काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार पनि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकको सूचनाअनुसार बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष हरेक महिना बैंक तथा वित्तीय संस्थामा औसत ६ खर्बभन्दा बढी अधिक तरलता रहँदै आएको थियो । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो रकम बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो ।
नयाँ आर्थिक वर्षको पहिलो साउन महिना सकिनलाग्दा पनि बैंक तथा वित्तीय प्रणालीमा साढे १० खर्बकै हाराहारीमा अधिक तरलता छ । यहीकारण राष्ट्र बैंकले सातामा दुई पटक (आइतबार र बुधबार) बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको हो ।




