November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरी दिवस असोज ३१ गते मनाउने

550

काठमाडौं । प्रत्येक वर्ष असोज मसान्तका दिन प्रहरी दिवस मनाउने प्रचलनअनुसार नेपाल प्रहरीले असोज ३१ गते प्रहरी दिवस मनाउने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी दिवस मनाउन मानवस्रोत विभागका एआईजी राजन अधिकारीको अध्यक्षतामा समारोह समिति गठन गरेको छ । अन्य वर्षको तुलनामा यसवर्षको प्रहरी दिवस फरक किसिमले मनाइने भएको छ ।

गत वर्षहरूमा एक दिन वार्षिकोत्सव र अर्को दिन प्रहरी दिवस मनाउने गरिन्थ्यो । यसवर्ष एक दिन मात्रै कार्यक्रम आयोजना गरिने भएको छ । अघिल्ला वर्षजस्तो भोज, नाचगानजस्ता कार्यक्रम नहुने भएको छ । सिंगो देश र स्वयं प्रहरी संगठन शोक र सन्तापमा भएका कारण अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण र प्रभातफेरिमात्र आयोजना गर्न लागिएको समारोह समिति सचिवालय स्रोतले जनाएको छ ।

Advertisement

श्रद्धाञ्जली कार्यक्रम देशभरका सम्पूर्ण प्रहरी कार्यालयमा एकसाथ आयोजना गरिने भएको छ । श्रद्धाञ्जलीका क्रममा संगठनको झण्डा आधा झुकाइने प्रचलन छ ।

नेपालमा सन् १९०५ मा कोतवाली प्रहरीको स्थापनाबाट प्रहरी सेवा शुरु भए पनि विसं २०१२ सालमा प्रहरी ऐन जारी भएपछि यसले प्रहरी संगठनको औपचारिकता पाएको हो । कोतवाली प्रहरीको सेतो फेटावाला जत्थाले तत्कालीन समयमा केही पहाडी जिल्लामा शान्ति सुरक्षाको व्यवस्था गर्दथ्यो । सेतो फेटावालपछि रातो फेटावाल, मिलिसिया पुलिस, चौकीदार, अमिनी पुलिस, राजदल जम्दार, रामदल, अप्रेन्टिस पुलिस हुँदै २०१२ सालमा नेपाल पुलिस फोर्स गठन भएको हो । यसका संस्थापक प्रमुख जनरल नरसमशेर राणा हुन् ।

उक्त संगठनलाई हालसम्म ३१ जना महानिरीक्षक (आईजी) ले नेतृत्व गरिसकेका छन् । एक आईजीले दुई कार्यकाल जिम्मेवारी सम्हाले । अहिले ३२ औं आईजीका रुपामा चन्दकुबेर खापुङ कार्यरत छन् ।