२३ कात्तिक, काठमाडौं । महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ ।
आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।
अमेरिकाको इतिहासमा बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति हुने रेकर्ड बनाएका छन् । उनी दुई सातापछि ७८ वर्ष पुग्दैछन् । चार वर्षे कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् ।
यसअघि वृद्ध उमेरको राष्ट्रपतिको रेकर्ड डोनाल्ड ट्रम्पले बनाएका थिए । तर, बाइडनले ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई मात्रै पराजित गरेनन्, उमेर हदको रेकर्ड पनि तोडिदिए ।
ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । सन् २०१६ राष्ट्रपति बन्दा ट्रम्प ७० वर्ष पूरा भएका थिए । उनी अहिले ७४ वर्ष पुगेका छन् ।
मध्यमवर्गीय धरातल
बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो । उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो ।
उनका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे । सुरुमा भक्भकाउँदै बोल्ने बाइडन राम्रोसँग आफ्नो कुरा राख्न सक्दैनथे । पछि उनले लामा वाक्यहरु कण्ठस्थ गर्दै त्यसलाई ऐनाअघि बसेर भन्ने अभ्यास गरे र आफ्नो कमजोरीमा सुधार ल्याए । उनको यो संघर्षले अरुलाई पनि उत्प्रेरणा दिन सक्छ ।
स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडनले विद्यालयका झ्याल पुछ्ने र विवाह समारोहको बगैंचा सफा गर्नेलगायतका कामहरु गरे ।
पढाइमा राम्रो रुचि राख्ने बाइडन फुटबल पनि खेल्न रुचाउँथे । तर, बिस्तारै उनको ध्यान राजनीतितर्फ मोडियो ।
सन् १९६६ मा बाइडेनको नेइलिया हन्टरसँग विवाह भयो । सन् १९७२ मा उनी पहिलोपटक अमेरिकाको सिनेटको चुनाव जितेर शपथ लिने तयारी गरिरहँदा पत्नी र एक छोरीको कार दुर्घटनामा मृत्यु भयो । उनका दुई छोरा ब्यू र हन्टर पनि घाइते भए । सन् २०१५ मा ४६ वर्षको उमेरमा दुर्घटनामा बचेका ब्यूको पनि ब्रेन ट्युमरका कारण मृत्यु भयो ।
यद्यपि बाइडनका अर्का छोरा हन्टरको कथा भने केही फरक छ । हन्टरले वकिलको अभ्यास गरेका थिए र यसको काम पनि शुरु गरेका थिए । त्यसपछि उनको जिन्दगी कसैले सम्हाल्न गर्न नसक्ने अवस्थामा पुग्यो ।
हन्टरकी पहिली पत्नीले हन्टरलाई मदिरा र लागू औषध प्रयोग गरेको लगायतका कारण देखाउँदै सम्बन्धविच्छेद गरिन् । कोकिन सेवन गरेको पाइएपछि हन्टरलाई अमेरिकाको नौसेनाको रोजगारीबाट पनि हटाइयो ।
उनले एक अन्तर्वार्तामा चिनियाँ व्यापारीले उपचारमा हीरा दिएको बताएका थिए । तर, ती व्यापारीमाथि चीनले भ्रष्टाचारको आरोपमा अनुसन्धान गरेको थियो ।
छोरा हन्टरका कारण बाइडनको राजनीतिमा धक्का लाग्यो । हन्टरको अस्वभाविक आम्दानीको विषयमा पनि प्रश्न उठेको छ । हन्टरले उल्लेख्य तलब लिनेमध्येको एक रोजगारी युक्रेनमा पनि थियो । यसै विषयलाई लिएर युक्रेनलाई ट्रम्पले भ्रष्टाचारको मामिलामा अनुसन्धानका लागि दबाव दिएका थिए, जसलाई लिएर ट्रम्पले महाभियोगको सामना गर्नुपरेको थियो ।
प्रथम पत्नीको निधनपछि बाइडेनले जिल बाइडेनसँग दोस्रो विवाह गरे ।
