सरूभक्तकृत चुली पढिसकें । एक आरोहीको सगरमाथा आरोहणको कथा सुनाएका छन् कथा वाचकले यो लघु उपन्यासमा । यात्राको धागोमा उनिएको हुनाले अझ म त यो कृतिलाई यात्रोपन्यास भन्न रूचाउँछु । ऊ पात्रले सगरमाथा आधार शिविरदेखि चुली चुमेर फर्किंदासम्मको साहस र सौर्य, वीरता र वलिदानको कथा छ यहाँ ।
एक दार्शनिक साहित्यकारको छवि बनाएका सरूभक्तले यो सानो कृतिमा ठूलाठूला जीवन दर्शनहरू खाँदीखाँदी भरेका छन् । पागल बस्तीमा प्रतिष्ठापित अहमवादी दर्शन पनि छ यहाँ ।
परिवारमा समाजमा बसे पनि जसरी हरेक मानिसले आआफ्ना दुःखका सगरमाथा आफैं एक्लै चढ्नु पर्छ त्यसैगरी ऊ पात्र पनि सगरमाथा एक्लै चढ्न चाहन्छ । ऊ जोखिम मोल्न चाहन्छ । भन्छ कि, हिमालमा जोखिमहरू हुन्छन्, जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो ।
अरू आरोहण टोलीहरू, भरियाहरूका दुःखसुखका कथामा जोडिँदै ऊ अघि बढ्दै जान्छ ।
एकजना गाइड भन्छन्– “मैले पाँचपल्ट समिट बिड गरिसक्यो । आङरिता, आप्पा, बाबुछिरीहरुले त मैलेभन्दा धेरैपल्ट समिट बिड गरिसके तर हामीले जतिपल्ट समिट बिड गरे पनि कुइरेको जति हाम्रो नाम हुँदैन ।”
अर्को एकजना गाइड भन्छ– “हो, हो । कुरा ठीक हो । कुइरेलाई बाटो देखाउँदै, तान्दै माथि लाग्नुपर्छ । कतिलाई त समिटबाट बोकेर झार्नुपर्छ । नाम धेरै उनीहरुको छ ।”
फेरि अर्को एकजना गाइड भन्छ– “लास्ट सिजनमा मलाई के भयो, सुन्छौ ? साउथ कोलबाट माथि हिँडिसकेको, एकजना कुइरेनीको पेट बिग्रेछ । म माथि जान सक्दैन, फ्रोस्ट बाइट पनि भए जस्तो छ । खुट्टाका औंला चिस्चिसो छ भन्यो अनि रोयो बेस्सरी, बच्चाजस्तो । त्यहाँसम्म पुगेपछि समिट बिड गर्न मन सबैलाई हुन्छ तर म कुइरेनीलाई बोकेर थर्ड क्याम्प फक्र्यो ।”
“त्यसो भए साथीलाई मज्जा आयो होला”, अरु गाइडहरुले हाँसो गर्छन् ।
“अँ, मज्जा आयो । अब अहिले पनि समिट बिड गर्न छाडी हिलारी स्टेपबाट एकजना कुइरेनीलाई बोकी झर्ने मन छ बेसक्याम्पसम्मै”, दुःखेसो पोख्ने गाइड पनि कम्ताको निस्कँदैन । ऊ जस्तालाई तस्तै दर्जाको जवाफ फर्काउँदै हाँस्छ– होह्होह्हो होह्होह्हो ।“ यस्ता गहिरा पनि र रमाइला प्रसंग पनि छन् यो यात्रोपन्यासमा ।
भरियाहरूका दुःखका सुस्केरामा ऊ हौसला दिन पनि पछि पर्दैन,भन्छ– हो जीवनमा दुःख छ तर जीवन दुःख होइन ।
ऊ उद्देश्यमा अघि बढिरहन्छ, भन्छ–उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।
आधार शिविरबाट खुम्बु आइस फल, क्रेम्पान पोइन्टका कठिनाईहरू पार गर्दै, दुर्घटनाहरूसँग लुकामारी खेल्दै एक आदर्श गतिमा ऊ अघि बढिरहन्छ ।
मौसम विग्रने संकेत र साथीहरूको सल्लाहको वेवास्ता गर्दै ऊ सपनाको चुली, सर्वोच्चताको चुली चढ्ने साहसलाई कम हुन दिंदैन । ऊ ठान्छ मान्छे एक साहस हो । साहस आफैंमा एक प्रतिभा हो ।
क्याम्प एक पुग्दा थाकेर थाकेर लखतरान हुँदै सम्झन्छ–जीवनमा कोही हिमाल चढेर थाक्छन्, कोही हिमाल नचढेर थाक्छन् । हिमाल चढ्नेका जीवनमा थकाई हुन्छ,थकाईमा जीवन हुँदैन ।
सरूभक्तका साहित्य र जीवनमा चासो राख्ने धेरैलाई थाहा भएकै कुरा हो, भक्त बहादुर श्रेष्ठ कसरी सरूभक्त भए भनेर । जसरी उनी आफ्नो काम, नाम र जीवनमा आफ्नी प्रेयसीसँगै बाँचेका छन्, उसैगरी ऊ पात्र सँगसँगै उनले प्रेयसीलाई पनि सगरमाथा चढाएका छन् ।
ऊ पात्र घरिघरि आफ्ना सपनाहरूको सम्झना गर्छ, जुन उसले ती सपनाकै निम्ति बिर्सिराखेको थियो । मान्छे आफ्नै इतिहासको स्वजद्रष्टा हो । ऊ किन नदेखोस आफ्नो जीवन सपना !
