April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

आदिवासी जनजातिहरू जाँडमा डुब्न मात्रै जन्मेका होइनन् ल !

सूजता लिम्बु
२०८१ असार २७

3.3K

प्रसव पीडाबाट थोरै राहत मिलेपछि अस्पतालले डिस्चार्ज दियो । त्यसपछि आमाको साथ लागेर घरतर्फ लागें । घर भित्र प्रवेश गर्नासाथ तीन दिनकी छोरीलाई आमाले हतार–हतार रक्सी चटाइदिनुभयो । नानीले जिब्रोले चाट्दै नाक, मुख सबै बटारेर अनुहार बिगारिन् । अतालिदै आमालाई प्रश्न गरें, ‘ह्या ममी यो के गर्नुभएको ?’
आमाले हाँस्दै जवाफ फर्काउनुभयो, ‘हाम्रो त जन्मिने बित्तिकै रक्सी चटाउने हो । जन्मिदा र मर्दा दुवै कर्मकाण्डमा रक्सी नभइ हुँदैन ।’

आमाको जवाफ सुनेपछि होला त नि ! जस्तो लाग्यो । म मौन भएँ । ठूली छोरी विराटनगर कोशी अस्पतालमा जन्मेकी थिइन् । म बस्ने डेराको घर वैशनवीको भएकाले घरवेटी आमाले जन्मने वित्तिकै उनलाई मह चटाइदिनुभएको थियो ।

तर, दुवै छोरी हुर्किदै गएपछि फरक के भेटँे भने रक्सी चाट्ने सानी जाँडको गन्धले नाक छोप्थिन् । मह चाट्ने ठूली छोरी बोजु (घरको हुजरआमा) सँग कलिलो जाँडको छोक्रा माग्दै खान्थिन् ।

Advertisement

अहिले ठूली छोरी १६ वर्षकी भइन्, सानी १४ । मैले आजसम्म उनीहरूले जाँड, रक्सीमा हात हालेको देखेकी छैन । देखिहाले परिवारसँग बसेर खाऊभन्दै सुझाव दिनेछु । किनकी म पनि परिवार र आफूले रुचाएको साथीभाईसँग बसेर थोरै पिउने गरेकी छु । मैले बच्चाको जन्म र हुर्काइलाई किन जोड्न चाहेँ भने मान्छेको स्वभाव उमेरसँगै परिवर्तन हुँदै जान्छ ।

यस लेखमा आफ्नै अनुभव किन पनि जोड्न चाहँे भने प्रदेश सरकारको पछिल्लो राजनीतिक खिचातानीमा प्रदेश प्रमुखसमेत केही समय उल्झनमा पर्नुभएको थियो । त्यससमय एकजना मित्रले मेरो अगाडी नै प्याच्च भने ‘प्रदेश प्रमुख कोशीको राजनीतिक खिचातानीले जाँड खाने परे ।’ कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ लिम्बू समुदायका हुन् । तर, उनले जाँड, रक्सी पिउदैनन् भन्ने कुरा म जानकार थिए । त्यसैले पनि प्रतिउत्तरमा भने,‘प्रमुख ज्यूले रक्सीजन्य पदार्थ पिउनुहुन्न, सबै जनजाति जाँडमा डुब्छ भन्ने हुन्छ ? ’

‘हेर नाक दुखेको’ भन्दै खिसिटयुरीको भावले उनले मलाई जवाफ फर्काए । त्यसपछि मौन भएर आफ्नो काममा अगाडी बढेँ । भोगाइ र वचनको वाणहरू किस्ता–किस्तामा छन् । त्यही भएर पनि आफ्नै अनुभवलाई नै लेखमार्फत व्यक्त गर्न चाहेकी हुँ ।

पछिल्लो समय प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर पहिचानसहितको पूनः नामकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएका छन् । त्यही आन्दोलनको क्रम तेह्रथुम पुगेर दोहोरियो । बुधबार एक कार्यक्रमका लागि तेह्रथुम पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा प्रदर्शन गरे । तर , केही साथीहरूले भट्टीको प्रशङ्ग जोडेर मजाकको पात्र बनाए ।

