April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

किन छ ? राष्ट्रपतिबाट हटेपछि डोनाल्ड ट्रम्प जेल पर्नसक्ने सम्भावना !

२०७७ कार्तिक २५

2.8K

एजेन्सी – अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आइसकेको छ र त्यहाँका जनताले जो बाइडनलाई राष्ट्रपति चुनिसकेका छन्। 

बाइडनसँग पराजित भएसँगै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने कार्यकाल दोहोर्‍याउन विफल रहे। तर, ट्रम्पले चुनाव मात्रै हारेका छैनन्, आगामी दिन उनका लागि निकै कठिन रहेको बीबीसीमा उल्लेख छ। 

विशेषज्ञहरूका अनुसार ट्रम्पको कार्यकालमा भएका भनिएका घोटालाहरूमाथि भएको अनुसन्धान प्रतिवेदनहरू हेर्दा उनीमाथि आपराधिक कारबाही हुनसक्छ। कुलिन व्यापारी ट्रम्पमाथि कारबाही हुँदा उनले निकै कठिन वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन्छ। 

Advertisement

अनियमितता र घोटालाका दर्जनौं आरोप भएपनि राष्ट्रपति पदमा रहँदा उनीविरुद्ध आधिकारिक रुपमा मुद्दा चलाउन सकिँदैन। त्यसैले यतिखेर ट्रम्पले चुनाव हारेपनि आफैँले जितेको दावी गरिरहेका छन् भने जो बाइडनका लागि ह्वाइटहाउस सजिलै नछाड्ने संकेत देखाइरहेका छन्। 

न्यूयोर्कमा एक दशकसम्म अभियोक्ताका हैसियतमा काम गरिसकेका पेस विश्वविद्यालयमा संवैधानिक कानूनका प्राध्यापक ब्यानेट गर्सम्यानले बीबीसीसँग भनेका छन्, ‘पद छाडेपछि डोनाल्ड ट्रम्पमाथि आपराधिक मामिलामा कारबाही हुने सम्भावना छ।’

बैंक र कर घोटाला, मुद्रा अपचलन, चुनावी घोटालाजस्ता आरोप लगाउन ट्रम्प आफैंले प्रशस्त ठाउँ बनाएका छन्, उनको कामसँग जोडिएका विवादास्पद वित्तीय जानकारीहरू मिडियामै आइसकेका छन्।

कुरा यत्तिमा मात्र सीमित छैन। अमेरिकी मिडियाहरूले उल्लेख गरेअनुसार कारबाही प्रकृया अघि बढ्दा ट्रम्पले निकै ठूलो वित्तीय घाटा सामना गर्नुपर्ने हुनसक्छ। कारबाही हुनासाथ निजी ऋण र व्यापारिक कारोबार गिरावटले ट्रम्पलाई निकै कमजोर तुल्याउनेछ। 

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आउँदो चार वर्षभित्र ३० करोड डलर (झन्डै ३६ अर्ब नेपाली रुपैयाँ) बराबर ऋण चुकाउनुपर्नेछ। यतिखेर उनले गरेको निजी लगानीबाट राम्रो प्रतिफल प्राप्त गरिरहेका छैनन्। 

राष्ट्रपति पदमा नरहनासाथ ऋण भुक्तानीका लागि ट्रम्पमाथि ताकेता बढ्नेछ र ऋण दिएकाहरूले कडा रवैया देखाउनेछन्। किनकी, ओह्रालो लागेको मृगलाई बाछोले पनि खेद्छ।

आलोचकहरूका अनुसार ट्रम्पका लागि राष्ट्रपति पद कानूनी तथा वित्तीय समस्याबाट बच्ने रक्षाकवच बनिरहेको छ। यदी उनी राष्ट्रपति हुँदैनथे भने यतिखेर व्यक्तिगत व्यवसायिक जीवनमा निकै ठूला कठिनाइ सामना गरिरहेका हुन्थे। 

ट्रम्प स्वयमले आफू दुस्मनको षडयन्त्रमा शिकार भएको बताउने गरेका छन्। राष्ट्रपति बन्नुभन्दा पहिले र पदमा रहँदा आफूमाथि अपराध गरेको झुठो आरोप लगाइएको उनले बारम्बार दोहोर्‍याउने गरेका छन्। आफूमाथि लागेको आरोप अस्वीकार गरेपनि ह्वाइटहाउस छाडेपछि ट्रम्पलाई उम्कन सहज नहुने बताइन्छ। 

