सिनेमामा माइला राई (दयाहाङ)को प्रवेश हुन्छ, भर्खरै बुनेका चित्राहरूको भारी सँगै; माइली राईनी (पशुपति राई) दस नङ्ग्रा खियाउँदा पनि ननिख्रिएको एक मुठी सास गाउँ छोडेर कतै लग्दा सन्चले फेर्न सकिन्छ कि भनेर जीवनको जिजिविषा एउटा सानो पोका, पन्तुरोमा च्यापेर माइलासँगै बसाइँ हिँडेको दुःख लाग्दो दृश्यसित दुई घण्टा लामो कथा सकिन्छ ।
एउटा सिने निर्देशकले लाखौँ दर्शकको महत्वपूर्ण समय दुई घण्टाको सिनेमा बनाएर दुईचार सयमा बिक्री गर्नु कम गाह्रो कुरो छैन । यद्यपि, सिनेमा बनाउनुको उद्देश्य अर्थोपार्जनमात्र भने होइन । त्यसमा पनि नवीन सुब्बा, जसले सोह्रवटा फिल्म बनाएको गुगल सर्चमा देखाउँछ । तर, बजारमा देखिएको ’नुमाफुङ’मात्र हो । उनी व्यावसायिक सिनेनिर्देशक भन्दा पनि एमेच्योर निर्देशक हुन् ।
अधिक चर्चाको ’नुमाफुङ’ सन् २००२ मा रिलिज भएको थियो । त्योभन्दा अघि सन् १९९१ तिर उनले बनाएको सर्ट फिल्म ’तरेबा’ र ’नुमाफुङ’ दुवै याक्थुङ (लिम्बू) जनजाति संस्कृतिप्रधान थिए । नुमाफुङपछि सिनेमा हलमा लाग्ने उनको पछिल्लो फिल्म ’गाउँ आएको बाटो,’ करिब २२ वर्षपछि आजबाट रिलिज हुँदैछ, जुन बान्तवा राई संस्कृतिप्रधान छ। नवीनले सिनेमा बन्ने लोकेसन मात्र फेरेनन्, पूरा फर्म्याट नै फेरेका छन् । अरू बहुजातीय तथा बहुजनजातीय सिनेमाहरू भटाभट बनाउनेछन् भनेर आशा एवम् विश्वास गरौँ ।
सम्भवतः नवीन सुब्बा नै पहिलो सिनेमा बनाउनेमा पर्छन्, कि नेपाली समाज एकलजातीय (Monoethnic) नभई बहुजातीय तथा बहुजनजातीय हो भनेर (Multiethnic) सिनेमाको पर्दाको माध्यमबाट भन्ने । त्यसकारण नै उनलाई नेपाली सिनेजगतका गेम चेन्जर हुन् भनेर बौद्धिक क्षेत्रले चिन्छन् ।
’गाउँ आएको बाटो’ नाउँले नै मेलोड्रामा भन्दा पनि बढी ड्रामा (आर्ट मुभी)जस्तो लाग्यो । मोटरबाटो गाउँमा आउँदा सँगसँगै आएको पब्लिक बसलाई स्वागत गर्न फूलको माला उन्ने, माला लिएर भेला हुने, पञ्चेबाजासहित नेताको भाषण आयोजना हुने, गाडीलाई फूलको माला लाइदिएको, आदि देख्दा कथा यही विषयमा केन्द्रित हुने रहेछजस्तो लाग्छ । तर, यस्ता अनगिन्ती भिन्नभिन्न घटना र पात्रहरू माइला, माइली र बाल कलाकार बिन्द्रे (प्रसन राई) वरिपरि बढी वास्तविक, गम्भीर र फरकफरक तवर र अर्थमा बुनेको पाउँदा गाउँकेन्द्रित एउटा जीवन्त सिनेमा बनेको रहेछ ।
