काठमाडौं । आजदेखि मनसुन बाहिरिन सुरू गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिसकेको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।
तर, पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
कृषि र पर्यटन क्षेत्रमा आंशिक प्रभाव हुन सक्ने भएकोले सतर्कता अपनाउन साथै मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानको अध्यावधिक जानकारी लिन पनि मौसमविद्ले आग्रह गरेका छन् ।




