काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएकी छिन् । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेमलन आयोजना गर्दै उनले आफ्नो चरित्र हत्या गर्ने प्रयाससमेत गरेको आरोप लगाएकी हुन् ।
कुलुङले भनिन्, ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका मलाई ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको थिएँ । मलाई कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्र हत्या गर्न खोजेकै हो ।’
वर्तमान महासचिवको नियत यस्तैमा केन्द्रित रहेको आरोप लाउदै उनले कारबाही गर्दा आफूलाई फरक नपर्ने बताइन् । ‘बिगतमा वहाँको इतिहास हेर्ने हो भने, महेश चौलागाइँले हाम्रै केन्द्रीय सदस्य, अहिले वहाँ वैदेशिक रोजगारमा विदेश जान बाध्य हुनुभयो । वहाँलाई शारीरिक यातना, वहाँलाई हातपात गर्न खोज्नुभयो रे गाडीमा है ! यो चाहीँ तपाइँहरुले पुरानो महासचिवलाई पनि सोध्न सक्नुहुन्छ । वहाँ महिलाले मलाई शारीरिक यातना दिइयो र मलाई गाडीमा सेन्ट्रल लक गरेर मलाई जबरजस्ती गर्न खोजियो भनेर वहाँले निवेदन दिनुभएछ । र, हामी त्यहाँ देख्ने साक्षी छौं, वहाँले केन्द्रीय कार्यलयमा त्यो महिलाको खुट्टा ढोगेर मबाट गल्ती भयो, यो कुरालाई यहिँनेर सकाइदिनु भनेर हामी सबैको अगाडि माफी मागेको हामी प्रत्यक्षदर्शी नै हो । त्यो व्यक्ति अहिले महासचिव हुँदाखेरी मलाई कारबाही गर्दाखेरी त्यसमा कुनै ठुलो फरक चाहिँ परेको छैन । किनभने वहाँको नियत नै त्यही हो’, उनले भनिन् ।
कुलुङ युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिईन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको पनि उनको आरोप छ । उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोपसमेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौति दिएकी छन् ।
‘उहाँहरुले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रोपोगाण्डा अपनाउनु भएको छ । मैले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरुले प्रमाण पुर्यादिनुपर्यो,’ उनले भनिन् ।
यसअघि कुलुङले आफूले सगरमाथा चढ्दासमेत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फहराएको तर त्यस योगदानको कदर नभएको बताईन् ।