मेलोड्रामा– नायकनायिकाबीचको ज्यानै लिनेदिने अवास्तविक माया; खलनायकको खेदो, बाउ–आमाको सहमति, असहमति, सकारात्मक र नकारात्मक भूमिकाले भरिएका कथा, गीत र संगीतको रमझम; फाइट, डाङडाङ–डुङडुङ, सेक्सका दृश्य हेरेर मनोरञ्जन हेर्न बानी लागेका दर्शकलाई खल्लो लाग्नसक्छ । बरू यो सिनेमामा त विकासको नाउँमा गाउँ आएको बाटो, ल्याएको सरसामानले दिएको सुविधा, स्वाद, रङ्गीन दुनियाँ र परनिर्भरताले जीर्ण बन्दो गाउँको परिवेश पाइन्छ । नारा, राजनीतिमा भन्दा पनि सूक्ष्म रूपमा माइला राईको दैनिकी र माइली राईनीको जीवनचर्यामा भेट्न सकिन्छ ।
मैले पशुपतिका ससाना औंलाहरू हेरेँ । खुम्चिएको अनुहार, हरपल पीडाले पोलिरहेको ओठ पढेँ । दयाहाङको कपाल र घाँटीमा र अनुहारमा पोतिएका गाला हेरेँ, फाटेका पैताला नछिर्ने प्लास्टिकको चप्पल हेरेँ । उनीहरू काठमाडौंका कलाकार नभई भोजपुरको कुनै बन्तावा गाउँको गाउँले दैनिकीमा पाएँ । गहिरियर हेर्योभने आम नेपालीले भनेको, देखेको र भोगेको विकास आम नेपालीको जीवनमा कति अर्थपूर्ण छ ? र पनि मरिहत्ते गरिरहेका छौँ । यो द्विविधा आम नेपालीले भोगिरहेको दैनिकी सिनेमाले घामजत्तिकै छर्लङ्ग बनाउन प्रयास गरेको पाएँ ।
दैनिकी जेजस्तो भएता पनि भविष्यको एउटा सुखद जीवनको आशा र भरोसा छोरो बिन्द्रेमा माइला राईले हुर्काउन खोजेको थियो । तर, अन्ततः त्यही विश्वास ’गाउँ आएको बाटो’मा दौडने थोत्रो बसले चोला उठाइदिएको दर्दनाक घटनाले माइलामाइलीको गाउँ शून्य बन्छ । यस्ता घटना नेपाली गाउँको आम नियति नै हो ।
अन्तमा कसले जित्यो, कसले हार्यो ? आमदर्शकले खोज्न सक्छन् । कथा लेख्ने महेश राई, निर्देशक नवीन सुब्बा र निर्माता अमोद राई यो विषयमा अनुत्तरित छन् । त्यसो त हरेक मामला हार र जीतको बाइनरी अपोजिसनमा पाउनैपर्ने हुन्न । अपितु फिल्मको वैचारिकी यदि हर मानव आजको पुँजीवादले फगत एउटा बजारिया वस्तु मानिरहेको, विशेषगरी तेस्रो, चौथो विश्वका अवस्थामा माइला राईका फिपी एकातिर बिक्री नहुने, अर्काेतिर बहुराष्ट्रिय कम्पनीको रङ्गीन टिभी किन्न नसकेर बिजोग माइलामाइलीलाई देख्दा, सिनेमा बनाउने मित्रहरू त्यही पुँजीवादको विकृतिलाई चिर्न यत्रो सृजना गरिरहेका छन् वा त्यही पुँजीवादको उपभोक्तावादको प्रचारप्रसार गर्न ’गाउँ आएको बाटो’ भएर छिर्न खोजिरहेका हुन् ! एउटा गम्भीर प्रश्नभने खडा गर्ने रहेछ ! तर त्यो बुझ्न सिनेमा भने हेर्नैपर्ने हुन्छ ।
जे होस्, एउटा बान्तवा राई संस्कृतिको लोकेसनमा एउटा जीवन्त चलचित्र हेरेर नेपाली गाउँले जीवनको भिन्न परिवेश बुझ्न र बुझाउन आमदर्शकहरूले ’गाउँ आएको बाटो’ हेर्न आवश्यक छ ।