ऊ आफ्नी प्रेयसीलाई सम्झन्छ जो पूरै उसको प्रेयसी भइसकेकी छैन । प्रयास जारी छ। हिमाल चढेर उसले प्रेयसीको मन जित्नु छ । प्रेयसी नभए ऊ पत्नीको परिकल्पना गर्न सक्दैन । पत्नी नभए छोराछोरीको । ऊसँग उसको हृदयमा एउटा सानो सुखी परिवार छ । यही विश्वासमा ऊ आफ्नी प्रेयसीलाई म्वांईं खान्छ अधिकारबिना नै ।
प्रियसी र घर– जीवनका पहिला सपना हुन् किनभने मान्छे कुनै पशु होइन।कथावाचकका रूपमा यसरी सरूभक्त बोल्दै हिंडेका छन् उपन्यासका पानाहरूमा ।
हिमालले कहिल्यै गल्तीहरू माफ गर्दैन।चढाईहरूदेखि हतास हुनु एक भयानक कायरता हो । विना शरीर मन हुँदैन र विना मन शरीर रहँदैन । मान्छे मरे पनि मानवता कहिल्यै मर्दैन, महानता कहिल्यै मर्दैन।जीवनका लक्षहरू नदेखिनुको अर्थ जीवनका लक्षहरू नहुनु होइन। पृथ्वीमा पानी जम्छ तर तिर्खा जम्दैन।आफ्नो बाटो आफैं बना,आफ्नो चुली आफैं बन ।चाहिनेभन्दा धेरै खुसी मुर्ख मात्रै हुन्छन् । हिमाल चढ्नु भनेको ओर्लनु पनि हो ।
यस्ता अनेक अमर बाणीहरू बोलेका छन् चुलीका पानाहरूले ।
साँचो कुरा के हो भने जीवन एक अहंकार हो । मान्छेको अहंकार जति महान् हुन्छ, उसले चढ्ने हिमाल पनि त्यति नै महान् हुन्छ । यसरी ठाउँ ठाउँमा अहंवादी दर्शनको पनि पैरवी गर्न छुटाएका छैनन् सरूभक्तले । पागल वस्तीमा छरपष्ट रहेको यो दर्शनका छिटाहरूले पाठकलाई छुन्छन् अलिअलि । उनी भन्छन्–हिमाल त एक शाश्वत प्रतीक हो मान्छेका महान् यात्राहरूको,मान्छेका महान् अहंकारहरूको ।
सगरमाथाको चुली चढ्नु पनि जीवनका चुलीहरू चढ्नु जत्तिकै दुरूह छ, तर असम्भव छैन भन्ने सन्देश ऊ पात्रले दिएको छ यहाँ । चुली चुमेर ओर्लने क्रममा आइपरेको संकटका वेला ऊ संस्कारवश भगवान सम्झन्छ तर तुरून्त महशुस गर्छ कि यस्ता महासंकटका वेला भगवान सधैं अनुपस्थित रहन्छ । यसरी ईश्वरको अस्तित्वमा पनि संशय प्रकट गरेका छन् लेखकले ।
आफैं पर्वतारोहणको अनुभव नगरेका लेखकले यस क्षेत्रमा प्रयोग हुने अनेकौं शब्द भण्डारको जोहो गर्न र सो आरोहण मार्गका नाका नाकामा केके कहाँ–कहाँ छन् भन्ने ज्ञान राख्न अनुसन्धानमा लामै समय र श्रम खर्च गरेको देखिन्छ । पढ्ने क्रममा प्रष्ट देखिने गरी केही मुद्रण त्रुटिका बियाँहरू लाग्छन् । यी त्रुटिहरूलाई नजर अन्दाज गर्दा पुस्तक अब्बल छ ।
लेखक हाल भर्जिनिया, अमेरिका बस्दै आएका छन् ।