पदमा रहँदा ट्रम्प आफूमाथि लागेका केही आरोपबाट भाग्यवश बचेका पनि छन्। आफ्नो प्रशासनमाथि लागेको घोटाला आरोपमाथि अमेरिकी न्याय विभागले गरेको जाँच र यसै वर्षको शुरुवातमा लागेको महाअभियोगबाट ट्रम्प सजिलै उम्किएका हुन्। 

तर, न्याय विभागले राष्ट्रपति पदमा रहेकै कारण ट्रम्पलाई उन्मुक्ति मिलेको बारम्बार बताउने गरेको छ। किनकी पदमा रहेका राष्ट्रपति विरुद्ध विभागले आपराधिक मुद्दा चलाउन सक्दैन। तर, यसअघि भएका जाँचबाट प्राप्त प्रमाण नै ट्रम्पलाई जेल पुर्‍याउने भरपर्दा आधार हुनसक्छन्। 

प्राध्यापक गर्सम्यान भन्छन्, ‘सबैभन्दा पहिले त ट्रम्पमाथि मतदातालाई झुक्याएको आरोप लाग्न सक्छ, किनकी म्यानहटनका लागि अमेरिकी अटोर्नीले ट्रम्पलाई माइकल कोहेनका साथ षडयन्त्रमा सामेल भएको बताइसकेका छन्।’

डोनाल्ड ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनविरुद्ध जाँच भएको थियो र त्यसलाई रोक्न ट्रम्पले सक्दो प्रयास पनि गरेकै थियो। तर सन् २०१८ मा कोहेनलाइ चुनावी धाँधलीका लागि दोषी ठहर्‍याइएको थियो। साथै, उनीमाथि डोनाल्ड ट्रम्पसँग यौनसम्बन्ध रहेको दावी गर्ने पोर्न स्थार स्टार्मा डेनियल्सलाई मौन राख्न सन् २०१६ को चुनावमा रकम दिएको आरोप लागेको थियो। 

माइकल कोहेनमाथि जाँच गर्दा विभागले आधिकारिक रुपमै राष्ट्रपति पदका एक उम्मेदवार (नाम उल्लेख गर्न नमिल्ने भएकाले विभागले इन्डिभिज्युअल १ कोड गरेको थियो,) आपराधिक गतिविधिमा जोडिएको पाइएको जनाएको थियो। अमेरिकाका मिडियाहरूले इन्डिभिज्युअल १ डोनाल्ड ट्रम्प नै भएको बताउने गरेका छन्। खुफिया स्रोतहरूलाई हवाला दिँदै अमेरिकी मिडियाहरूले यो खबर व्यापक रुपमा प्रकाशन/प्रसारण गरेका थिए।

सन् २०१९ मा स्पेशल काउन्सिलमा रोबर्ट मुलरले सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको अनुसन्धान रिपोर्ट बुझाएका थिए। प्राध्यापक गर्सम्यान मुलर प्रतिवेदनबमोजिम पनि ट्रम्पमाथि न्यायसम्पादन अवरोध गरेको आरोप लाग्न सक्नेछ।

ह्वाइट हाउसबाट दबाब भएपछि ट्रम्पलाई क्लिनचिट दिइएको थियो। त्यतिखेर ट्रम्पको चुनावी प्रचार समूह र रुसबीच कुनै पनि प्रकारको सांठगांठ रहेको पर्याप्त प्रमाण नभएको भनिएको थियो। 

तर, सो रिपोर्टमा डोनाल्ड ट्रम्पले अनुसन्धानमा अवरोधको प्रयास गरेको उल्लेख छ। ट्रम्पले मुलरलाई उनको पदबाटै हटाउने कोशिश पनि गरेका थिए। यसो गरिएपछि मुलरले अमेरिकी संसदहरूलाई ट्रम्पमाथि न्यायमा बाधा पुर्‍याएको आरोपमा महाभियोग चलाउन आवश्यक रहेको या नरहेको भन्ने प्रश्न खडा गरेका थिए। किनकी, बहालवाला राष्ट्रपतिमाथि सामान्य ढंगले महाभियोग चलाउन सम्भव हुँदैन। यसका लागि सांसदहरूले नै पहल गर्नुपर्ने थियो। 

