April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसमा चरित्र अभाव

4.1K

काठमाडौँ- आजभन्दा करिब ८३ वर्षअघि अर्थात् सन् १९३७ मा काठमाडौंमा असनटोलनिवासी राजालाल कलवारको निवासमा शुक्रराज शास्त्री, केदारमान व्यथित, मुरलीधर शर्मा, गंगालाल श्रेष्ठ, शंकरप्रसाद शर्मा, आनन्दराज र रामचन्द्र सापकोटाहरू मिलेर तत्कालीन एकतन्त्रीय राणाशासनविरुद्ध स्थापना गरिएको ‘नेपाली नागरिक अधिकार समिति’ नै आजको नेपाली कांग्रेसको पहिलो जग थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा यो नागरिक अधिकार समितिले क्रान्तिको झिल्को बालेपछि २००३ सालमा वाराणसीमा गठित ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ र २००५ साउन १ गते कलकत्तामा स्थापित ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को २००६ चैत २७ गते तदनुसार सन् १९५० अप्रिल २५ मा कलकत्ताको टाइगर सिनेमा हलपरिसरमा ‘नेपाली कांग्रेस’ को विधिवत् स्थापना, गठन र विस्तार भएको देखिन्छ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो र जेठो राजनीतिक दल नेपाली कांग्रेस हो। टंकप्रसाद आचार्य, सुवर्णशमशेर, बीपी कोइराला, महेन्द्रनारायण निधि, दिवानसिंह राई, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सरोज कोइराला, क्याप्टेन यज्ञबहादुर थापा, गिरिजाप्रसाद कोइराला आदिले विभिन्न संघर्ष, यातना, जेलनेल र बलिदानबाट मलजल गरेको यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्यसहित हरेक आन्दोलनको नेतृत्व गरी नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले पनि नजिकबाट अनुभव गरेको छ।

विश्वमा स्वतन्त्र सार्वभौम राष्ट्रका रूपमा रहेको नेपाल र नेपालीको पहिचान स्थापना गर्ने दिशामा अग्रणी भूमिका खेलेको यो पार्टी यसबेला आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुट, अन्योल र आपसी स्वार्थबाट झन्डै क्षतविक्षत् हुन पुगेको छ। यसका विसंगति पक्ष केलाएर हेर्ने हो भने प्रमुख रूपमा यसबेला पार्टी नीति, सिद्धान्त, विधि र प्रणालीबाट चलेको छैन।

Advertisement

कांग्रेसमा चरित्र निर्माण गरेर पार्टी पंत्तिाmलाई शुद्घीकरण गर्दै आधुनिक, परिष्कृत, सुसंस्कृत, जनउपयोगी, लोकप्रिय चरित्रको कांग्रेस निर्माण गर्न सक्नु नै आजको आवश्यकता हो।

नेपाली कांग्रेसमा सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा, भेषभूषा भएका दलित, जनजाति, आदिवासी, पिछडा वर्ग, उत्पीडित, मधेसी, थारू, दनुवार, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, मगर, धानुक, कोचे, मेचे, राजवंशी आदि र महिला वर्गको बाहुल्य रहेको छ।

यसले आफ्ना सिद्धान्त र कार्यक्रममा सबै नेपालीलाई प्रतिविम्बित हुने गरी सम्बोधन गरेजस्तो देखिए पनि वर्गीय मुक्ति र स्वाधीनताका लागि प्रत्याभूति हुने गरी उल्लेखनीय योगदान निर्वाह गर्न नसकेको कटुसत्यलाई नेतृत्व तहले स्वीकार गर्नैपर्छ।

