November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारत र चीन समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात : समाजवादी मोर्चा

810

काठमाडौं । समाजवादी मोर्चाले भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीको साझा मोर्चाले शुक्रबार विज्ञप्ति जारी गरी भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिको विरोध गर्दै भारतले मिचेको भूमि फिर्ता ल्याउन आग्रह गरेका हुन् ।

मोर्चाले भनेको छ, ‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’

Advertisement

नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पु¥याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान गर्दछ ।’

विज्ञप्तिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेसपा अध्यक्ष महिन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।