रमुख प्रा. राजेन्द्र सुवेदी पनि यस घटनामा कीर्ते पत्र प्रकरणमा मुछिए । सुवेदीबाट “तपाईंको किताब पाठ्यक्रममा समावेश गरियो” भन्ने ब्यहोराको कीर्ते पत्र पाएपछि त्यसैको आधारमा ती लेखकले थप बधाई ग्रहण गरे । “दुवै हातमा लड्डु” शीर्षकमा समाचार लेखाए । त्रिविको पाठ्यक्रम परिमार्जनको क्रममै रहेको बेला उनको उपन्यासको तेस्रो संस्करण पनि हेर्न पाइयो, त्रिविको एमए (नेपाली)को पाठ्यक्रममा पढाइने पुस्तक भनेर छापिएको रहेछ । यसै खुसियालीमा काठमाडौँ र हङकङमा राम्रैसँग भोजभतेर चलेको पनि सुनियो । उनको शिरमा बधाईको सेतो फेटा गुथिएको भिडियो पनि हेर्न पाइयो ।
उनको उपन्यास विश्वविद्यालयको पाठ्यक्रममा पर्नु त कता हो कता, त्यहीँ प्रकरणपछि लेखन क्षेत्रबाट उनी नराम्ररी ओझेलिए । आफ्नै प्रायोजनको विज्ञापन आदिमा प्रकट भएको क्षणिक खुसीले उनको स्रष्टा ब्यक्तित्त्वलाई नै दीर्घकालिन रुपमा भताभुङ्ग बनाइदियो ।
सुन्छु, त्यहीँ बेइज्जतिले आजभोली उनी बाहिरफेर पनि निस्कदैनन् रे । ती विज्ञापनहरू छापिएको अखबार, “दुवै हातमा लड्डु” शीर्षकको पुरै पृष्ठको एक राष्ट्रिय दैनिकको त्यो समाचारले ती लेखकलाई कति पोल्दो हो यतिखेर ?

पाठ्यक्रम चयनको प्रक्रिया
एक दिन खबर गरेरै कवि कृष्ण जोशीको घट्टेकुलोस्थित निवासको ढोकामा छिरेँ । खासमा कृष्ण दाईको स्रष्टा ब्यक्तित्त्वभन्दा पनि लामो समय उनले निजामति सेवामा बिताएको प्रशासनिक ब्यक्तित्त्व र अनुभवको पुन्तरो फुकाउने मन थियो ।
दाईले आफू निजामति सेवामा रहँदाको बडो गजबका अनुभूतिहरू सुनाउँदै जाँदा दराजमा थन्काएको एउटा पुरानो टेपरेकर्डर निकाले । केही थान क्यासेटहरू पनि थिए । त्यस टेपरेकर्डरसँगका मीठा मीठा किस्साहरू उनी सुनाउँदै थिए ।
जागिरकै शिलशिलामा जनप्रशासनको स्नातकोत्तर तहको अध्ययनको लागि छात्रवृत्ति पाई लेवनान जाँदा कृष्ण दाईले किनेका रहेछन्, त्यो बडेमानको टेपरेकर्डर । टेपरकर्डरमा क्यासेट हालेर त्यसबेला रेकर्ड गरिएको उनको डायरीहरू सुन्ने अवसर पाएँ । उनी हरेक दिन डायरी लेख्दा रहेछन् र ती डायरीहरू रेकर्ड गर्दा रहेछन् । ती डायरीहरूमध्ये अधिकाँश आफ्नो प्रशासनिक जीवन र अध्ययनका विषयमा केन्द्रीत थिए ।
एक नाम चलेको विदेशी विश्वविद्यालयबाट जनप्रशासनका विशिष्ट प्राप्ताङ्कका साथ डिग्री लिएर फर्केपछि कृष्ण दाईलाई आफ्नो करिअरमा उच्च मूल्याङ्कन हुन्छ भन्ने लागेको रहेछ । तर सबै आशा निराशामा परिणत भए । आफ्नो निजामति सेवामा पेन्सन पाक्नुभन्दा केही वर्षअघि मात्रै उपसचिवमा बढुवा भएर उनी सेवानिवृत्त भए । उनको यी सारा अनुभूतिहरू समेटेर शीर्षक जुराएँ, “स्वाभिमानी शिर उचाली…” ।
लेवनानको विश्वविद्यालयबाट जनप्रशासनमा लिएको उच्च शिक्षाबाट कृष्ण दाईलाई एउटा खुसी चाहिँ प्राप्त भएको रहेछ । त्यो हो, उनले लेखेको जनप्रशासनसम्बन्धी किताब । कृष्ण दाई भन्दै थिए, “त्रिभुवन विश्वविद्यालयले जनप्रशासनको स्नातकोत्तर तहको पाठ्यक्रममा मेरो किताव राखिदिएछ । अलि अलि रोयल्टी आउँछ । यसैले मलाई खुसी दिएको छ ।”
मैले कृष्ण दाईलाई विश्वविद्यालयले पाठ्यक्रममा किताब राख्दा जानकारीको लागि पत्र दिए नदिएको बारेमा पनि जिज्ञासा राखेको थिएँ । तर त्यस्तो कुनै पत्र दिने चलन रहेनछ । पाठ्यक्रम हेर्दा मात्रै आफूले थाहा पाएको बताएका थिए, कृष्ण दाईले । उनले त्यसबेला बताएअनुसार विज्ञहरूले किताबहरू भेला गर्ने र उपयुक्त लागेको छनौट गर्ने चलन रहेछ ।
पाठ्यक्रममा जसको किताब चयन भए पनि सम्बन्धित विभागीय प्रमुखले लेखकलाई पत्र पठाएर जानकारी दिने चलन रहेनछ । प्रा. राजेन्द्र सुवेदीले पत्र लेखेर ती लेखकलाई किन झुक्याए थाहा हुन सकेन । सुवेदी त कोरोनाका कारण दिवंगत भइसके । जिवित भए सोध्न हुन्थ्यो ।