यसो हुनुमा नेतृत्व पंक्ति मात्र दोषी छैन, कार्यकर्ता पनि जिम्मेवार छन्। किनभने नेता र कार्यकर्ताबीच एउटा लामो रिक्तता छ। नेतालाई मालिकका रूपमा प्रतिस्थापित गरेर कार्यकर्ता स्वयं दास मानसिकताबाट सञ्चालित छन्। नेतृत्व पंक्तिको मालिक मनोवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन। यसो हुनुको प्रमुख कारण के हो भने जो नेता आफू यसबेला सामन्तवादी मालिकपनको संस्कारबाट स्थापित छ, ऊ कुनै बेला विगतमा आफ्ना अग्रणी नेताकै आरती उतारेर नवनेता हुन पुगेको देखिन्छ। चाहे ऊ नेविसंको विद्यार्थी हुँदा होस् वा तरुणदल, महिला संघमा रहँदा होस्, ती सबै सामन्ती मालिक संस्कारमा उन्मत्त रहेका नेताकै वरिपरि रहेर चाकरी, चाप्लुसीका भरमा स्थापित हुन पुगेका देखिन्छन्।

 संगठनमा नीति, सिद्धान्त, प्रतिबद्धता र इमानदारीसहितका स्पष्ट कार्ययोजना तय गरिएको छैन। देश, काल र अन्तर्राष्ट्रिय परिस्थितिमाथि चिन्तन गर्ने प्रवृत्ति देखिएको छैन। विगत इतिहासलाई मात्र भजाउने कार्य भइरहेको छ। ०७ सालको क्रान्ति, ०३६ सालको जनमतसंग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२/०६३ को गणतान्त्रिक आन्दोलन, संविधानसभाको निर्वाचन र संविधान निर्माण, संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय निर्वाचनको नेतृत्व गरेका बहानामा जनतालाई कृत्रिम भ्रम सिर्जना गर्ने कार्य मात्र भइरहेको देखिन्छ। नेपाली कांग्रेसमा आबद्ध तमाम कार्यकर्तालाई किनारा लगाएर नेताका व्यक्तिगत स्वार्थपूर्ति हुने गरी निर्णय गर्ने परिपाटी विकसित छ, जहाँ संस्थागत निर्णय गर्नेतर्फ अग्रसरता देखाइँदैन। स्मरण रहोस्, २०४८ सालपछि नेपाली कांग्रेसको सरकार निर्माण भएपछि तत्कालीन सरकारका मन्त्रीहरूले गरेका राजनीतिक नियुक्तिहरू व्यक्तिगत सम्पर्क र आफ्ना नातागोतालाई प्रदान गरेर पार्टी पंक्तिमा अराजकता र अन्योल सिर्जना गरिएको थियो, जसको परिणाम भिसा–पासपोर्ट बनाउन दुरुपयोग भएको ठहर कसैबाट छिपेर रहेको छैन। यसरी कांग्रेसी नेता/मन्त्रीहरूबाट नियुक्त भएका अधिकांश व्यक्तिलाई गलत ढंगबाट प्रदान गरिएका अवसर, सुविधालगायत भिसा पासपोर्टबाट विदेश पलायन हुन मद्दत गर्‍यो। यस्ता विसंगति अनेक छन्। ती सबैतर्फ नजाऔं। त्यो छुट्टै बहसको विषय बन्ला।

पार्टीमा सही र स्वच्छ छवि भएका संघर्षशील, इमानदार कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन। नेताका स्वकीय सचिवहरूले सिफारिस गरेका व्यक्तिहरू नै कांग्रेसी भएर हालीमुहाली गर्ने प्रवृत्तिको दबदबा छ। यिनकै मात्र मूल्यांकन र सम्मान हुने परिपाटीले जरा गाडेको छ। नेताका घरदैलोमा पुगेर शुभकामना दिने, नेताकै अघिल्तिर बसेर प्रशंसा गर्ने र नेताकै चाकडी–चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति चरमचुलीमा पुगेको देखिन्छ।

यहाँ कांग्रेसभित्र रहेका अनगिन्ती विसंगति र चुनौतीमाथि धेरै गुनासो गरिरहन आवश्यक ठान्दिनँ। कांग्रेसमा चरित्र निर्माण गरेर पार्टी पंक्तिलाई शुद्धीकरण गर्दै आधुनिक, परिष्कृत, सुसंस्कृत, जनउपयोगी, लोकप्रिय चरित्रको कांग्रेस निर्माण गर्न सक्नु नै आजको आवश्यकता हो। तत्काल कांग्रेसमा सुधार गर्न केही सुझाव प्रस्तुत गर्न चाहन्छु।

