November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रभु साहका पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहितका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश

575

काठमाडौं । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साह, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकोमा धन्यवाद दिए ।

Advertisement

सोही अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुने÷नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको तर राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको बताए । उनले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।’