लाटोको खुट्टा बाटोमा
विगत नौ वर्षदेखि म परदेशमा छु, ती लेखकजस्तै । परदेशमै बसेर कलम घोट्ने प्रयासलाई हरसम्भव जारी राखेको छु । इतिहास अध्ययन मेरो अभिष्ट हो । प्राण धान्न आफ्नो मूल समयलाई ज्यालादारीमा प्रयोग गर्छु र उब्रिएको समय अध्ययन र लेखनका लागि छुट्याउँछु । यसै मेसोमा पत्तै नपाई मैले लेखेको इतिहासका चार थान किताब प्रकाशनमा आइसकेछन् । एउटा किताबको पाण्डुलिपी पनि तयार अवस्थामा छ । अरु किताबका खाका पनि कोरिदैछन् ।
कुनै पनि खाना आवश्यकताभन्दा बढि खाए त्यो विषमा परिणत हुन्छ । महत्त्वाकाङ्क्षा पनि एक प्रकारको विष हो । त्यसैले आफूलाई महत्त्वाकाङ्क्षाहरूबाट हरसम्भव टाढा राख्ने कोशिश गर्दै आएको छु । महत्त्वाकाङ्क्षाहरूबाट आफूलाई टाढा राख्ने मेरो एउटै उपाय छ, त्यो हो साधना । सम्पूर्ण ध्यान साधनामा समर्पित गरेपछि मनमा महत्त्वाकाङ्क्षाजस्ता विषाक्त तत्त्वको प्रवेश कम हुँदोरहेछ ।
पढ्ने, सन्दर्भसामग्री ब्यवस्थापन गर्ने अनि लेख्ने । यतिबाटै आनन्द र खुसीहरूको सङ्ग्रह गर्न पल्केपछि परदेशी जीवनका कैयौँ प्रतिकुलताहरूमा पनि सम्भावित अवसादहरू मेरो छेउ पर्न सकेका छैनन् । साधनाद्वारा सम्भावित महत्त्वाकाङ्क्षाहरूसमेत परास्त भएपछि मबाट सिर्जनाका फूलहरू हल्हलाएर फुल्न सम्भव भएको हो । यसो भएपछि चर्चा, प्रशंसा, पुरस्कार, मानसम्मान, दोसल्ला, माला, खादा, विभुषण इत्यादिप्रतिको आशक्ति पनि नहुँदोरहेछ । यस्ता आशक्तिहरूप्रतिको वैरागले त साधनाप्रतिको समर्पणलाई बलशाली बनाउँदोरहेछ ।
किताब लेखूँला र त्यो विश्वविद्यालयको पाठ्यक्रममा पर्ला भनेर कहिल्यै सोच्न नभ्याउने एउटा लाटो लेखक हुँ म । तर लाटोको खुट्टा बाटोमा परेजस्तै भएको छ अहिले ।
नेपाल खुल्ला विश्वविद्यालय स्थापना भएको छ भन्ने समाचार मात्रै थाहा पाएको हुँ । त्यसले के गर्दैछ र के के पढाउँदैछ, यसबारे केही थाहा पत्तो थिएन । तर आफैलाई तीन छक्क पार्दै सहलेखक मित्र मनोज घर्ती मगरले नेपाल खुल्ला विश्वविद्यालयले तयार पारेको स्नातक तहको पाठ्यक्रम पठाउँदै भने,“दाई, हाम्रो किताब “मगर इतिहास” र तपाईँको “आदिवासी विद्रोहको इतिहास” मगर अध्ययनमा परेको छ है ।”
पाठ्यक्रम हेरिसकेपछि मात्रै विश्वास भयो । न सोचेको, न त कुनै आशा गरेको । यो मेरो लागि आश्चार्यजनक खुसी थियो । विश्वविद्यालयमा आफ्नो किताबको पढाई हुने सूचनाले एउटा लेखकलाई स्वभाविक रुपमा खुसी दिने नै भयो ।
फेरि अर्को खुसीको सूचना आयो, कवि तथा निबन्धकार लक्ष्मी रुम्बाबाट । तामाङ अध्ययनअन्तरगत मेरो “आदिवासी विद्रोहको इतिहास” पाठ्यक्रममा परेको रहेछ । यो खुसी बाँडिरहँदा फेरि तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङबाट सूचना आयो,“पालिकाले बनाउँदै गरेको विद्यालयस्तरको स्थानीय पाठ्यक्रममा पनि “आदिवासी विद्रोहको इतिहास” समावेश हुँदैछ ।”
इतिहास अध्ययनलाई आफ्नो अभिष्ट बनाई सिमान्तकृतहरूको ओझेलमा परेको इतिहास उत्खनन गर्ने हरसम्भव कोशिश गरिरहेको बेला जातिवादी, साम्प्रदायिक, डलरवादी आदि आरोप खेप्नु परेकै छ । यस्ता आरोपहरू मेरा सम्पति हुन् । किनकि यस्ता निराधार आरोपहरू जति आउँछन्, इतिहास अध्ययन र लेखनमा म उतिनै उत्साहित हुन्छु । आखिर फल भएकै रुखले नै त झटारो उपहार पाउने हो ।
यस्ता अनेक आरोप र आलोचनाहरू आउँदा मलाई भने युगकवि सिद्धिचरण श्रेष्ठका शब्दहरू दीप श्रेष्ठकै लयमा गाउन मन लाग्छः
आमा,
उनीहरूले मलाई जेसुकै भनून्
म बौलाहा होइन…।