नेपाली कांग्रेसले देश र जनताका लागि आजसम्म गरेका उपलब्धिका बारेमा जनस्तरसम्म सहज, सर्वसुलभ माध्यमबाट प्रत्याभूत गराउन यथाशीघ्र पहल गर्न आवश्यक छ। कोठामा बसेर प्रेस विज्ञप्ति र भाषणबाट मात्र यस्ता कार्य पुष्टि हुँदैनन्। संगठनलाई सबल तुल्याउन बुथ, एकाइ, गाउँ, वडा, नगर र जिल्लासम्म पुगेर संगठनात्मक संरचना निर्माण र परिचालन गर्नुपर्ने देखिन्छ। यसैगरी नेपाली कांग्रेसको भ्रातृ, शुभेच्छुक र जनवर्गीय संगठनलाई सम्मान, सुरक्षा र पहिचानको अनुभूति प्रत्याभूत गराएर ती सबैलाई कार्यकुशलताका आधारमा यथोचित प्रतिनिधित्व गर्नुपर्ने ग्यारेन्टी पनि आवश्यक छ।

 नेपाली कांग्रेसका समग्र उपलब्धिमूलक कार्यक्रमलाई देशविदेशमा सञ्चार गराएर सम्पूर्ण कांग्रेसप्रेमी शुभेच्छुकलाई मनोबल र ऊर्जा सञ्चार गर्न ‘सञ्चारमाध्यम’ लाई महत्त्व र प्राथमिकता दिन आवश्यक छ। नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, सुवर्णशमशेर, गणेशमानजी, किसुनजी, गिरिजाबाबु, महेन्द्रनारायण निधि, त्यसपछिका नेताहरू सुशील कोइराला, भीमबहादुर तामाङ, केबी गुरुङ, शैलजा आचार्य, सीके प्रसाई, सुशीला कोइराला, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानीजस्ता शीर्षस्थ सम्मानित र आदर्श व्यक्तित्वहरूका मार्गमा कांग्रेसलाई हिँडाउन सक्ने नेतृत्व वर्ग चयन हुन आवश्यक छ।

नेपाली कांग्रेसले बीपी कोइराला, गणेशमानजी वा किसुनजीका नाम भजाएर मात्र अबका कार्यकर्ता सन्तुष्ट हुने छैनन्। पार्टी पंक्तिदेखि कार्यकर्तासम्मले चरित्र निर्माण गरेर स्वाधीनता, स्वाभिमानी र आत्मनिर्भर भई अगाडि बढ्न सक्नु आजको अपरिहार्य हो। यसैगरी नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रजातान्त्रिक र पारदर्शी ढंगबाट कार्य गर्न आवश्यक छ, जसका लागि नेताले कार्यकर्ता चयन गर्ने होइन, कार्यकर्ताले नेता चुन्ने पद्धतिको विकास गर्न आवश्यक छ।

कांग्रेस सुधारका लागि ठूलै क्रान्ति गर्न आवश्यक छैन। दास मानसिकताबाट मुक्त भई माथि संकेत गरिएका विसंगति सुधार गर्दै अघि बढेमा नेपाली कांग्रेस आफ्नो गन्तव्यमा पुग्न सक्ने निश्चित छ। यसका लागि हामीले अरूलाई आरोप लगाउनेभन्दा अब आफैंबाट असल चरित्र निर्माणमा लाग्नुपर्ने समय आइसकेको छ। कांग्रेस जिम्मेवार बन्न कांग्रेसीहरूमा आमूल परिवर्तनको खाँचो छ। हामीले हाम्रा आदर्श सम्झिऔं। पार्टी संस्थापक र अग्रज नेताहरूले देखाएको सत्मार्गमा हिँड्ने प्रण गरौं। तब मात्रै जनताले कांग्रेसलाई आशा, भरोसा र विश्वास गर्ने पार्टी ठान्नेछन्।annapurnapost

–थापा नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति हुन्।