पहिले वकिल, पछि नेता
सन् १९६८ मा बाइडेनले कानुनमा स्नातक गरे । त्यसपछि उनले एक ल र्फममा कानूनी अभ्यास गर्न थाले । साथै उनले डेमोक्रेटिक पार्टीको सक्रिय सदस्यता पनि लिए । सन् १९७० मा उनी न्यु कास्टलको कन्ट्री काउन्सिलमा निर्वाचित भए ।
बाइडन सन् २००८ मा राष्ट्रपति बाराक ओबामासँगै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसपछिको आठ वर्ष उपराष्ट्रपतिका रुपमा काम गरेका उनले चार वर्षपछि राष्ट्रपतिमा जित हात पारेका छन् ।
बाइडन अमेरिकाको राष्ट्रपति बन्नका लागि गरेको तेस्रो प्रयासमा बल्ल सफल भएका हुन् । उनले तीन दशकभन्दा लामो समय अमेरिकाको माथिल्लो संसद् सिनेटमा बिताएका छन् ।
बाइडनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गरेका थिए । तर, त्यसको ३३ वर्षपछि उनी विश्वको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति बन्न पुगेका छन् ।
विदेश मामिलामा अनुभवी
उपराष्ट्रपति बनेर शासनको अनुभव गरिसकेका बाइडनको विदेश मामिलामा पनि लामो समयको अनुभव छ । उनले ४५ वर्षमा विश्वका सबैजसो प्रमुख नेतासँग भेट गरिसकेको दाबी गर्ने गरेका छन् ।
बाइडेन सन् १९९१ मा भएको खाडीयुद्धको विपक्षमा उभिएका थिए भने सन् २००३ मा इराकमा आक्रमण गर्ने पक्षमा मतदान गरेका थिए । यद्यपि आक्रमणपछि इराकलाई पुगेको नोक्सानबारे भने उनले अमेरिकाको कडा आलोचना गरेका थिए ।
ओसामा बिन लादेन मार्ने बेलामा बाइडनले सो आक्रमण नगर्न सल्लाह दिएका थिए । गत जनवरीमा एक ड्रोन आक्रमणमा इरानका जनरल कासिम सुनेमानीको हत्याको आदेशमा भने बाइडनले खुलेर समर्थन गरेका थिए ।
अधिकांश विदेश मामिलामा बाइडनले मध्यमार्गी बाटो रोज्दै आएका छन् । उनको पार्टी डेमोक्रेटिक अमेरिकामा उदारवादी पार्टी मानिन्छ । यसर्थ बाइडेनले लिने नीति पनि नरम प्रकारको हुने कतिपयको विश्लेषण छ भने केहीले चाहिँ व्यक्ति फरक पर्दैमा अमेरिकी विदेश नीति परिवर्तन नहुने बताउने गरेका छन् ।
बुढेसकालमा विभिन्न आरोप
लामो समय राजनीतिमा बिताएका बाइडनमाथि विभिन्न किसिमको आरोप पनि लाग्ने गरेका छन् । यस्ता आरोपहरु अघिल्लो चुनावमा डोनाल्ड ट्रम्पमाथि पनि प्रशस्तै लागेका थिए ।
गत वर्ष ८ महिलाले आफूहरुलाई बाइडनले आपत्तिजनक तरिकाले छोएको, अंकमाल गरेको वा चुम्बन गरेको आरोप लगाएका थिए । त्यसपछि सञ्चार माध्यममा उनका विभिन्न किसिमका तस्वीर सार्वजनिक भएका थिए । जसमा उनले महिलाको कपाल सुँघ्दै गरेको पनि देखिएको थियो । यो आरोपको जवाफमा बाइडनले महिलालाई अभिवादन गर्ने क्रममा अब थप सावधान हुने बताएका थिए ।
गत मार्चमा अमेरिकी अभिनेत्री तारा रीडले बाइडनमाथि ३० वर्ष पहिला आफूलाई यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । बाइडनले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।
त्यस्तै, बेलाबेलामा उनले गलत दाबी गर्ने र विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै बाइडनको आलोचना हुने गरेको छ । यद्यपि उनलाई भाग्यले साथ दिएको छ । source onlinekhabar