त्यतिखेर अमेरिकी संसदले मुलर प्रतिवेदनकै आधारमा ट्रम्पविरुद्ध महाभियोग त लगाइहालेन, तर एक महिनापछि एक फरक मामिलामा महाभियोग दर्ता गरियो। 

राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनमाथि जाँच शुरु गर्न युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लाग्यो। तर, यसो नगरेको भन्दै ट्रम्पले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहे। 

सन् २०१९ डिसेम्बरमा डेमोक्रेट्स सांसदहरूको बाहुल्यता रहेको हाउस अफ रिप्रेजेन्टेटीभमा उनीमाथि महाअभियोग गर्दा गरियो। तर सन् २०२० फेब्रुअरी महिनामा रिपब्लिकन सांसदहरूको बहुमत रहेको सिनेटले उनलाई अपराधमुक्त घोषणा गरिदियो। अमेरिकी इतिहासमा डोनाल्ड ट्रम्प महाअभियोग सामना गर्ने तेस्रा राष्ट्रपति बने।

राष्ट्रपति पदमा रहँदा त ट्रम्पले संघीय कानून उल्लंघनको मामिलामा आफैँलाई माफी दिने प्रयास गर्न सक्छन्। तर अमेरिकाको इतिहासमा अहिलेसम्म कोही राष्ट्रपतिले यसो गरेको छैन। 

तर पदबाट हटेपछि नयाँ राष्ट्रपतिले माफी दिएका उदाहरण भने अमेरिकी राजनीतिमा छ। सन् १९७४ मा पूर्व राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट कान्डपछि राजीनामा दिएका थिए। सो पश्चात राष्ट्रपति बनेका जेरल्ड फोडले निक्सनलाई पूर्ण रुपमा माफी दिएका थिए। 

कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइज इन्स्टिीच्युटका विशेषज्ञ नार्मन आर्नस्टीन भन्छन्, ‘ट्रम्पमाथि संघीय आरोप लाग्ने सम्भावना निकै कम हुन्थ्यो, किनकी पदमा दोहोरिएका भए उनले आफूलाई चोख्याउन सक्थे्। तर चुनाव हारेको अवस्थामा उनले यसो गर्नसक्ने छैनन्।’ 

आफ्नो पक्षमा निराशाजनक अवस्था निम्तिइसकेकाले, ट्रम्पका लागि अब चोरबाटो चाहिँ हुनसक्छ। यसका लागि उनले २०२१ जनवरी २० गतेअघि कार्यकाल पूरा नहुँदै राजीनामा दिन सक्छन् र हालका उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति घोषणा गर्न सक्छन्। यसपछि पेन्सले माफी दिँदै उनलाई संघीय अपराधबाट उन्मुक्ति दिनसक्छन्। 

अमेरिकी मिडियाहरूले भने ट्रम्पमाथि संघीयमात्र नभई स्थानीयस्तरमा अपराध गरेको आरोप पनि रहेको उल्लेख गर्ने गरेका छन्। राष्ट्रपति बन्नुअघि घरजग्गा कारोबारमा घोटाला गरेको आरोप ट्रम्पमाथि लागेको छ। स्थानीयस्तरमा लाग्ने आरोपमा माफी पाउने सम्भावना हुँदैन। 

एकाथरी विशेषज्ञहरू चाहिँ प्रमाण भएपनि ट्रम्पमाथ कारबाही हुन्छ नै भन्ने निश्चित नरहेको बताउँछन्। उनीहरूका अनुसार यो एक राजनीतिक फैसला हुनेछ।

राष्ट्रपति निर्वाचित जो बाइडनले अगस्ट ६ मा भएको एक साक्षात्कारमा आफू राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पका विरुद्ध अपराध अनुसन्धानलाई आफूले विरोध र बढावा नदिने बताइसकेका छन्। न्याय विभागलाई नै यसबारे फैसला गर्ने पूर्ण अधिकार दिइने उनको भनाई छ। 

ट्रम्पले आफूमाथि लागेको आरोपको खण्डन गर्न महिनौं या वर्षौंसम्म अदालत धाउने स्थिति आउनसक्ने अभियोक्ता गर्सम्यान बनाउँछन्। अमेरिकी कानूनका जानकारहरूका अनुसार दोषी ठहर भएमा ट्रम्प वर्षाैंसम्म जेलमा बस्नुपर्ने हुनसक्छ।