April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सीमा विवादको विषयमा गुम्सिएर बस्नुपर्ने बाध्यता छ : मन्त्री अर्याल

4.9K

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले  नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने बताएकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आइतबार  गरेको नेपाल भारतबीचको सीमा यथार्थ र चुनौति विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकुस भएर बस्नुपर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको सुनाइन्।

सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल-भारत बीचको सीमा निर्धारण भएको उल्लेख गर्दै उनले कालपानी र सुस्तामा मुख्य विवाद रहेको बताइन्। उनले नेपाल भारतबीच भएका ऐतिहासिक दस्तावेजले ती क्षेत्रलाई नेपालको भूभाग हुन् भनी निर्धारण गरेपछि नापजाँच गर्न जाने क्रममा भारतको तर्फबाट अवरोध भएपछि विवाद सुरु भएको उनको भनाइ थियो। मन्त्री अर्यालले सुस्ताको सीमा विवाद समाधान उन्मुख रहेको र दुई देशबीचको सहमति औपचारिक रुपमा घोषणा हुन बाँकी बताइन्।

उनले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा ल्याउने  काम मिचिएको जमिन जुनसुकै हालतमा फिर्ता लिने दृढता व्यक्त गरिन्। उनले नेपालले आफ्नो भूमिलाई नक्सामा राखेपछि नेपाल र भारतबीच यो विषय पेचिलो हुँदै गएको सम्बन्धमा चिसोपन आएपछि करिब १ वर्ष दुई देशबीच संवादहीनता भएको स्वीकार गरिन्। पछिल्लो समय नेपाल भारतबीच संवाद सुरु भएपछि दुवै देश सीमा विवाद समस्या समधानका लागि निकै सकारात्मक रुपमा अघि बढेको उनले बताइन्।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेसर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे।

प्राफेसर सुवेदीले भारतले नेपालको सिमा विवादलाई वार्ताद्वारा समाधान गर्न नचाहेमा अन्तराष्ट्रिय कानुनको सहारा लिन सकिने बताए। उनले नेपाल-भारतबीचको सीमा विवाद वार्ताद्वारा समाधान नभए त्यसको विकल्पमा जान सकिने सुझाव नेपाल सरकारलाई दिएको बताए। उनले भारत र नेपाल दुवै देश लोकतन्त्र र ‘रुल अफ ल’मा विश्वास गर्ने भएको हुँदा नेपाल गुमाएको भूमि फिर्ता पाउनेमा आशावादी रहेको बताए।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले देशको सीमा सुरक्षाको लागि विदेशमा रहेका नेपालीहरु नेपाल सरकारसँग साथ रहेको बताउँदै भारतले मिचेको भूमि फिर्ता लिन विदेशमा हरेका नेपाली प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रियता एउटा भूगोलभित्र मात्र सीमित नहुने बताउँदै विश्वभर छरिएका नेपालीहरु नेपालको सीमा रक्षाको लागि तयार रहेको बताए।  उनले भूमि फिर्ताको प्रकृया लामो यात्रा रहेको बताए।

एनआरएनए युकेका पूर्वअध्यक्ष महेन्द्र कँडेलले नेपाल भारतबीचको सीमा विवादमा राजनीतिक दलहरुले चुनावी अजेण्डाको रुपमा लैजादा राष्ट्रियता कमजोर भएको बताए। उनले सिमामा भएका समस्यालाई पहिचान गरेर प्रष्ट नीति बनाउन जरुरी रहेको जनाए।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजिना प्रधानले गरेकी थिइन् भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुनिल खड्काले गरेका थिए।nepallive