November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मौलिकता हराउँदै गएको भड्किलो तीज

प्रतिमा पोख्रेल
२०८२ भाद्र ९

1.4K

तीज भन्नासाथ भाद्रशुक्लक्षको तृतीयलाई नेपाली हिन्दु नारीहरूले मनाउने एक विशेष महान पर्वका रुपमा लिइन्छ । धार्मिक ग्रन्थहरूलाई पल्टाएर हेर्दा विभिन्न मतमतान्तर पाइएता पनि विशेष गरी हिमालयन पर्वतकी आफ्नी छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरीदिने भएपछि छोरी पार्वतीले बिष्णुसँग नभएर आफ्नो विवाह भगवान महादेव वा शिव भगवानसँगै होस् भनि हरितालिका वा तीजको कठोर निराहार ब्रत बसेर भगवान महादेवलाई प्राप्त गरेको सूवर्ण दिनलाई पर्वका रुपमा मान्दै आएको एकातिर पाइन्छ । तीज पर्वलाई सामाजिक दृष्टिकोणबाट हेर्दा विवाह गरेर पराइघर गएका छोरीचेलीहरूलाई आमाबाबा र चेलीमाइतीको सम्बन्ध, सद्भाव र अपनत्त्वलाई सदासर्बदा कायम तथा प्रगाढ र जीवन्त राख्न तीजको अवसर पारेर आमाबाबा अथवा दाजुभाइले छोरीचेली, दिदीबहिनीहरूलाई जन्मघर बोलाएर रमाइलो गर्ने, मिठोमसिनो खुवाउने चलन छ ।

त्यसैगरी अविवाहित नारीले असल र योग्य पति पाउँ भनेर र विवाहित नारीहरूले आफू र आफ्नो घरपरिवामा सुख, शान्ति होस् भनेर निराहार व्रत बसेर तीज मनाउदै आएको पाइन्छ ।

गहन रुपमा मनन र अध्ययन गर्ने हो भने पछिल्लो समय तीज पर्व बर्गीय र भट्किलो बन्दै गइरहेको देखिन्छ । महिनौं अघिदेखि एकअर्काको घरमा भेला भएर दर खाने, होटेल, पार्टी प्यालेस बुक गर्ने, रंगीचंगी महँगा बस्त्र र गहरगहना प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको नाममा विक्रिति निम्त्याउदै गएको छ । यस्ता गतिविधिले ऋणको खाडलमा पार्ने त छँदैछ, हुनेखानेहरुको भड्किलो प्रर्दशनले हुँदा खानेहरुमा मनोबैज्ञानिक असर पर्छ । सामाजिक संस्कारसंस्कृति, मूल्यमान्यता भन्दा पनि विकृति, बिसङ्गति, विलासीता, घमण्ड, देखासेखीलाई बढावा दिन्छ । अहिले ट्रेन्डिङमा आउने उत्ताउलो गीत, अङ्गप्रत्यङ्गका उच्छृङ्खल प्रस्तुति, नाचहरूले सनातन चलिआएको आफ्नो मौलिकतालाई जस्ताको तस्तै पुस्तान्तरण गर्न सक्तैन । मौलिक पर्वहरू लोप हुँदै गइरहेका छन् । समाज, समुदाय, परिवारबीच वर्गीय विभेदको खाडल बढ्दै गइरहेको छ । अर्कातिर बोझिलो र महँगो बन्दै गएको तीजलगायत अन्य पर्वले अर्थतन्त्रमा ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने अवस्था सिर्जना भइसकेको पाइन्छ ।

Advertisement

यसले गर्दा सामान्य बर्गका महिलाबीच र उच्च बर्गका महिलाबीच दरार देखा पर्नुका साथै महिला शसक्तिकरणका उन्नयन उर्जाशील भावनाहरू महिना नपुगी तुहिएको भु्रण झैँ तुहिनुको साथै सामाजिक परिवर्तन र विकसित राष्ट्रमा रुपान्तरण गरी सुन्दर भविष्यको परिकल्पनाका सोचहरूमा असैह्य असरको सुनामी देखा पर्नुको अलवा चाडपर्वहरूको मौलिकता हराउदै गएको र भोलिका भाबी सन्ततीहरूले आफ्नो संस्कारसंस्कृति, चाडपर्व उपभोग वा मनाउन नपाउने हुन् कि भन्ने आशंका बढिरहेको पाइन्छ ।

बिगत परिमार्जित र परिस्कृत हुँदै बर्तमानले नविनतमको ठुलै छलाङ र फड्को मारे पनि यश तीज पर्वले निम्न बर्गीय महिला र एकल वा विधवा महिला प्रति लुकेको सामाजिक कूदृष्टिको माखे साङ्लो निर्मलिकरण रुपमा चुडालिएको पाइन्न । गरीबीको रेखामुनि पिल्सिएर बसेका महिला र उता माइती नभएका चेली, विविध कारणले एक्लिएका छोरीहरू र सेतो पहिरन वा बिधवा भेषमा सजिएका बिधवा नारीहरूका लागि झलमल सितारा भरिएका राता बस्त्रहरू लगाएर रमझम गरीरहेका रंगमञ्चको भिडले उनीहरूको आत्मबल कमजोर पार्दै शक्तिलाई निराशामा बदल्दै समाजबाट एक्ल्याउने कुप्रथा भित्रको कूदृष्टिका नजरमाथी अझै सेतो चस्मा सबैले लगाएको देखिन्न ।

यस्ता साँघुरो सोच बोकेका अमानवीय प्रवृत्तिका कुकार्यहरू जरैदेखि उखेलेर फाल्नु हामी सबैको दायित्व ठान्नु जरुरत देखिन्छ ।