जनभावना अनुसार नेतृत्वले काम नगरेको भन्दै असन्तुष्टि जनाउन पायो । त्यो खालको आन्दोलन जायज छ या छैन यसमा अल्झिन चाहिनँ । तर, त्यही विषयलाई भट्टी र रक्सीसँग जोडेर उडाउदा चाँही मुलवासीको मौलिक परम्परामा आधारित चिजलाई खिसीट्युरी गरे जस्तो अनुभूति हुने रहेछ ।

अरे ! बाबा सुत्केरी आमाको जीउ बाँध्नदेखि कुल पूजामासमेत रक्सीको प्रयोग गरिन्छ । तर, सबै आदिवासी रक्सी र जाँडको झोलमा डुब्न मात्रै जन्मेको हो भन्ने भनाई किन आउछ होला ? जाँडसँगै हुर्किएका आदीवासीका छोराछोरी राष्ट्रिय राजनीति हाक्ने ठाँउमा, संवैधानिक निकायहरुमा, प्रहरी प्रशानको प्रमुख स्थानमा पुगेका छैनन् र?

आदिवासी समुदायमा महिलालाई आत्मनिर्भर बन्नका निम्ति पेवा–पैकार गर्न आमा या बोजुले अन्न दिने प्रचलन छ । मेरो घर छेउकी एकजना छिमेकी बहिनी थिइन् । उनी विपन्न भएर रक्सी पार्दै ठेक्कामा लगाएको भने विल्कुल होइन । तर आत्मनिर्भर बन्नको लागि कक्षा १२ मा पढ्दादेखि नै रक्सी बनाउने र बिक्री गर्ने गर्थिन् । उनी जमिन्दार बाबुको छोरी हुन् । अभावले होइन, आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबले उनले रक्सी बेचेरै त्यो बेला ५० हजार पेवा आफू बनाएको अझै पनि कथन गर्छिन् । अहिले पनि उनको श्रीमान रोजगारीको सिलसिलामा कोरियामा छन् । श्रीमानले पठाएको पैसा वचत गरेर घर खर्च रक्सी ठेक्कामा लगाएको पैसाले चलाउने गरेको सुनाउछिन् । त्यसो त आदीवासीलाई अन्नपे्रमीको रुपमा पनि चिनिन्छि । उब्रिएको भात फाल्न हुँदैन भन्ने मनसायले मर्चा (चामलको पिठोमा जंगलको जरीबुटी मिसाएर बनाएको जाँडमा लगाउने चिज) लगाएर जाँड बनाउने गरिन्छ । त्यसैले पनि आदिवासीको मौलिक परम्परा, मुन्धुम र आत्मनिर्भर बनाउने विषयसँग जोडिएको जाँड या त रक्सीलाई खिसिट्युरीको भाष्य प्रयोग नगरौँ । त्यसो त कतिपय स्थानीय पालिकाले घरेलु मधिरालाई ब्राण्डिङ गर्ने विषयको उठानसमेत गरका छन् । अघिल्लो कार्याकालमा तत्कालिन समाजिक विकासमन्त्री उषकला राईले घरेलु मदिरालाई ब्राण्ड बनाउन कार्यदलसमेत गठन गरेकी थिइन् । तत्कालिन योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी थिइन् ।

र अन्त्यमा, मलाई सबैभन्दा ताजुब लाग्ने कुरा चाहीँ के छ भने, जसलाई जन्मदिनदेखि, विवाह उत्सवको दिनसम्म, पानी परेदेखि घाम लागेसम्म, अँध्यारो भएदेखि उज्यालो भएसम्म, सुखमा होस या दुखमा, एक्लै हुँदा होस् या समूहमा जहिले रक्सी चाहिन्छ । उनीहरू नै रक्सीबारे धेरै कुरा काटिरहेका हुन्छन् । रक्सीबारे दिमागभरी भ्रम र कुन्ठा पालेर बसिरहेका हुन्छन् । तिनलाई देख्दा दया लाग्छ ।