काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न ढिला गर्न नहुने बताएका छन् ।
बिहीबार संखुवासभास्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्न पनि सीपमूलक शिक्षा आजको आवश्यकता हो, यसमा हाम्रो ध्यानकेन्द्रित गरौं ।’
विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषणलक्षित बनाउन हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नुपर्नेमा राजष्ट्रपति पौडेलले जोड दिए ।
उनले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्ने पनि बताए । गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।