– गणेशप्रसाद पौडेल
वैशाख कृष्णपक्ष औँसीको दिन नै ‘मातातिर्थ’ पर्व हो । यस दिनलाई “आमाको मुख हेर्ने दिन” दिनको रुपमा लिइन्छ । सधै झैं यस वर्ष पनि अधिकांशले विभिन्न तरिकाले आमाको मुख हेरेका छन् ।
‘जननी’ को अर्थ आमा र ‘जन्मभूमि’को अर्थ जन्मेको थलो स्वर्ग भन्दा प्यारो हुन्छ । जननी जन्मभूमि भनेर विद्वान संस्कृत शास्त्रमा उल्लेख छ । त्यसैले संसारको सबभन्दा प्यारो शब्द नै ‘आमा’ हो । संसारमा कुनैपनी प्राणीको जन्म दिने सृजना स्त्री नै ‘आमा’ हुन् । आमा शब्द आफैमा प¥याप्त छ । मानव मात्रै नभएर हरेक प्राणीले आफ्ना बालबच्चालाई बचाउन आहारा खोज्ने, खुवाउने, शत्रुबाट संरक्षण गर्ने जस्ता जिम्मेवारी लिइरहेका हुन्छन् । त्यसमा पनि चेतनशिल प्राणी हो मान्छे । आमाले पहिलो प्राथमिकता बच्चालाई दिन्छन् । आफू खाएर या नखाएर, अनेक दुखकष्ट सहेर कुनै कुराको प्रवाह नगरी छोराछोरीप्रति समर्पित हुन्छन् । आमाको ममता, भूमिका र जिम्मेवारीको न्याय हुने कुनै शब्द नै छैन भने पनि हुन्छ ।
विडम्बना नै भनौं कतिपय त्यस्ता आमाहरु छन् जो छोराछारी, परिवारका सबै सदस्यहरु हुँदाहुँदै बृद्धाश्रममा आश्रय लिनुपरेको छ । कति आमाहरु आफ्नै सन्तानहरुबाट अपहेलित भएर बाँच्नु परेको छ ।
आफू भोकै बसेर बच्चालाई खुवाउने आमा, आफू नाङ्गो भएर सन्तानको शरीर ढाक्ने आमा, आफू रोएर सन्तानलाई हँसाउन चाहाने आमा, आफू मरेर सन्तान बचाउने आमा उमेर ढल्दिै गएपछि एक्लिदै जाने गर्छन् । पछिल्लो समय सामाजिक संजाल प्रदर्शन गर्ने थलो बन्न थालेको छ । ती वर्षभरी एक्लै समय कटाएकी आमाको तस्वीर वर्षमा एकपटक मातातीर्थ औँसीको दिन छोरोछोरीको फेसबुक वालमा टाँसिने गर्छ । फेरि पनि आमाको एक्लोपना, दुःख त आमासँगै हुन्छ ।
समयचक्र त सबैको एउटै हो । त्यही छोराछोरी एकदिन आमाबुबा बन्ने हो । र, त्यहि बाबुआमाको उमेरमा प्रवेश गर्ने हो । तर यी सबै कुरा विर्सिएर कतिपयले आफ्ना बाबुआमालाई बृद्धाश्रममा राख्ने, अवहेलना गर्ने, बृद्धावस्थाको आमाको दुःखमा साथ नदिने तर वर्षमा एकदिन सामाजिक संजालतमा खोक्रो प्रेम प्रदर्शन गर्ने गरेको देखिन्छ । जुन यसपटकको मातातीर्थ औँसीमा पनि देखिएको थियो । यस्तो कार्य आमाको स्नेह र जिम्मेवारीप्रतिको अपमान हो ।
त्यसो त सबैले एकै किसिमको व्यावहार गर्छन् भन्ने हुँदैन । कतिपय यस्ता पनि छन् जसले मातातीर्थ औँसीको दिनलाई आमाको खुशीको दिनको रुपमा पनि लिने गर्दछन् । अरु यस दिनलाई अझ विशेष दिनको रुपमा लिएर आमालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने गर्दछन् ।
वास्तवमा आमाको स्नेह, प्रेम र त्यागलाई बुझेर आमाको सुखदुखमा साथ दिन सक्नु नै असल सन्तान बन्न सक्नुु हो । धर्मात्मा हुनु हो । पुण्य आर्जन गर्नु हो । भन्छिन नि ‘भगवानले लड्डु, अबुद्धिले खड्डु, वकिलले धन र आमाले मन पराउछन् ।’ अतः जीवन रहुन्जेल आमाको हरेक दुःखसुखमा नजिक रहुनु नै पुन्य प्राप्त गर्नु हो ।