काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ । सहकारी ठगीसम्बन्धी अभियोगमा पुर्पक्षका लागि रूपन्देही कारागारको ब्लक नम्बर ४ मा राखिएका उनलाई शनिबार नख्खु ल्याइएको हो ।
लामिछानेलाई गत २२ चैतमा काठमाडौंमा पक्राउ गरेर रुपन्देहीको कारागारमा पठाइएको लामिछानेले कारागार स्थानान्तरणको माग गर्दै गत १४ जेठमै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएको तर आफूलाई रूपन्देहीमै राखिएकामा लामिछानेले गुनासो गर्दै आएका थिए ।
रुपन्देहीको कारागारमा सामान्य मानवीयता नअपनाएको भन्दै समाचार प्रकाशन भएपछि राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापासहितको टोलीले सोमबार रूपन्देही कारागार निरीक्षण गरेका थिए । उक्त टोलीलाई पनि लामिछानेले कारागार स्थान्तरण हुन चाहेको तर सुनुवाइ नभएको गुनासो गरेका थिए ।