काठमाडौं । नागरिक उन्मुक्ति र जनमत पार्टीबाट बाहिरिएकाहरू छुट्टाछुट्टै दल खोल्ने गृहकार्यमा जुटेका छन् ।
नाउपाबाट संरक्षक रेशम चौधरीसहित ठूलो पंक्ति र सिके राउत नेतृत्वको जनमत पार्टीबाट पनि वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम निस्किएका थिए।
नाउपा संरक्षक रहेका चौधरीले र जनमत त्यागेकाहरूले आउँदो फागनु २१ गते प्रतिनिधिसभा निर्वाचनमा भाग लिने गरी दल दर्ताको तयारी थालेका हुन्।
जनमत पार्टी त्यागेका शरद सिंह यादवका अनुसार उनीहरूले अहिले ‘युथ फर नेसन’ अभियान सञ्चालन गर्ने तयारी थालेका छन्।




